अभूतपूर्व कैलाश परिक्रमा

नियात्रा

नवराज कार्की

 

जीवन‌मा धेरै यात्राहरु गरियो । यायावर बनेर हिंड्नु एक प्रकारको सौख हो मेरो । मनभित्र एउटा सपना पालिरहेको थिएँ, कुनैदिन मानसरोवर, कैलाश त जान्छु, जान्छु  । कहिले के भयो कहिले के भयो जाने अनुकूल मिलेन ।  सन् २०२०, २०२१ र २०२२ त  कोरोना कै कारण संसार ठप्प भयो । यो बर्ष कैलाश यात्रा खुल्नासाथ मैले “टच कैलाश ट्राभल्स एण्ड टुर्स प्रा.लि” काठमाण्डौं सित सम्पर्क गरें । एजेन्सी संचालक भाई वासु अधिकारी साह्रै सहृदयी हुनु हुँदो रहेछ । उहाँले मलाई ढुक्क बनाई दिनु भयो । मे  महिनाको प्रारम्भमै मैले आफ्नो नाम लेखाएँ र राहदानीको फोटोकपी पठाएँ । मलाई गुरु पूर्णिमाकै दिन मानसरोवर जान  मन थियो  । कार्यक्रम त्यसै अनुसार तय भयो । यो वर्ष चीनले भारतीय राहदानी वाहकलाई अस्वीकार गरेको हुँदा तीर्थयात्रीको भीडभाड थिएन । म एक्लै थिएँ। मलाई जुन टोलीमा मिसाई दिए पनि हुन्छ भनें ।  वासु भाइले मलाई एन.आर.आई. हरुको टोलीमा मिसाई दिनु भएछ।

हामी ९ देशका तीर्थयात्रीहरु २१ जना भएछौँ । कार्यक्रम अनुसार पहिले तिब्बतको प्रवेशाज्ञा लिनुपर्दो रहेछ र त्यसका लागि चिनीयाँ राजदूतावासले औंठाछाप र प्रत्यक्ष फोटो लिंदो रहेछ । बिहान १० बजे बोलाइएको थियो, दिनभरको पट्यारलाग्दो प्रतीक्षापछि बेलुकी ५.१५ मा बल्ल हाम्रो पालो आयो र प्रवेशाज्ञा पाईयो ।

जून २८, २०२३  विहीवार हरिशयनी एकादशीका दिन हामी २१ जना तीर्थयात्रीलाई बोकेको बस शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै त्रिशूलीतर्फ प्रस्थान गर्यो । हामीले असारे झरीको अनुभव गर्दै त्रिशूली  बट्टार पुगेर खाना खायौं ।  बेत्रावती पार गरेपछि त्रिशूलीको किनारैकिनारको उबड खाबड बाटोमा उचालिदै, पछारिंदै र निफनिंदै बल्लतल्ल सेब्रुबेंसी हुँदै नेपाल चीन तिब्बत सिमाना रसुवागढी पुग्यौं । तर चिनीयाँ समय हाम्रो भन्दा २ घण्टा छिटो रहेछ । अध्यागमन कार्यालय बन्द भैसकेछ । त्यो रात नेपाल तिरै बास बसेर भोलिपल्ट बिहान १०.३० बजे अध्यागमन कार्यालय खुलेपछि भित्र पस्यौं । हाम्रो नेपाली बस र भान्साको गाडी नेपालतिरै छोड्नुपर्दोरहेछ । अब उताको सबै प्रबन्ध तिब्बत पर्यटन बोर्डले नै गर्दो रहेछ । हाम्रो पालो आउँदा अध्यागमनको कम्प्युटर प्रणाली नै ठप्प भयो । दुई घण्टा जति यताउता  टहलिंदै विताएपछि कम्प्युटर बन्यो र  हामी प‌ङतिबद्ध भएर सबै प्रक्रिया पूरा गर्यौं ।  मोबाईल समेत जाँचिदोरहेछ । कोभिड परिक्षण गरिंदो रहेछ । हरेक यात्रीलाई भिसा नम्बर अनुसारको रोल नम्बर दिईंदोरहेछ, हामी त्यही क्रममा उभिएर छिनछिनमाआइरहने सिमा चौकीहरु पार गर्दे ९७ किलोमिटर परको केरुङ पुग्यौं । कुती, केरुङ् नाम त इतिहासमा पढेकै हो, अनेकों कथा पनि सुनेकै  हो तर आफ्नै आँखाले देख्ने र आफ्नै खुट्टाले टेक्ने अवसर भने यो नै पहिलो हो ।

रसुवालीहरुलाई तिब्बतमा कुनै पनि काम गर्न दिईदो रहेछ । यो सुविधा सिमाना जोडिएका सबै जिल्लालाई उपलब्ध रहेछ। हामी रसुवाली उद्यमी कर्मा  तामाङद्वारा संचालित मुस्ताङ् होटलमा बस्यौं । केरुङ् बजारमा नेपालीहरूका रेस्टुरेन्ट मात्रै १२ वटा रहेछन् । अन्य पसलहरु त अझ धेरै ।  कितावमा पढेको र त्यहाँबाट आउनेहरुले सुनाएको तिब्बत कतै देखिएन । ठूला-ठूला अत्याधुनिक भवनहरू, मलहरू र चोकहरू थिए । भृकुटीले बनाएको प्राचीन गुम्वा जुन नेपाली पगोडा शैलीमा बनेको छ त्यसको पनि अबलोकन गर्यौं ।

दोस्रो दिन हामी केरुङ्‌बाट ३ घण्टा गुडेर सागा पुग्यौं । ‘सागा’ मा अन्य नाकाबाट आउने तीर्थयात्रीहरु पनि भेटिए । दुर्गम स्थानमा नाङ्‌गा पर्वतहरुलाई छिचोलेर चीनले  सलललल बग्ने यति सुन्दर सड़क बनाएको छ कि  त्यसको जति प्रशंसा गरपनि थोरै हुन्छ ।

त्यहाँका सूचना पाटी र ट्राफिक संकेतहरू सबै चिनियाँ र तिब्बती लिपिमा लेखिएका कारण केही पढ्न र बुझ् भने सकिएन । तिब्बत प्रबेश गरेपछि यात्राको चाँजोपाँजो तिब्बती गाईडले नै गर्दो रहेछ । हाम्रो गाईड रेन्छिनले लामो सेतो खादा ओढाएर हाम्रो स्वागत गरे।

जुलाई २ मा हामी मान सरोबर पुग्यौं । तर मानसरोबर पुग्नु अगाबै यर्लुङ (ब्रह्मपुत्र) नदीको स्पर्श गरियो । त्यही नदीको किनारैकिनार हिड्दा धेरै साना तालहरू देखिए ।  ती अनाम तालहरु परिचय नहुँदै छुटे । त्यहाँको मौसम छिनछिनमा परिवर्तन भैरहँदो रहेछ। हामी छिटोभन्दा छिटो त्यो बादल फाटोस् र कैलाश पर्बतको प्रथम दर्शन होस् भन्ने व्यग्र प्रतीक्षामा थियौं तर हाम्रो चाहना बादलले छेकिरहेको थियो। हामीले बसबाटै मानसरोबरको प्रदक्षिणा गर्यौं । तालमा स्नान गर्न दिंदोरहेनछ । मानसरोवर ताल हिन्दू, बौद्ध, जैन बौध्द धर्मालम्वीहरूको संयुक्त आस्था केन्द्र हो । अन्य धर्मालम्वीहरूले डुबकी लगाएर स्नान लगाएर स्नान नगर्ने हुँदा डुबकी लगाउनेहरूले फोहर पारे भनेर स्नान निषेध गरिएको रहेछ। हामीले पनि पंच स्नान गुर्यौं ।  जल आचमन गर्यौं, जल भर्यौं । मानसरोब र राक्षसतालको विचमा सानो थुम्को रहेछ। पोखरामा पचभैयाको डाँडाले बेगनास ताल र रुपाताललाई छुट्याए जस्तै गरि छुट्याउने त्यो डाँडामा फोटाहरु खिच्यौं । दुवै तालको परिक्रमा पथ ११२ किलोमिटर रहेछ । अहिलेको ग्राभेल सडक छिटै पिच हुँदैछ ।

आज भोलि र पर्सि माटेधर (Mud House)मा वास वस्नुपर्छ । शौचालयको सुविधा छैन भनिएको थियो । तर हामीले राम्रै धर्मशालामा बस्न पायौं । शौचालय भने त्यहाँ पनि थिएन ।

साँझ पख बल्लतल्ल बादल फाट्यो र कैलाश खुल्यो | हामी भाव विभोर भएर त्यो दिव्य दर्शनको आनन्दमा डुब्यौं  । “ॐ नमः शिवाय”मध्वनि गुञ्जियो । साउनको सोमवार, गुरु पूर्णिमाको दिन शिवको दिव्य दर्शन गर्ने सौभाग्य मिल्यो ।  जीवनको सबैभन्दा ठूलो र चुनौतीपूर्ण तीर्थयात्राको प्रथम चरण पूरा भयो । सरोबरकै जलद्वारा चौरमा भोलिपल्ट बिहानै उठेर स्नान गर्ने व्यवस्था थियो । महिलाहरुका लागि पाल टाँगिएको थियो र पुरुषहरुका लागि खुला ठाउँमा बाल्टी भरि पानी थियो । स्नान पछि लाख बत्ती बाल्ने, श्राद्ध, तर्पण गर्ने कर्म सम्पन्न गरियो ।

जुलाई ३ तारिखमा हामी मानसरोबरबाट एक घण्टाको गुडाईमा आधुनिक शहर दार्चन पुग्यौं । आधुनिक सुविधायुक्त होटलमा बास बस्यौं। केही किन मेल गर्न चाहनेका लागि सपिङ सेन्टरहरु थिए । मैले भोलिको हिडाईमा अक्सिजनको कमी नहोस भनेर परम्परागत तिब्बती झोल ओखती किनें  ।

जुलाई ४ को विहान दार्चेनबाट बस चढेर यमद्वार पुगियो । अब भने पैदल यात्रा थालियो । घोडा लिनेलेघोडा लिए । घोडा नलिनेले लौरो लिए। हामी लौरो टेकेका सयौं यात्रीहरु बिस्तारै उकालो लाग्यौं । तेस्रो बाटो सकिएपछि नाकै ठोक्किने उकालो शुरु भयो । जति चढ्‌यो उति अक्सिजनको कमी अनुभव हुन थाल्यो । कृत्रिम अक्सिजनको हाते सिलिण्डर बोकेकाहरुले छिस छिस पार्दै हिंडे ।  हामी चारजना नेपाली र हाम्रै टोली को फ्रेन्च – नागरिक बिजय पर्वत भने विना घोडा, बिना अक्सिजन उकालो चढ्दै गयौं । चार पाँच पाईला चालेपछि उभिनै पर्दो रहेछ । पहिलो एकघण्टा त गाह्रो गाह्रो ने भयो । तर शरीरले विस्तारै अभ्यास बढाउँदै गयो र उकाली पार गरियो ।   अब तेर्सो तेर्सो बाटो आयो । डोरमाला पास (भञ्ज्याङ) ५,७०० मिटर उँचाईमा रहेछ । त्यहाँ पुगियो र कैलाशको उत्तरी मोहडा यति नजिकबाटै देखियों कि ‘टच कैलाश’ भनेको त यो पो रहेछ ।’नर्थफेस ‘ ब्राण्ड कुनै भक्तले यही नामले जुराएको रहेछ । त्यो उचाईंमा धेरै बेर नबस्न भनियो। मैले धूप किनें र एउटा स्तुपामा बलिरहेको अग्निमा सबैको कल्याल्याण होस् भन्ने कामना गर्दै चढ़ाएँ । करिव आधा घण्टा ओरालो झरेपछि निर्मल “गौरीकुण्ड”देखियो ।  त्यति कंचन पानी त,अन्त कतै देखेकै थिईन मैले । अत्यन्त कठिन र चुनौतीपूर्ण यात्रा सम्पन्न गरेर त्यो दिन हामी तेरापुक पुगेर राम्रै होटलमा बास बस्यौं। त्यहाँ पनि शौचालय त प्राकृतिक नै हो । सातौं दिन जुजुपुक आईयो । यो दिन हिड्ने बाटो कच्ची मोटर गुड्ने ग्राभेल सडक थियो । बाटोमा “कोरा” अर्थात् परिक्रमा गर्ने तिब्बती भक्तहरू तीन पाइला हिडेर साष्टाङ्ग प्रणाम गर्दै पृथ्वीलाई र कैलाश पर्बतलाई ढोग गर्दै थिए । यसरी परिक्रमा गर्न (करिव ५२ किलोमिटर) २८ दिन लाग्छ रे । आस्था भन्ने चीज पनि बडो गजबकै छ । आमासितै २-३ बर्षकी छोरीले पनि कोरा’ गर्दै थिईन् । मैले आफूसित भएको खानेकुरा (नट्स, क्याण्डी बार, बिस्कुट) सबै तिनीहरुलाई दिएँ ।

यात्रा प्रारम्भ गरेको आठों दिन हामी पुन: दार्चेनको उही होटलमा आयौँ । हामीलाई लिन हाम्रो बस कैलाशको फेदमै पुगेको थियो । ३ दिन होटलमै बसेका हाम्रा साथीहरु हाम्रो प्रत्यागमनले रमाए । उनीहरु कोही हिंड्ने आँट नभएर कोही अक्सिजन लेभल ७०” भन्दा तल भएर परिक्रमामा जान सकेका थिएनन् । अमेरिका, सिंगापुर र अस्ट्रेलिया देखि गएका साथीहरु खुशीले उफ्रे  । you touched Kailash i want to touch you ” भन्दै खुट्टा छुन आए । अंकमाल गरे । गाला मुसारे। म्वाइँ खाए । धन्यवाद र बधाईको थुप्रो बोक्नै नसकिएला जस्तो पो भयो । हामी त निमित्त मात्र थियौं । यो  उच्चतम र कठिनतम तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गर्ने आशीर्वाद त शिवकै कृपा थियो । आठौं रातको विश्राम दार्चेनमै गरेर नवौं दिनको बिहानै हामी फिर्ती यात्रामा लाग्यौं । ८ घण्टा गुडेर सागामा बास बस्ने कि ? १४ घण्टा गुडेर केरुङ पुग्ने ? सोध्दा सबैले एकै स्वरमा we want to go Kerung !

हामी जुन बाटो जसरी गएका थियौं नौ दिन पछि त्यही बाटो त्यसरी नै केरुङ फर्कियौं । उही रसुवाली उद्यमी महिला कर्मा तामाङको मुस्ताङ् होटलमा बास बसेर दशौं दिनको दिन नेपाल आयौं । फर्कदा मन ढुक्क र फुरुक्क थियो । सुन्दर प्राकृतिक दृश्यहरु अबलोकन गर्ने फुर्सदै फुर्सद थियो । स्कूलमा पढ्दा तिब्बतको पठार र घाँसे मैदान बारे पढेका पाठहरु सम्झें । निर्मल आकाश, नाङ्गा, पहाडहरू चौरमा चरिरहेका याक चौंरी, भेडा च्याङ्‌ग्राहरु । बथानका बथान घोडाहरु, डरलाग्दा भोटे कुकुरहरु केही संरक्षित एवं लोपोन्मुख जंगली घोडाहरु, मृगहरू, सुन चाँदीको हिमाल आदि सुन्दर दृश्यावलीको आनन्दलाई वर्णन गर्ने शब्दहरू त म संग छैनन् तर मेरो मोवाईलमा केही चित्रहरू चाँहि सुरक्षित छन् ।

“मुनामदन” र “सोताला” मा पढेको तिब्बत कतै देखिंन मेले । सबै नयाँ नयाँ देखें | दृश्यहरु यति मनमोहक कि यता हेर्यो , उताको छुट्‌यो, उता हेर्यो,यताको छुट्यो ! सडक यति राम्रो थियो कि यो यात्रा कहिल्यै नसकियोस जस्तो । सहयात्रीहरू (९ देशका हामी २१ जना।) एउटै परिवारका सदस्य भैसकेका थियौं । सबैले सबैसित बाँडेर खाएको सबै देशको Junk Food (पत्रुखाना) सबैको पेटमा पुगेको थियो ।

सौन्दर्यको र प्रेमको कुनै भाषा हुँदैन रहेछ, बसको झ्याल बाहिर विश्वकै छानो तिब्बतको अद्भुत सौन्दर्य थियो भने बस भित्र मानवीय प्रेम !

र यो पनि लेख्नै पर्छ -तिब्बत‌को कुरा गरे  चीन झस्कँदो रहेछ  ।  एक मिलियन (१० लाख) जनसंख्या भएको  तिब्बतमा त्यति नै संख्यामा सैनिक छन् भनेको कतै छुस्स सुनियो । अन्य कुनै बिषयमा कुरा नगर्नु  र प्रश्न नसोध्नु त यात्राको प्रारम्भमै भनिएको थियो । उता पुगेपछि थाहा भयो, सैनिक, प्रहरी र सरकारी निकायको फोटो समेत नखिच्नु रे ।  जहाँ पुगेपनि त्यहाँको नियम,कानूनको पालना गर्न हामीले पनि सजग भएरै गर्यौं । यो कठिन भूगोलमा   यति सहज यात्राको अबसरका लागि चीन सरकार र सम्बन्धित सबैलाई हृदयमरिको धन्यवाद दियौं ।

बसमा गुडिरहेकै बखत म भित्रको अटेर अराजक कविले नोटबुकमा यस्तो मुक्तक पनि लेख्न भ्याएको रहेछ -”

सिकिकम छ तर ‘छु’ भन्ने हिम्मत छैन  

त्यहीँ थियो खै, कहाँ गयो ? अहिले त्यहाँ तिब्बत छैन

के बात गर्छौ हँ ? के बिवाद गर्छौ हँ ?

देश’ भन्दा ठूलो कुनै इज्जत छैन ।

 

(साउन १८, २०८०)

०००

लेखक परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *