२९ भाद्र २०८०, काठमाडौं
गत महिनादेखि शुरु गरिएको मासिक कथा वाचन गोष्ठी दोस्रो -२ सम्पन्न भएको छ ।
कार्यक्रमको शुरु हालै दिवङ्गत कथाकार राजेन्द्र पराजुलीको असामयिक निधनमा आत्माको चिर शान्तिको कामनासहित एक मिनट मौन धारण गरिएको थियो ।
कार्यक्रममा दिवङ्गत व्यक्तिको कथा वाचन अन्तर्गत कथाकार देवकुमारी थापाको कथा “प्रलय प्रतीक्षा” किशोर पहाडीले वाचन गरेका थिए ।
दशको दशकको कथाकार गोबिन्द लोहनीको “कमरेड जाने होइन ?” सङ्ग्रहबाट “चलि आएको चलन” उनकै सुपुत्र कपिल लोहनीले वाचन गरेका थिए ।
बीसको दशकका कथाकार विश्वम्भर चंचलको “विभ्रान्ती” शीर्षकको कथा नियात्राकार चन्द्र प्रसाद भट्टराईले कथा वाचन गरेका थिए ।
बीसकै दशकसकै “नव संगीत” कथा कथाकार पवन आलोकले वाचन गरेका थिए ।
तीसको दशकबाट दिव्य गिरीले – “रहर”, चालीसको दशकबाट मधुवन पौडेलले “सहनाज”,पचासको दशकबाट मन्दिरा मधुश्रीले “मासुको तिर्सना”, साठीको दशकबाट प्रदीप बगालेले “गन्तव्य” र सत्तरीको दशकबाट प्रोल्लास सिन्धुलियले “बागबजार बोल्दैन” वाचन गरेका थिए ।
कार्यक्रममा पुष्कर लोहनीले साहित्यिक गतिबिधिको बारेमा बोलेका थिए भने कार्यक्रम सञ्चालन मन्दिरा मधुश्रीले गरेकी थिइन् ।
स्मरणीय छ पुष्कर लोहनी, चन्द्रप्रसाद भट्टराई र मन्दिरा मधुश्रीको संयोजनमा गत महिनादेखि मासिक रुपमा कथा वाचन कार्यक्रम आरम्भ भएको छ ।
