२१ भदौ २०८०, काठमाडौं
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रज्ञा प्रतिष्ठानले यसै वर्षदेखि कविता महोत्सवमा भाग लिने कविहरुमध्ये १० कवितालाई छनौट गरी पुरस्कृत गर्ने नयाँ परम्परा थालनी गरे अुनसार छनौटमा परेका १० कविहरुलाई राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।
पुरस्कृत हुने कविहरुमा खिमानन्द जोशी, पूर्णानन्द ओझा, टङ्क बहादुर झाँक्री मगर (समीप वैरागी), उमेश पुन, कृपा करुणा पोखरेल, जीवन आरोही, तीर्थराज विश्वकर्मा, नविन अभिलाषी, प्रकाश दिप्साली राई, राधिका कल्पित रहेका छन् ।
बहुभाषी भनिएको कविता महोत्सवमा डोटेली भाषाका २ कवि , खाम मगर भाषाका १ कवि तथा नेपाली भाषाका ७ कविहरु पुरस्कृत हुनका लागि छनौट भएका थिए ।
पुरस्कार वितरण समारोहमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराती सहभागी भएका थिए ।
विसं २०१३ सालमा स्थापित प्रज्ञा प्रतिष्ठानले विसं २०२२ सालदेखि नियमित रुपमा असार ९ गते कविता महोत्सव गर्ने परम्पराको थालनी भएको थियो । कविता महोत्सवको थालनीको बर्षबाटै कविताको शिर्षक राजाबाट प्रदान गरिने र सोही शिर्षकमा लिखित कविता मध्येवाट प्रथम, दोश्रा , तेश्रालाई पुरस्कार दिइने प्रचलन रहेको थियो । पुरस्कृत सबैलाई नगद तथा पदक र प्रमाणपत्र राजाको हातबाटै प्रदान गरिने गरिन्थ्यो । राजा महेन्द्रको देहावसानपछि राजा वीरेन्द्रले यस परम्परालाई निरन्तरता दिएका थिए ।
हरेक बर्ष बैशाख १ गते शिर्षक घोषणा हुने, असार १३ गते कविता महोत्सव सम्पन्न भै सोही साँझ नतिजा सार्वजनिक हुने । त्यसपछिको अनुकूल समयमा पुरस्कार वितरण प्रज्ञा भवनमा हुने गर्थ्यो । कविता महोत्सवको पुरस्कार वितरण समारोहपछि त्यसवर्षको नाटक महोत्सवमा सर्वोत्कृष्ट घोषित भएको नाटक प्रदर्शन गरिन्थ्यो ।
विसं २०४६ सालको परिवर्तनपछि राजाबाट शिर्षक प्रदान गर्ने क्रम रोकियो र यसैवर्षदेखि वर्तमान प्राज्ञ परिषदले कविता महोत्सवमा प्रथम, दोश्रा , तेश्रा हुने परम्पराको अन्त्य गर्दै १० जना कविहरुलाई समान हैसियतले पुरस्कृत गर्ने प्रथाको थालनी गरेको छ ।