१३ अगस्त २०२३, कोलोराडो
सुप्रसिध्द कथाकार तथा गजलकार मनु ब्राजाकीको ८१ औँ जन्मजयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले मनुजयन्ती तथा साहित्यिक रचना वाचनको कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा मनु ब्राजाकीको संस्मरणात्मक कृति ‘मनु ब्राजाकीको श्यामकहानी’को चर्चा गरिनुको साथै उपस्थित सर्जकहरूले मनु ब्राजाकीका तथा आफ्ना रचनाहरू वाचन गरेका थिए ।
समालोचक तथा ‘मनु ब्राजाकीको श्यामकहानी’ कृतिका संयोजक बिमल अधिकारीले उक्त कृतिको विविध पक्षहरूमाथि चर्चा गरेका थिए । अनेसास, बोर्ड अफ ट्रष्टिजका सभापति पदम विश्वकर्माले मनु ब्राजाकीको सम्झना गर्दै नेपाली साहित्यमा उहाँको स्थान सधैं अटल रहने बताए । कलाकार तथा अनेसास, कोलोराडो शाखाका पूर्व अध्यक्ष कृष्णमुरारी ढुङेलले नेपालमा मनु ब्राजाकीसँग काम गर्दाका आफ्ना अनुभवहरू सुनाउँदै उहाँको व्यक्तित्व र कृतित्वको चर्चा गरे ।
कार्यक्रममा रीता ढकाल, तारा अधिकारी, सीता सापकोटा, डा. शारदा काफ्ले त्रिपाठी, जलेश्वर श्रेष्ठ, दामोदर लुइटेल, मिलन कोइराला, सम्झना आचार्य, डा. विजयराज शर्मा, प्रमिला शर्मा, डा. खगेन्द्रप्रसाद दाहाल, भगवती दाहाल, विकास त्रिपाठी, इन्दिरा रेग्मी, पुष्पराज पौडेल, भुपेन्द्र महत, शर्मिला शर्मा, विभिषिका अधिकारी, वसन्तराज घिमिरे, सफला घिमिरे, चन्द्रमोहन अधिकारी, ज्वाला कोइराला, वासुदेव खनाल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा कोलोराडोका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकासाथै मनु ब्राजाकीको छोरी अपर्णा बस्नेत, ज्वाँई बिष्णु बस्नेत र नातिनी रेभा बस्नेतको पनि उपस्थिति थियो ।
कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन अनेसास कोलोराडो शाखा महासचिव किरण अधिकारीले गरेका थिए ।
