सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर

गद्य विविध व्यक्ति बृत्त

त्रिभुवनचन्द्र वाग्ले

 

सर्जक किशोर पहाडीको सार्वजनिक अभिनन्दन तथा ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रह विमोचन कार्यक्रमका लागि २०८० साउन २० गते शनिबार कुमारी क्लब बल्खु पुग्दा लागेको थियो आजको शनिबार लन्जुफन्जु मै बित्ने भो । निमन्त्रणाअनुसार त्रिभुवन आदर्श मावि फर्पिङको पहेंलो बस खोज्दै बल्खु चोकबाट कुमारी क्लब जाँदा बाटोमा एकजना पनि साहित्यकार नदेखिएपछि दोमन भयो, कतै बस गइसकेको त होइन ? तर म त्यहाँ निर्धारित समयभन्दा करिब छसात मिनेटअघि नै पुगेकाले बस गइसकेको होइन होला भनेर निश्चिन्त पनि थिएँ । कार्यक्रमका प्रमुख व्यक्तित्व किशोर पहाडी तथा कार्यक्रममा उपस्थित हुनसक्ने सम्भावित केही व्यक्तिलाई फोन गरेपछि बस भेटियो, ढुक्क भइयो फर्पिङ् पुगिने भयो ।

कीर्तिपुर, सुक्खा बन्दरगाह र खहरे हुँदै फर्पिङ्तिर अगाडि बढ्दा आनन्दित थियो मन, कारण कीर्तिपुरद्वार कटिसकेपछि केही सफा वातावरण अनुभव गर्न सकिन्थ्यो । हरियो जङ्गल सुरु हुन्थ्यो । फर्पिङ पुग्नासाथ जानकारी आयो, ‘अगाडि बढौं, भित्री शहरतिर सर्जक किशोर पहाडीको नागरिक अभिनन्दनको पहिलो चरण अन्तर्गत बाजागाजासहित उहाँलाई नगर परिक्रमा गराइँदै छ ।’ उमेरको यो गौंडासम्म आइपुग्दा सत्ताद्वारा शक्ति प्रदर्शनका लागि, प्रयोजजित, पौंचो तिर्न र खुद सम्मानका लागि गरिएका विविध नागरिक अभिनन्दनको अनुभव गरिएको छ । सर्जक किशोर पहाडीलाई गरिएको नागरिक अभिनन्दन खुद सम्मानमा गरिएको थियो भन्ने प्रमाण नगरपरिक्रममा सहभागीहरूको वय चित्रले स्पष्ट गथ्र्यो । ज्येष्ठ, कनिष्ट, महिला, पुरुष, बिरामी, अशक्त, किशोरकिशोरी, कृषक, व्यापारी को थिएनन् त्यो परिक्रममा ?  त्यहाँ राज्यद्वारा खटाइएका गुल्म थिएनन् र थिएनन् व्याण्डवादक । थिए त नागरिकका कर्तलध्वनि र सहयात्रा, सहहर्ष तथा शुभकामनाका शब्द सन्देश । रमझम थियो झम्केश्वरी डवली । दक्षिणकाली नगरपालिका, सो नगरपालिकाको वडा नं. ६ र स्थानीय सुसेली साहित्यिक प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रम समग्रमा आमनगरवासीले गरेको संयुक्त अनुष्ठानजस्तो लाग्थ्यो ।

परिचित हाँसिलो अनुहार, शान्त शैलीमा परिक्रमका सहभागीहरूको भीडमा देखिन्छ, जो अभिनन्दन ग्रहण तथा ज्ञापन गर्न व्यस्त छ, जसको अनुहारले खोजिरहेको देखिन्छ दामलीहरू, अग्रज तथा अनुजहरू । उसको अनुहारका कुनै हरफमा पढ्न सकिन्थ्यो–‘सायद मैले समयभन्दा पहिले नै धेरै कुछ पाएको त होइन ?’ भन्ने विनयशील भाव । कताकाता सङ्कोच, कताकता विभोर, कताकता, आश्चर्यका शुष्क हावाले छोएजस्तो अनुहार । त्यो अनुहार थियो– भाग्यमानी सर्जक किशोर पहाडी उर्फ किशोरमान श्रेष्ठको । भाग्यमानी किशोर कि, सिर्जनशील किशोर को अभिनन्दित भएको हो भन्ने विवाद नगरौं । अभिनन्दन सिर्जनशील किशोर पहाडीकै भएको हो तर नेपालमै पहिलोपटक स्थानीय सरकारले आफ्नो माटोमा जन्मेका सर्जकलाई यो स्तरको जुन सम्मान गरेको थियो त्यो प्राप्त गर्ने पहिलो नेपाली ‘भाग्यमानी’ किशोर पहाडीको अभिनन्दन गरिएको हो भन्नु पनि सान्दर्भिक नै हुनेछ । उपस्थित सबै सर्जकले हृदयत: भनेका थिए–दक्षिणकाली नगरले मुलुकभरका लागि उदाहरणीय र प्रशंसनीय कार्य गरेको छ, एक सर्जकलाई सम्मान गरेर ।

नगरपालिकासहित विभिन्न २० सङ्घसंस्थाको सहभागितामा गरिएको सर्जक पहाडीको सार्वजनिक अभिनन्दनले सर्जकको महत्वालाई शिखरमा पुर्‍याएको अनुभव हुन्थ्यो । थैलीसहित केही सर्जकलाई पुरस्कार दिइएको भए परम्पराको निर्वाह हुने थियो तर दक्षिणकाली नगरले परम्पराको निरन्तरता मात्र होइन नयाँ अभ्यास थालनी गरेको छ । थैली होइन थालनी । दक्षिणकाली नगरले बुझेको हुनुपर्छ, कुनै पनि सर्जकलाई उसको सक्रिय जीवनमै गरिएको यस्ता अभिन्दनीय सम्मानले उदाउँदो सर्जक पुस्तालाई प्रेरणा दिनेछ । वाङ्मय प्रेरणाको फराकिलो परिवेशमा झाङ्गिन्छ न कि पुरस्कारको साँगुरो गमलामा । नगर प्रमुख मोहन बस्नेतले निशङ्कोच भनिदिनुभयो– हामीले साहित्य र यसको सामथ्र्यलाई कम तौलको पदार्थ ठानेका रहेछौं, केही ढिला भयो तर सम्मानको सुखद् परम्परा बसेको छ । परम्परा थप झाङ्गिने छ ।

नगरप्रमुख मोहन बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै भने;

“दक्षिणकाली नगरपालिका सर्जक र प्रतिभाशाली व्यक्तित्वलाई सम्मान गरेर साहित्य, आर्थिक–सामाजिक, तथा सांस्कृतिक समृद्धिको यात्रा गर्न चाहन्छ । हामी स्पष्ट छौं– विकास भनेको भौतिक संरचनाको विस्तार मात्र होइन मानव मूल्य, मान्यतामा समयानुकूल परिवर्तन गर्न सक्नु पनि विकास हो । यस्तो काम  साहित्यले गर्छ । यसैका लागि सर्जक किशोर पहाडीको सम्मान गरिएको हो । यसै क्षेत्रमा जन्मनुभएका नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याललाई पनि केही समयअघि सम्मान गरिएको थियो । दक्षिणकाली, गोपालेश्वर, शेषनारायण, पद्‌मशम्मभवले तपस्या गरेको असुरा तथा ह्याङलासी गुम्बा काठमाडौं जिल्लाको सबैभन्दा अग्लो वाणासुर डाँडा (२२७८मि), पञ्जल गणेशलगायत कटुवाल दह, बोसनडाँडा, हात्तीवन डाँडा, डाँडिखेल, छैमलेको जातीपोखरी, सेतीदेवी, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, पौराणिक फर्पिङको मौलिक नेवारी बस्ती, झम्केश्वरी मन्दिरहरूले जस्तै साहित्यले पनि यो नगरपालिकलाई प्रसिद्ध बनाउन सक्छ । साहित्यको सम्मानार्थ पहिलो पात्रका रूपमा किशोर पहाडीलाई सम्मान गरिएको हो । हामी अब साहित्य, कला, सङ्गीतलगायत वाङ्मयका विविध विधालाई क्रमश: सम्मान गर्दैजाने छौं । भौतिक विकाससँगै ऐतिहासिक सांस्कृतिक सम्पदा तथा  वाङ्मय/साहित्यको विकासलाई एकीकृत गरेर लैजान्छौं । विकासलाई भौतिक प्रगतिमात्र नभएर मानवीय क्षमताको उन्नयनसँग साक्षत गर्नुपर्ने भएकाले सर्जकको सम्मान गरिएको हो । साहित्यको विकासका लागि सुसेली साहित्य प्रतिष्ठानको स्थापना (विंस.२०६६) र सञ्चालनमा नगरमार्फत प्रत्यक्ष सहयोग गरिएको छ । मानवीय क्षमताको उन्नयन वाङ्मयले गर्छ, साहित्यले गर्छ, हामी त्यसका सारथी हुनसक्छौं । प्रतिष्ठानको स्थापनापछि स्थानीय युवा पुस्तामा कविता, गजल लेखन तथा वाचनमा आकर्षण बढेको पाइएको छ । समाजमा साहित्यको वजन बुझ्न केही ढिला भएछ तर अब नगरपालिकाले समग्र वाङ्मय, कला, साहित्यको विकासमा यथेष्ट सहयोग गर्नेछ ।“ 

सर्जक किशोर आफ्नो व्यक्तिगत सम्मानभन्दा पनि यस क्षेत्रमा साहित्यको विकासका लागि पालिकामार्फत भएका कार्यप्रति आभारी हुनुहुन्छ । भन्नुहुन्छ– ‘मैले जे गर्न सकेँ त्योभन्दा धेरै सम्मान पाएको छु । रमणीय दक्षिणकाली नगरको पहिचान, कथा तथा दृश्यलाई साहित्यमा चित्रित गर्नेछु, अनुबन्धित गर्नेछु, ती कार्य गर्न बाँकी नै छ ।’ सर्जक किशोर पहाडीको सन्दर्भमा डा. शेखरकुमार श्रेष्ठ ‘मोतीराम भट्ट’ मानिनु हुन्छ । पहाडी भन्नुहुन्छ– म भानुभक्त हुन नसकुला तर फर्पिङ क्षेत्रको साहित्यिक विकासमा डा. शेखर मोतीराम हुनुहुन्छ । ‘सिर्जनशील किशोर पहाडी’ सङ्ग्रहको संयोजन, सम्पादन, प्रकाशन तथा विमोचन गराएर डा. श्रेष्ठले किशोरलाई थप प्रज्ज्वल्ल बनाउने सुकीर्ति गर्नुभएको छ । यति मात्र होइन, अन्य पुस्तक पत्रिकाको लेखन सम्पादन, जननेत्र पुस्तकालय, सुसेली साहित्यिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनमा सक्रियता, स्थानीय साहित्यिक–सांस्कृतिक गतिविधिमा डा. श्रेष्ठले आफूलाई समर्तित गर्नुभएको छ । किशोर पहाडीको सम्मानमा आयोजित औपचारिक कार्यक्रमको व्यवस्थापन, सञ्चालन तथा अतिथि सम्मानमा मात्र नभएर नगरको साहित्यिक विकासको खाका कोर्न डा. शेखरले कुनै कसर बाँकी नराख्नु भएको जानकारी थाहा पाएर अभिनन्दन कार्यक्रममा उपस्थित साहित्यकारहरू गद्गद् देखिन्थे, साहित्यको उत्थानमा आफ्नो अनुहारको सुन्दर दृश्य देखेर ।

डा. श्रेष्ठको सक्रियतालाई पालिकाले हरसम्भव सहयोग गरेको छ । दक्षिणकाली नगरले साहित्यको विकासलाई यिनै समर्पण तथा सहयोगको संगम बनाएको छ । ‘साहित्यको उन्नयनका सन्दर्भमा’ नगरप्रमुख बस्नेततिर सङ्केत गर्दै डा. श्रेष्ठ भन्नुहुन्छ ‘उहाँ त नगरप्रमुख मात्र होइन नगरपिता नै हुनुहुन्छ, जसले संस्कृति, कला, साहित्यको संरक्षण तथा सम्बर्धनमा अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णविभु घिमिरेले आफ्ना विचार व्यक्त गर्नुभयो–‘राजनीतिलाई पनि बाटो देखाउने शक्ति साहित्यले राख्छ ।’ उहाँले स्थानीय तहहरूले साहित्यको विकासलाई प्राथमिकतामा राखेर राष्ट्रिय राजनीति सङ्ल्याउने पहल गर्नुपर्छ भन्दै गर्दा किशोरका सखा कवि विश्वविमोहन श्रेष्ठ भन्दै हुनुहुन्थ्यो–‘किशोर अप्ठेरो मानिस हो ।’ कवि श्रेष्ठले उदाहरण दिदै भन्नुभयो– ‘आत्मसम्मानमा ठेस लागेको अनुभव गरेपछि सर्जक पहाडीले राष्ट्रिय युवा वर्ष मोती पुरस्कार वहिष्कार गर्‍यो । सम्मानित हुनु किशोरको अभिष्ट होइन तर योगदानको सम्मानले किशोरलाई प्रेरित गर्नेछ, किशोरमा लेखनप्रतिको स्वाभिमान उचालिने छ, सर्जक पहाडी आत्मस्वाभिमानमा नडग्ने प्रतिभा हुन् ।’

मातापिता गोविन्दमान तथा मीरा श्रेष्ठका पुत्र किशोरको जन्म हालको दक्षिणकाली नगरपालिका नं.६ कोटाल टोल (तत्कालीन फर्किङ गाउँ पञ्चायत) मा २०१३ मङ्सिर २४ गते भएको हो । सम्भवत: भानुजयन्तीका दिन २०२९ असारमा आफू अध्ययनरत त्रिभुवन आदर्श माद्यमिक विद्यालय फर्पिङमा सुनाउनु भएको ‘नव भानु तिमी नेपाली नव नभका’ कविताले किशोरलाई सर्जक बनाएको हो । विसं. २०२८ सालमा नयाँ सन्देश पत्रिकामा ‘म के जबाफ दिउँ’ कथा प्रकाशन गरी औपचारिक लेखनमा सक्रिय रहनु भएका सर्जक पहाडीका कथा, कविता, बालकथाका सङ्ग्रह र फुटकररूपमा निबन्ध र नाटक पनि प्रकाशित छन् । स्थापित कथाकार किशोरले कविता तथा नाटक लेखन र मञ्चनमा विशिष्ट पहिचान बनाउनु भएको छ । रङ्गमञ्च र डवलीमा प्रदर्शन गरिने नाटकलाई सडकमा प्रदर्शन गर्न, गराउन किशोरले उल्लेख्य योगदान दिनुभएको छ । सम्झनु हुन्छ सडक नाटकका ती दिन र अशेष मल्ल, सुनील पोखरेल, गोविन्दमान सिंह रावतलगायतको सङ्गत । नाटक तथा टेलीसिरियलको लेखन तथा अभिनयमा जम्नुभएका किशोर देशमा लेखन वातावरण नभएकाबेला सडक कविता आन्दोलन (२०३६)मा होमिनु भयो । भवानी घिमिरेको नेतृत्वमा अशेष मल्ल, गोविन्द गिरि प्रेरणा, गगन विरही, वनमाली निराकार र आफूलगायतको सहभागिताले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई दिएको योगदानले किशोर पहाडीलाई सन्तोष दिन्छ । पदीय प्राप्ति र लाभहानीभन्दा टाढा रहन रुचाउने किशोरले सिर्जनशील कर्म र शब्दपथ (साहित्यिक ब्लग) मार्फत् लेखनलाई साधन होइन साधना बनाउनु भएको छ ।

चेतनामा विद्रोही किशोर व्यवहारमा विनयशील हुनुहन्छ । किशोरले आफूसँगै अभिनन्दनको शृङ्खला जोड्नु भयो । आफूलाई पढाउने शिक्षक सर दानियल खालिङ र फणिन्द्रराज खेतालालाई सशब्द अभिनन्दन गर्नुभयो । एकमात्र जीवित शिक्षक गीर्वाणनाथ शर्मालाई कार्यक्रम स्थलमा चरणस्पर्श गर्दै दोसल्ला र मालाले सम्मान गर्नुभयो । आफ्नै समीपमा राखेर वाद्यगुरु मोहननारायण बलामीलाई यसरी नै अभिनन्दन गर्नुभयो । यस्तो लाग्थ्यो, पूरै कार्यक्रम अभिनन्दनमय छ । यसअघि कार्यक्रममा सत्य स्वीकार गर्दै भनिएको थियो– हरेक सर्जक सफल हुन उसको जीवन साथीको ठूलो भूमिका रहन्छ । यसैकारण सर्जक पहाडीसँग उहाँकी धर्मपत्नी रुक्मिणी श्रेष्ठको पनि नागरिक सम्मान गरियो । नगर उपप्रमुख वसन्ती डङ्गोल तामाङ,  वडा नं. ६ का साहित्यप्रेमी अध्यक्ष शैलेस मानन्धर, सुसेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्र, सर्जक अप्सरा भूर्तेल, आदर्श माविका भाइबहिनीलगायतको आतिथ्यताबाट छुट्टिएर कुमारी क्लब, बल्खु फर्कदै गर्दा लाग्यो–‘फर्किङ नगएको भए आजको शनिबार लन्जुफन्जु मै बित्ने रहेछ ।’

सर्जक पहाडीका प्रकाशित सङ्ग्रहः

बाच्नु र बाँचेकाहरू (कथासङ्ग्रह२०३७),

घर खण्डहर (कथासङ्ग्रह, २०३७)

कथा–कोण (संयुक्त कथासङ्ग्रह २०४३)

विशु दाइ (कथासङ्ग्रह,२०४५),

शहरमा बत्ती निभेको बेला (कविता सङ्ग्रह,२०५३)

किंवदन्ती (लघुकथा सङ्ग्रह,२०५३),

सर्वज्ञ र सेक्स (कथासङ्ग्रह २०५५),

आआफ्नो भाग (बालकथा सङ्ग्रह २०६१)

अध्याय (सम्पादित लघुकथा सङ्ग्रह, २०४७),

एकैसाथ हाँसौं (अनुदित कथासङ्ग्रह २०५५),

लम्लम्ती दम (बालकथा सङ्ग्रह, २०५७)

त्यो तलाको मालिक (अनुवादित कथासङ्ग्रह २०५९)

हाँस र फुच्ची केटी (बालकथा सङ्ग्रह,२०६६)

मुग्ध सिम्फोनी (कथा सङ्ग्रह २०७०)

कथाकार मनु ब्राजाकीको अन्नपूर्णाको भोज कथासङ्ग्रह (सम्पादन २०७१),

शनिवारको साथी (बालकथा सङ्ग्रह २०७३)

किशोर पहाडीका रोजा कथाहरू (कथा सङ्ग्रह २०७५)

नागरिक सम्मान गर्ने स्थानीय संस्था

सुसेली साहित्यिक प्रतिष्ठान नगद ५,५५५ नगदसहित

दक्षिणकाली नगरपालिका कार्यालय

दक्षिणकाली नगरपालिका वडा नं ५

दक्षिणकाली नगरपालिका वडा नं ६

दक्षिणकाली नगरपालिका वडा नं ८

दक्षिणकाली नगरपालिका वडा नं ९

जननेत्र पुस्तकालय

श्रीकृष्ण मावि, छैमले

त्रिभुवन आदर्श माध्यमिक विद्यालय

त्रिभुवन आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज

दक्षिण क्षेत्रीय सहकारी समन्वय समिति

गोपालेश्वर सामुदायिक सहकारी संस्थाबाट

न्यू जेनेरेशन स्कुल

गोपालेश्वर क्षेत्र प्रबन्ध समाज

शिखरापुर सामुदायिक क्याम्पस

कोटालटोल विकास संस्था

फुल्चोक टोल विकास संस्था

टिपीटोल टोल विकास संस्था

कोछुटोल टोल विकास संस्था

डिकुबहाल टोल विकास संस्था

 

(यो लेखको सम्पादित अँश गोरखापत्र दैनिकको शनिवारियमा ९ भदौ २०८० मा प्रकाशित भएको थियो । पाठकहरुका लागि यो पूर्णाँश लेख प्रकाशित गरिएको छ –सम्पादक)

०००

लेखक परिचयः साहित्यकार त्रिभुवनचन्द्र वाग्ले विसं २०४५ मा “प्रकृति आफैं प्राकृतिक जीवन्त हुन्छ” कविता प्रकाशनसँगै साहित्यिक क्षेत्रमा अघि बढेका हुन् ।  दुई कविता सङ्ग्रह “अकीर्ण आँखा”(२०७३) “दोभानमा उभिएर” (२०७५), एक उपन्यास “अबिर” ( २०७५),  दलित स्रष्टा र प्रतिभा (२०६७) चालीस व्यक्तिको जीवनी लगायतका पुस्तकहरु प्रकाशित छन् । करिब तीन दर्जन पुस्तकको सम्पादन गरेका वाग्ले व्यास नगर नरङ्गा, तनहुँमा जन्मेका हुन् र हाल टोखा काठमाडौंमा बसोवास गर्छन् । उनी मधुपर्क मासिकको सम्पादन बिभागसँग आबध्द छन् ।

2 thoughts on “सिर्जनशील किशोर: विवेकशील दक्षिणकाली नगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *