१९ असोज २०८०, काठमाडौं
भैरव पुरस्कार गुठीद्वारा भैरव स्मृति भवनको सभाकक्ष जोरपाटीमा आयोजित समारोहमा भैरव वाङ्गमय पुरस्कार २०८० बाट प्रा.डा.अभि सुवेदी,भैरव पुरस्कार २०८० बाट मुन पौडेल तथा भैरव प्रतिभा पुरस्कार २०८० बाट बद्रीप्रसाद दाहाल भष्मासुरलाई सम्मान गरियो ।
गुठीका अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा “भैरव अर्यालका समीक्षा” तथा मुकुन्द आचार्यद्वारा लिखित “अथो हाकिमोवाच” नामक हास्यव्यङ्ग्य पु्स्तकको विमोचन गरिएको थियो।
सो अवसरमा पुरस्कृत प्रतिभाहरु प्रा.डा.अभि सुवेदीको बारेमा डा.शिव रिजालले, मुन पौडेलका बारेमा मुकुन्द आचार्य र मुकुन्द आचार्यका बारेमा रमेशप्रसाद खनालले चिनारी प्रस्तुत गरेका थिए । बद्रीप्रसाद दाहाल भष्मासुरको बारेमा डा.बलदेव अधिकारीले प्रकाश पारेका थिए। “अथो हाकिमोवाच” पु्स्तकको संक्षिप्त समीक्षात्मक टिप्पणी रमेशप्रसाद खनालले गरेका थिए ।
गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसाल तथा गुठी अध्यक्ष रोचक घिमिरेले हास्यव्यङ्ग्यका शिखर पुरुष भैरव अर्यालका बारेमा चर्चा गर्दै गुठीको विगत,वर्तमान र भावी योजनाका बारेमा प्रकाश पारेका थिए ।
गुठीका सदस्य सचिव वशन्त रिजालले स्वागत मन्तव्य र अर्का गुठी सदस्य वेदमणि घिमिरेले भैरव अर्यालका बारेमा बोलेका थिए।
कार्यक्रमको सञ्चालन गुठी सदस्य निर्मल अर्यालले गरेका थिए।
भैरव वाङ्गमय पुरस्कारको राशी रू १,०१,१११/-,भैरव पुरस्कारको राशी रू ११११११/- रहेको छ भने भैरव प्रतिभा पुरस्कारको राशी रू ५११११/- को रहेको छ ।
(सुभाषचन्द्र पौडेल, काठमाडौंको सहयोगमा)