२६ भदौ २०८०
साहित्यकार राजेन्द्र पराजुलीको आज २६ भदौ २०८० विहान उपचारको क्रममा बीएण्डबी अस्पतालमा दुखद निधन भएको छ । उनलाई सोमबार राती अस्पताल पुर्याईएको थियो । पारिवारिक श्रोतका अनुसार उनलाई निमोनिया भएको र निमोनिया शरीरभरि फैलिसकेकोले बचाउन नसकिएको डाक्टरले बताएका थिए ।
यस अघि उनलाई स्थानिय नर्सिङ होममा केही घण्टा उपचारपछि घर ल्याईएको थियो । तर राती अचानक च्याप्दै लगेपछि बीएण्डबी पुर्याइएको थियो ।
विसं २०२१ साल बैशाख १३ गते कोटेश्वरमा जन्मेका उनी विसं २०३९ सालमा “श्रध्दाञ्जली” शिर्षक कथा नयाँ सन्देश साप्ताहिकमा प्रकाशनसँगै साहित्यमा पदार्पण गरेका थिए ।
उनले शुरुमा कविता विधामा कलम चलाए पनि पछि उनी कथामा बढी समर्पित भए । उनको कविता सङ्ग्रह “भ्रष्ट संवेदना” तथा कथा सङ्ग्रहहरु विकल्प यात्रा, जाडोमा भोक, सपनामा मार्क्स, शुक्रराज शास्त्रीको चश्मा, अघोरी तथा यसै वर्ष प्रकाशित जन्तर मन्तर प्रकाशित छन् ।
उनको एक उपन्यास “अनायिका” तथा एक आत्मसंस्मरणात्मक पुस्तक “कोटेश्वरको केटो” प्रकाशित छन् ।
शुरुमा विद्यालय सञ्चालनमा संलग्न उनी, त्यो व्यवसाय छोडेर पत्रकारितामा संलग्न भएका थिए । उनले प्रायः धेरै मूलधारका मिडियामा काम गरेका थिए । साथै संवाहक, वन्दना, तन्नेरी साहित्यिक पत्रिकाहरु सम्पादन गरेका थिए । उनले कविता सोच, प्रतिनिधि नेपाली कथा र आत्म टिप्पणी, नेपाली राजनैतिक कथाहरु जस्ता कृतिहरु सम्पादन गरेका थिए ।
विसं २०७६ सालदेखि वाह्रखरी कथा प्रतियोगिताका उत्कृष्ट २५ कथाको बार्षिक प्रकाशन शृङ्खलाको पनि नियमित सम्पादन गरिरहेका थिए ।
विसं २०६२ साल जेठ २५ गते कवि विनय रावलको ज्यान जाने गरी खर्साङमा भएको ट्याक्सी दुर्घटनामा उनी पनि गम्भिर घाइते भएका थिए र लामो समयको उपचारपछि निको भएका थिए ।
नेपाली साहित्यले एक निर्भिक, जुझारु र सकृय सर्जकलाई गुमाएको छ ।
विश्वपरिक्रमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।