रङ्गमा  रङ्गिऊँ किन??

कविता

कलानिधि दाहाल

 

हल्का संसारमा छैनन् रङ्ग क्यै रङ्गिऊँ किन

गम्भीरका महायात्रा ढङ्गमा ढङ्गिऊँ छु म!

बाछिटा सब बिर्सेर झरी झर्झरमा मजा

मजा खाली हुने बाँच्न मजा छैनन् कुनै ध्वजा!!

 

विनाभारी डुबेको छु पोखरी छन् हराभरा

तरङ्गका नयाँ रङ्ग मुछिएका सबै गरा!

लहरा भावनाका छन् जिन्दगी डुबूँ बुल्बुल

गङ्गाका छालमा खेल्छन् जसरी चरी बुल्बुल!!

 

त्यता हुन्नन् कतै झोर झञ्झाका झार उम्रने

गुडुल्की परी बाटामा तगारा बनी घुम्रने!

बुध्दबेला उता हुन्थे गीत गन्गन यी यिनै

ऐले छन् मुखमा जम्मै स्रष्टा गन्गनका यिनै!!

 

झुम्राका पिरुकामाथि कति बस्छन् र मानिस

फूलगुच्छासँगै झुम्छन् बासना ढङ्ग मानिस!

देखिने खेल हारेर सधैँ जित्दछ मानिस

देखिने जीतमा नित्य हारेको हुन्छ मानिस!!

 

मिठास फलबोक्रामा हुन्न भित्र मिठास छ

चिदानन्द त्यहीँ चुम्छ बाहिरी अट्टहाँस छ!

प्रतिस्पर्धा हुँदै हुन्न जितेर हारिनेसँग

प्रतिस्पर्धा मिठो हुन्छ हारेर खारिनेसँग!!

 

शीतमा म सजेको छु तुषारो छुन्छ यो शिर

बाहिरी दृश्य यो हल्का हवाझैँ उड्छ फिर्फिर!

गाढा रङ्ग जहाँ शीत शीतमै शीत ढल्मल

अलङ्कार दुबो आफैँ फर्फराउँछ पल्पल!!

 

ढर्रा ढाढसका धम्की धाकमा हुन्न मानिस

धन या पदका दास खासमा छुन्न मानिस!

म मेरा पाउमा हिँड्दा धुलो टेकिनुको मजा

उता हुन्छन् सबै छुद्र गाडीमा हल्लिने ध्वजा!!

 

आस्था आफ्नै लिई नौलो यात्रामा हेलिएपछि

भुँमरी आँसुमा बाँच्ने समाज छेलिएपछि!

ईश्वरका सबै स्वप्न लाम लागी छुटेपछि

कल्पनाकाशको नौका आफैँभित्र जुटेपछि!!

 

सीमा यी देशका भेष आफैँबाट हटेपछि

निर्णयको नयाँ खम्बा उठ्न आफैँ खटेपछि!

अन्धविश्वासका ताना इन्द्रियमा घटेपछि

मान्छे देव धरा स्वर्ग सरोवर पटेपछि!!

०००

कवि परिचयः कलानिधि दाहाल सगरमाथा अञ्चल,ओखलढुङ्गा जिल्ला,बिगुटार नगरपालिकामा जन्मेका हुन् । उनका प्रकाशित  कृतिहरुमा , गौरवमय नेपाल(कविता सङ्ग्रह,२०३८), केही कवि:केही कविता(कविता सङ्ग्रह,२०४३), सीमावासु (खण्डकाव्य,२०६५), विभाजित विश्व (महाकाव्य,२०६६), अरस्तुदेखि बङ्करसम्म (उपन्यास,२०६८), कलानिधिका चुनिएका कविता (कविता सङ्ग्रह,२० ७३), शिखरयात्रा (निबन्ध सङ्ग्रह,२०७६), आफैँ भए सुन्दर(पद्य कविता सङ्ग्रह, २०७८), अस्तित्व (बाछिटा सङ्ग्रह-२०७९)  रहेका छन् । अहिले उनी न्यूजिल्याण्डमा छन् ।

 

 

 

Leave a Reply