प्रज्ञा पारमिता

कविता

शैलेन्द्र साकार

भीडभाडमा  हतार हतार दौडिरहेको
मानिस झैं
बाँच्ने अधिकार नजिकै घस्रिरहेको
एउटा सानो कमिला संग पनि छ
उसले फेरिरहेको सास‌मा पनि
जीवित छ ब्रह्माण्डको स्वास प्रश्वाश
सूर्य र वादलसँग प्रतिस्पर्धा गर्दै
बाँचिरहेको
एउटा गिद्ध संग
छ पूरै खगोलको हर-हिसाब
यो पूरै सौर्य जगत‌मा
प्रमाणित गरिछाडनेछ उसले आफ्नो उपस्थिति ।
आपना मालिकलाई देख्न नसक्ने भैसकेको
मर्न लागेको कुकुरले पनि
परिचित आवाजको सम्झनामा
विस्तारै साह्रै सुस्तरी सही
हल्लाइरहेछ पुच्छर
उ संगै छ सम्पूर्ण यो जीवन जगत्‌को
सम्पूर्ण संवेदनशीलता
यस्तै यस्तै विश्वाशको जग‌मा
बाँचेको छ
पशु र मानिसको यो आदिम
मित्रता गणेशको टाउको
भित्र जीवित छ
सम्पूर्ण प्रज्ञा पारमिता ।

कवि परिचयः शैलेन्द्र साकार शंकरप्रसाद श्रेष्ठको साहित्यिक नाम हो । भोजपुरमा जन्मेर भोजपुरबाटै साहित्य लेखनी प्रारम्भ गरेर राजधानीमा प्रकाशित हुने उनी काठमाडौं आएपछि पूरै साहितयमा समर्पित भए । उनी मूलत कवि हुन् । उनका शैलेन्द्र साकारका कविता, सर्पहरु गीत सुन्दैनन्, नाढ्गो तार, अमेरिका, अरु सात समुद्र लगायतका कविता सङ्ग्रहहरु प्रकाशित छन् । उनका कोलाज, कालपात्र र अरु कथा, रामायण र अरु कथाहरु सङ्ग्रह पनि प्रकाशित छन् । उनको आत्मकथात्मक कृति ‘भोजपुरे हुलाकीको सन्तान” प्रकाशित छ । स्थायी रुपले काठमाडौंबासी उनी अमेरिका भ्रमण गरिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *