हरि थापाको ‘तल्लो पाटोमा तैरिँदा’को लोकार्पण

समाचार

 

२६ मङ्सिर २०८०

साहित्यकार हरि थापाद्वारा लिखित’तल्लो पाटोमा तैरिँदा’ नामक सयात्रासङ्ग्रहको एक कार्यक्रमका बीच लोकार्पण भयो ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’,समाजका संरक्षक पवन आलोक,वरिष्ठ समालोचकद्वय प्रा.डा.कृष्णप्रसाद दाहाल तथा प्रा.डा.लक्ष्मणप्रसाद गौतम,कृतिकार हरि थापा एवम् कार्यक्रम सञ्चालक देविका तिमिल्सनाले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कृतिमाथि संक्षिप्त समीक्षात्मक टिप्पणी गर्दै डा.लक्ष्मणप्रसाद गौतमले सङ्ग्रृहित सयात्रामा अमेरिकाका विभिन्न ठाउँमा गरिएको यात्राहरूको वर्णन,वृत्तान्त,अनुभव,भोगाई,अनुभूति स्मृतिबिम्ब आदिको चित्रण रहेको र पारिवारिक एवम् मित्रहरू र परिवारसँगको यात्रा भएकोले सबै सहयात्राको सेरोफेरोमा रहेको बताए।

त्यसैगरी,अर्का समालोचक डा.दाहालले नेपाली साहित्यमा नयाँ नयाँ पनहरू निस्कन थालेको सन्दर्भमा यो सयात्रासङ्ग्रह पनि एउटा छुट्टै पन लिएर देखा परेको र सयात्रामा वर्णन गरिएका विषयवस्तु तथा घटनाहरू टपक्क टिपेर जस्ताको तस्तै प्रभावकारी ढङ्गले प्रस्तुत गरिएकोले पाठकवर्ग आफैँले यात्रा गरिरहेको महसुस हुने कुरा बताए।

सभापतिको आसनबाट बोल्दै श्रीओम श्रेष्ठ’रोदन’ले साठीको दशकदेखि लोकप्रिय बन्दै आएको नियात्रा विधामा यो सयात्रा सङ्ग्रह पनि थपिएको बताउँदै स्रष्टा थापाको साहसिलो आँटले गर्दा नै यो सयात्रा निस्कन सकेको र आजको समय सक्रियता,प्रचार प्रसार,विज्ञापनको भएकोले सक्रिय भएर अगाडि बढ्न समेत शुभकामना दिएका थिए।

सयात्रा लेखक थापाले लेखकीय मन्तव्यमा आफ्नो कृति बारे प्रकाश पार्दै यात्रा गर्दा व्यक्ति एक जना मात्र नहुने र साथमा अरू साथी,साधन र स्थान समेत हुने भएकोले नियात्रा नभनेर सयात्रा भनिएको यथार्थ खुलाएका थिए।

कार्यक्रममा स्रष्टा समाजका सदस्य मधु पाठकले स्वागत मन्तव्य राखेका थिए भने संरक्षक पवन आलोकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *