४ कार्तिक २०८०, काठमाडौं
साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास “गरिमा”को लोकार्पण सम्पन्न भयो ।
प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले नेपाली साहित्यमा अहिलेको समयमा नेपालीहरूले भोगिरहेका समस्याहरु,देशमा विद्यमान विकृति र विसङ्गतिहरू एवम् सामाजिक सद्भावमा देखिएका खतराहरूको प्रस्तुति र चित्रण हुनुपर्नेमा जोड दिए ।
समालोचक प्रमोद प्रधानले उपन्यासमा घटनाहरूको संयोजन, विविध पात्रहरूको प्रस्तुति र भाषाशैली महत्त्वपूर्ण भएको बताउँदै उपन्यासको उत्तरार्द्धभन्दा पूर्वार्द्ध सशक्त भएको धारणा राखे ।
समालोचक डा. शान्तिमाया गिरीले घटनाहरूको तारतम्य मिलाउने कौशल उपन्यासकारमा प्रशस्त रहेको बताइन् ।
पुस्तकका सम्पादक विमल भौकाजीले यो उपन्यासबाट एउटा राम्रो चलचित्र बनाउन सकिने बताए ।
उपन्यासकार बिष्णा विरहीले आफूले अढाई दशक अगाडि रक्सौलको डंकन अस्पतालमा देखेको एक बालिकालाई बिर्सन नसकेपछि सोही पात्रलाई लिएर उपन्यास लेखेको जानकारी दिइन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव विमला निरौलाले विदेशी भूमिमा बसेर साहित्य सिर्जनाका लागि समय निकाल्न अत्यन्त कठिन भएको अवस्थामा उपन्यासजस्तो कृति तयार गर्नु आफैंमा उदाहरणीय कार्य भएको भन्दै शुभकामना प्रकट गरिन् ।
अध्यक्षको आसनबाट राधेश्याम लेकालीले नेपाली साहित्यको सही इतिहास लेख्ने हो भने नेपालभित्र लेखिएका साहित्यलाई मात्रै अध्ययन गरेर हुँदैन, त्यसका लागि भारत र अन्य देशहरूमा लेखिइरहेका साहित्यको अध्ययन गरेर समेट्नुपर्ने आवश्यकता औंल्याए ।
साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले स्वागत भाषण र गायिका ऋतु कँडेलले स्वागत गीत प्रस्तुत गरेको उक्त कार्यक्रम कवि राजबाबु श्रेष्ठ सागरले संचालन गरेका थिए ।