पुष्कर रिजाल ‘पुष्प’
सानोमा
बा भन्नुहुन्थ्यो-
जाँगे फाटे नयाँ किन्नू
कि त सिलाएर हिन्नू …!
मलाई लाज लाग्थ्यो ।
बा अरू थप्नुहुन्थ्यो
कुकुर निस्के टोक्छ मान्छे घाइते हुन्छ, मर्दैन
ढुकुर निस्के…लाज हुन्छ, मान्छे सकिन्छ!
म कुरा नबुझी ङिच्च हाँस्थेँ
म ठुलो भएँ
ढुकुरको कुरा सम्झी लाज मान्ने भएँ ।
बा बुढो हुनुभो
बाको दौरा फाट्यो
कोट फाट्यो, रफ्फु गरियो या त फेरियो
आमाको मजेत्रो फाट्यो
चोली फाट्यो….रफ्फु गरियो या त फेरियो
मेरै बुसर्ट फाट्यो
पाइन्ट फाट्यो
रफ्फु गरियो या त फेरियो…!
वस्त्रले लाज ढाक्ने रहेछ
वस्त्र फाटे….
रफ्फुले पनि लाज ढाक्ने रहेछ ।
आफ्नै अस्तित्व सकिने गरी
रफ्फु फाट्यो भने….!
आँखा छोपेर लाज छोपिदैन
बरू टाइ-सुट लाइँदैन
दौरा सुरुवालमा रफ्फु थपिन्छ ।
कठै …आज!
रफ्फु पनि कुनै फटाहाले फटालेछ !
अब त यो देश …लाजले
डल्लो पर्न आँट्यो
कोही त सियो धागो खोज
कोही त तयारी गर, रफ्फु भर्न !
कवि परिचयः पुष्कर रिजाल ‘पुष्प’हंसपुर प्युठानमा जन्मेका हुन् । उनी ‘अर्थ ‘ शीर्षक कविता २०५७ असलशासन पत्रिकामा प्रकाशनसँगै साहित्यमा औपचारिक पाइला चालेका हुन् । उनको कलम कविता, मुक्तक, गजल, कथा, बालसाहित्य, समालोचना,अनुसन्धानात्मक लेखहरूमा विस्तारित छ । उनका गजल पुष्प (ग़ज़ल संग्रह २०६५) , प्रायोगिक भाषाविज्ञान (२०६८), मनका भावहरू(मुक्तक संग्रह-२०६९), संकलित समालोचना (२०७०), आधुनिक नेपाली कथा (२०७७) कृतिहरु प्रकाशित छन् । हाल उनी कोहलपुरमा बसोवास गर्छन् ।