दुर्गाकिरण तिवारी
सानो जितमा अभिमान गर्छ
धमिरा लागेको अस्तित्वलाई छाम्दै नछामी
मिथ्यामा रमाउँदै र मुस्कुराउँदै
मृगतृष्णा बोकेर हृदयभरि
मदमत्त गजेन्द्रमाथ सवार भएर
अरूका सत्यनिष्ठाको उपहास गर्छ मान्छे ।
आजको हारमा रुन्छ भोलिलाई बिर्सिएर
क्रोधका लप्का निकाल्छ
मानौं जगत् निल्न सक्छ
प्रतिवादीको भिड बढाउँदै
अरूका खुसी र सुकृत्यमा जल्छ
आफैँभित्र यातनाको अनुष्ठान राख्छ
स्वाहा गर्न
ईर्ष्याका चाङलाई सल्काएर धुवाईंरहन्छ
आफ्नै अस्तित्व बलिरहन्छ आफैँ
सोच, दृष्टि, दृश्य सबै धुमिलो पार्दै
चिन्न नसक्ने गरी ढाकेर
आफ्नै आकांक्षाको क्षितिज ।
आफैँले आफैँलाई बुझेको भए !
चिनेको भए !
जीवनका भोगाइहरूलाई छामेको भए !
आफ्नै संघर्षहरूलाई महसुस गरेको भए !
बुझाइसँगै जीवन अनुभुत गरेको भए !
खण्डित हुने थिएनन् विचारहरू
नपुंसक हुने थिएनन् सोचहरू
वहकिने थिएनन् दिशा बदलेर
दोषारोपण गर्दै दोस्रोलाई र स्वयंलाई
धिकार्ने थिएन तिम्रो मनले
लखेट्ने थिएन हारले
गुमान हुने थिएन तिमीलाई तिम्रो जितको।
साँच्चै भनूँ !
यस्तो लाग्छ मलाई
न तिमी सत्य थियौ, न म सत्य हुँ
न तिम्रो जितमा सत्य छ
न मेरो हारमा सत्य छ
न आरम्भमा सत्य छ,
न अन्तमा सत्य छ
यत्ति बुझ्नू
सत्य मात्र सतत संघर्षमा छ !
त्यसैले
आहुति देऊ तिम्रा नपुंसक विचारहरूलाई
चिन तिमी भित्रको अपरिचित सत्यलाई ।
000
कवयित्री परिचयः दुर्गाकिरण तिवारीको जन्म कास्की पोखरा ३२ राजाको चौतारामा भएको हो । उनको पहिलो प्रकाशित रचना “टुटेफुटेको शहर” कविता बिसं २०७१सालमा नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो । उनी कविता , गीत, मुक्तक , गजल , कथा , संस्मरण लगायतका विधामा कलम चलाउँछिन् । उनका “नचुमेको क्षितिज” (कविता सङ्ग्रह २०७४) तथा “नजरभरि माछापुच्छ्रे” (मुक्तक सङ्ग्रह २०७६) प्रकाशित छन् । उनी हाल काठमाडौ नयाँ बजारमा वसोवास गर्छिन् । )

सुन्दर कविता दिज्जू