मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको घोषणा

मुख्य समाचार

१४ असोज २०८०, काठमाडौं

नेपाली साहित्यको सबैभन्दा चासोको मदन पुरस्कार तथा जगदम्बाश्री पुरस्कारको घोषणा भएको छ ।
विसं २०७९ को मदन पुरस्कार “ऐंठन” उपन्यासका लागि विवेक ओझालाई प्रदान गरिने घोषणा भएको छ । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षित हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, “२०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट श्री विवेक ओझाद्वारा लिखित ऐंठन पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐंठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय ” गरेको हो । गुठीले जनाए अनुसार पुरस्कारका लागि ३१३ कृति प्राप्त भएको थियो र गुठीले यसअघि विवेक ओझाको “ऐंठन” सहित सुबिन भट्टराईको “इजोरिया”, द्वारिकानाथ ढुङ्गेलको “चक्रव्यूहमा नेपालको जलस्रोत”, प्रगति राई “थाङ्ग्रा”, सञ्जय विष्टको “माटाको घर” लगायत ५ कृतिहरुको मदन पुरस्कार श्रेष्ठ सूची निकालेको थियो ।

त्यसै गरी विसं २०७९ को जगदम्बाश्री पुरस्कार “अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीहरू माझ पुऱ्याउन महत्त्वपूर्ण योगदान ” दिएको भन्दै टेकवीर मुखियाज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ ।

स्मरणीय छ मदन पुरस्कारको थालनी विसं २०१३ सालमा भएको थियो भने विसं २०४५ सालमा जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको हो ।

गुठीले बिज्प्तिमा भनेको छ, “नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति / संस्थालाई जगदम्बा-श्री अर्पण गरिन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *