सुनिल सङ्गम, वेलायत
१) जूनको कुरा गर्न मन लाग्छ
धूनको कुरा गर्न मन लाग्छ
चालिसेले छोएर पो होकी
उनको कुरा गर्न मन लाग्छ
२) सेतोलाई कालो भनाउनेहरु पनि छन्
कालोलाई सेतो बनाउनेहरु पनि छन्
दुनियाको खै के कुरा गर्नु र अचेल
कुहिएर ठस्स गनाउनेहरु पनि छन्
३) छाँट्नुसम्म फुस्रे गफ छाँट्छन् कोहीकोही
टुप्पो बसी फेंदतिर काट्छन् कोहीकोही
काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर
बिनासित्ति दिमाग पो चाट्छन् कोहीकोही
४) माया गरेजस्तो गरी आसुँसंगै झारी गईन्
वारी मलाई रुवाएर हाँसी-हाँसी पारी गईन्
कलाकार भन्दा राम्रो अभिनय गरी-गरी
तिम्रो लागि मर्छु भन्दै मलाई मारी गईन्
५) समयले बेलाबखत हान्दो रै’छ तीर
जिन्दगीमा कसलाई पो नहोला र पीर
सुख दु:ख आउँछ जान्छ चलिरहन्छ
तर हिम्मत हार्नु हुन्न झुकाएर शीर
मुक्तककार परिचयः सुनिल सङ्गम सुनकोशी गाउँ पालिका -५ कटहरे, सिन्धुलीमा जन्मेका हुन् र हाल बेलायतमा बसोवास गर्छन् । साहित्य ज्योतिमा बिसं २०४९ मा गीत प्रकाशनसँगै साहित्य यात्रामा अघि बढेका उनी गीत, गजल, कविता र कथा विधामा कलम चलाउँछन् । उनको “थोपाथोपा” गीत सङ्ग्रह २०६० सालमा प्रकाशित भएको थियो
