८ पुस २०८०, काठमाडौं
बिगत ५ वर्षदेखि १२खरी मिडियाले सर्वाधिक राशीको डिश होम १२खरी कथा लेखन प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको पाँचौं संस्करण अन्तर्गत यस वर्षको पुरस्कारको घोषणा तथा पुरस्कार वितरण तथा ‘उत्कृष्ट कथा–२०८०’ को विमोचन एकसाथ सम्पन्न भएको छ ।
प्रतियोगिताका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरुमध्येबाट यस वर्ष मनोजबाबु पन्तको ‘बुढो लाँकुरीको रुख’ कथाले प्रथम भै एक लाख, प्रमोद प्याकुरेलको ‘काँचुली’कथाले दोश्रो भै साठी हजार तथा र ‘चेपाङ, चमेरो र चिउरी’ कथाले तेस्रो भै चालीस हजार रुपैयाँ प्राप्त गरेको छ । पुरस्कृत कथाकारहरुलाई प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरस्कार प्रदान गरे ।
‘उत्कृष्ट कथा–२०८०’मा उत्कृष्ट २५ कथामध्येवाट पुरस्कृत ३ तथा बाँकी २२ र अतिथि कथाकारका कथाहरु प्रकाशन गर्ने गरिएको छ । यस वर्ष अतिथि कथाकारहरुमा भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा रहेका छन् । अतिथि कथाकारका कथा गत बर्षदेखि समावेश गर्न थालिएको हो ।
उत्कृष्ट २५ कथाकारहरूको सूचिमा पुरस्कृत ३ कथाकार सहित अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा रहेका थिए ।
उत्कृष्ट २२ कथाकारहरुलाई जनही ५ हजार र प्रमाणपत्र तथा अतिथि कथाकारहरुलाई नगद सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्याङ्कन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा.डा. सावित्री कक्षपती संयोजक रहेकी थिइन् भने आख्यानकारहरू महेशविक्रम शाह र सुविन भट्टराई सदस्य रहेका थिए ।