स्रष्टा पदयात्रीहरुको पर्वत जिल्ला भ्रमण

समाचार

५ मंसिर २०८०, काठमाडौं

‘स्रष्टा पदयात्रा समूह’का साहित्यकारहरुको एक टोली पर्वत जिल्लाका विभिन्न स्थानको अवलोकन भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएको छ । पर्वत जिल्लाको मल्लाजस्थित ‘मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान’को आमन्त्रणमा उक्त समूह गत मंसीर १ गते त्यसतर्फ गएको थियो । १६ सदस्यीय उक्त समूहको टोलीमा शीतल गिरी, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, वसन्त रिजाल, विमल अर्याल, माधवलाल श्रेष्ठ, परशुराम परासर, शारदा पराजुली, घनश्याम प्रसाई, माधव घिमिरे ‘अटल’, दीपक भेटुवाल ‘दीपसागर’, जयराम बिडारी, रूबि सत्याल, सुमन पुडासैनी ‘मित्र’, डा. बालचन्द्र मिश्र र प्रतीक घिमिरेको सहभागिता रहेको थियो । समूहको यो भ्रमण ७६औं  शृङ्खला थियो । यस शृङ्खलाको संयोजक गङ्गाप्रसाद भेटवाल रहेका थिए ।
मल्लाजमा काठमाडौंबाट गएका स्रष्टा पदयात्री सहित स्थानीय साहित्यकारहरू केदारनाथ पौडेल, हरिकृष्ण आचार्य, गोपालप्रसाद आचार्य, अमृत बरूवाल, मनोहर पौडेल, हरिप्रसाद पौडेल (हरि लाटो), जीवन मल्ल, लीलानाथ असन्तोषी, गणनाथ पौडेल, प्रकाश अधिकारी, ध्रुवराज शर्मा र शिव सस्मितले आआफ्ना रचनाहरू सुनाएका थिए ।
कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबराज शर्मा, पुलस्त्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मित, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष मोहनबहादुर मल्ल तथा लोकवार्ताकार एवम् स्रष्टा पदयात्राका संयोजक शीतल गिरीले पनि मन्तव्य राखेका थिए ।
स्रष्टा पदयात्रीहरूले कालीगण्डकी संरक्षण अभियानका अभियन्ता तथा कवि एवम् फोटो पत्रकार आरके अदीप्त गिरीको नेतृत्वमा शताब्दी घर, अल्पेश्वर धामको पार्वती गुफालगायत कुश्माका विभिन्न दर्शनीय स्थलहरूको अवलोकन भ्रमण पनि गरेका थिए ।

Leave a Reply