अपरिचित सत्य

कविता

दुर्गाकिरण तिवारी

 

सानो जितमा अभिमान गर्छ

धमिरा लागेको अस्तित्वलाई छाम्दै नछामी

मिथ्यामा रमाउँदै र मुस्कुराउँदै

मृगतृष्णा बोकेर हृदयभरि

मदमत्त गजेन्द्रमाथ सवार भएर

अरूका सत्यनिष्ठाको उपहास गर्छ मान्छे ।

 

आजको हारमा रुन्छ भोलिलाई बिर्सिएर

क्रोधका लप्का निकाल्छ

मानौं जगत् निल्न सक्छ

प्रतिवादीको भिड बढाउँदै

अरूका खुसी र सुकृत्यमा जल्छ

आफैँभित्र यातनाको अनुष्ठान राख्छ

स्वाहा गर्न

ईर्ष्याका चाङलाई सल्काएर धुवाईंरहन्छ

आफ्नै अस्तित्व बलिरहन्छ आफैँ

सोच, दृष्टि, दृश्य सबै धुमिलो पार्दै

चिन्न नसक्ने गरी ढाकेर

आफ्नै आकांक्षाको क्षितिज ।

 

आफैँले आफैँलाई बुझेको भए !

चिनेको भए !

जीवनका भोगाइहरूलाई छामेको भए !

आफ्नै संघर्षहरूलाई महसुस गरेको भए !

बुझाइसँगै जीवन अनुभुत गरेको भए !

खण्डित हुने थिएनन् विचारहरू

नपुंसक हुने थिएनन् सोचहरू

वहकिने थिएनन् दिशा बदलेर

दोषारोपण गर्दै दोस्रोलाई र स्वयंलाई

धिकार्ने थिएन तिम्रो मनले

लखेट्ने थिएन हारले

गुमान हुने थिएन तिमीलाई तिम्रो जितको।

 

साँच्चै भनूँ  !

यस्तो लाग्छ मलाई

न तिमी सत्य थियौ, न म सत्य हुँ

न  तिम्रो जितमा सत्य छ

न मेरो हारमा सत्य छ

न आरम्भमा सत्य छ,

न अन्तमा सत्य छ

यत्ति बुझ्नू

सत्य मात्र सतत संघर्षमा छ !

त्यसैले

आहुति देऊ तिम्रा नपुंसक विचारहरूलाई

चिन तिमी भित्रको अपरिचित सत्यलाई ।

000

कवयित्री परिचयः दुर्गाकिरण तिवारीको जन्म कास्की पोखरा ३२ राजाको चौतारामा भएको हो । उनको पहिलो प्रकाशित रचना “टुटेफुटेको शहर” कविता बिसं २०७१सालमा नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । उनी कविता , गीत, मुक्तक , गजल , कथा , संस्मरण लगायतका विधामा कलम चलाउँछिन् । उनका “नचुमेको क्षितिज” (कविता सङ्ग्रह २०७४) तथा “नजरभरि माछापुच्छ्रे” (मुक्तक सङ्ग्रह २०७६) प्रकाशित छन् । उनी हाल काठमाडौ नयाँ बजारमा वसोवास गर्छिन् । )

1 thought on “अपरिचित सत्य

Leave a Reply