भट्टराई,घिमिरे, नेवटिया तथा लिम्बु पुरस्कृत

मुख्य समाचार

२९ असोज २०८०

लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न श्रष्टालाई आज एक विशेष कार्यक्रमका बीच स्रष्टा-सम्मान समारोहको आयोजना गर्यो।

सो समारोहमा विद्यानाथ भट्टराईलाई बाबुराम आचार्य सम्मान,कवि विष्णुविभु घिमिरे तथा व्यङ्ग् कवि लक्षण नेवटियालाई सरस्वती सम्मान प्रदान तथा नाराणय गोपाल सङ्गीत सम्मान सङ्गीतकार झुमा लिम्बुलाई प्रदान गरिएको थियो । पुरस्कृतहरुमध्ये विष्णुबिभू घिमिरेले लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर सेवा गरेका थिए र हाल पनि सो संस्थाको डिजिटल साहित्यिक पत्रिका अक्षरङ्गका प्रधान सम्पादक हुन् ।

सोही अवसरमा प्रा.डा.उषा ठाकुरद्वारा लिखित’विचार र विश्लेषण’नामक समीक्षा-सङ्ग्रह तथा लक्षण नेवटियाद्वारा लिखित’व्यङ्ग्यधाम’ नामक कविता सङ्ग्रहको विमोचन गरिएको थियो।

समारोहमा सभाध्यक्ष मेघा चौधरीले स्वागत तथा धन्यवाद मन्तव्य राखेकी थिइन् भने प्रमुख अतिथि अभिनेत्री मनिषा कोइराला,साहित्यकला मन्दिरका संरक्षक कवि वसन्त चौधरी तथा वरिष्ठ कलाकार हरिहर शर्माले आ-आफ्ना मन्तव्य राखेका थिए।

सम्मानित स्रष्टाहरूका तर्फबाट कवि लक्षण नेवटियाले आफ्नो मन्तव्य राखेका थिए । विमोचित पुस्तकका बारेमा कवि तथा गीतकार रमण घिमिरेले टिप्पणी गरेका थिए।

कार्यक्रमको शुरुवातमा विजयादशमीको शुभकामना आदानप्रदान गर्दै वरिष्ठ सङ्गीतकार डा.ध्रुवेशचन्द्र रेग्मी र उनको टोलीले साङ्गतिक प्रस्तुति पेश गरेको थियो ।

कार्यक्रमको सञ्चालन कवि राजेन्द्र शलभले गरेका थिए।

(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *