१८ कार्तिक २०८०, काठमाडौ
नेपाल बालसाहित्य समाज र नेपाल प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा “नेपाली बालसाहित्यको अध्ययन परम्परा” विषयक २ दिने विचार गोष्ठी सम्पन्न भयो । बालसाहित्य विभागसमेत हेर्नुहुने नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले उद्घाटित उक्त कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपालले विचारपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा नेपाली बालसाहित्यको अध्ययन परम्पराअन्तर्गत अभिलेखिकरणको कार्य थालिएदेखि इतिहास र समालोचना लेखन, कलेज र विश्वविद्यालयमा अध्यापन र अनुसन्धान कार्य, बालसाहित्यमा विद्यावारिधिको थालनी लगायतका विषय समेटिएका छन् । डा. नेपालले बालसाहित्यको अध्ययन परम्परामाथि अझ गहनरूपमा काम गर्नुपर्ने आवश्यकता विचारपत्र लेखनका क्रममा आफूलाई लागेको बताउँदै त्यसका लागि सहकार्य गर्न सकिने धारणा राखे । उक्त पत्रमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरी र बालसाहित्यकार डा. छायादत्त न्यौपानेले टिप्पणी गर्दै विचारपत्रमा कतिपय विषयक्षेत्र समेट्नुपर्ने आवश्यकता रहेको बताए । सहभागीहरू बालसाहित्यकार प्रा.डा. ध्रुवकुमार घिमिरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका महासचिव विमला ढुंगाना निरौला, साहित्यकारहरू केशरी अम्गाई र विश्व देवकोटाले पनि जिज्ञासा राखेका थिए ।
सभापतिको आसनबाट नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले बालसाहित्य अध्ययन अनुसन्धानका लागि सामग्रीको उपलब्धता ठूलो समस्या भएको बताउँदै नेपाल प्रज्ञा-प्रतिष्ठानले पुस्तकालयमा छुट्टै व्यवस्थित बालसाहित्य पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिंदै त्यसो भएमा आफ्नो पुस्तकालयमा रहेका करिब २ हजार बालपुस्तक सो पुस्तकालयलाई दिने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सीमित स्रोत र साधन हुँदा पनि विभिन्न संस्थासँग मिलेर प्रतिष्ठान रचनात्मक काम गर्न प्रतिबद्ध छ भने । नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यले संचालन गरेको सो कार्यक्रमको सुरुमा जाजरकोट र रुकुममा गए रातिको भूकम्पका कारण दिवङ्गत भएकाहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।