रामप्रसाद पन्त
पृथ्वीनारायण शाहले चन्द्रागिरिबाट काठमाडौँ उपत्यका हेरे । जुन आँखाले हेरे, जसरी हेरे र कल्पना गरे, गरेको कल्पनालाई खाली कल्पनामै राखेनन् । एउटा अठोट गरे । अठोट पूरा गर्न उनले ज्यानको बाजी लगाए र अन्तत: सफल पनि भए । यो साढे दुई सय वर्षअघिको कुरा ।
पश्चिमाञ्चल विकास मञ्चले पनि पश्चिमाञ्चल हेर्न थालेको १८ वर्ष भयो तर काठमाडौँ खाल्डोबाट राम्रोसँग देखिएन र चढ्यो चन्द्रागिरि । सायद पश्चिमाञ्चल राम्रोसँग देखिन्छ कि भनेर होला ! अथवा हुनसक्छ पृथ्वीनारायणले पाएको सफलता प्राप्त गर्न सकिन्छ कि भनेर होला !
सन्दर्भ थियो, पश्चिमाञ्चल विकास मञ्चको अठारौँ साधारणसभा र विशिष्ट श्रेणीदेखि माथिका विभिन्न पदाधिकारीहरुको सम्मान कार्यक्रम । ‘कर्मथलोबाट जन्मथलो हेरौँ’ भन्ने नारासहित २०६२ सालमा स्थापना भएको पश्चिमाञ्चल विकास मञ्चलाई संघीय संरचनाले असर पारेको छैन । अर्थात् गण्डकीप्रदेश र लुम्बिनी प्रदेशले पश्चिमाञ्चललाई दुई खण्डमा विभाजन गरे पनि पश्चिमाञ्चल विकास मञ्चले आफ्नो नक्सा बिगारेको पनि छैन र बिगार्ने आवश्यकता महसुस गरेको पनि छैन । पश्चिमाञ्चल पहिले पनि थियो, अहिले पनि छ र पछि पनि रहनेछ । पश्चिमाञ्चल भनेको भावनात्मक संरचना हो, राजनीतिक संरचना होइन, त्यसैले राजनीतिले राज्यलाई सङ्घीयतामा लागेर सीमा छुट्याउँदैमा पश्चिमाञ्चल विकास मञ्चको नक्सा बदलिँदैन ।
राजनीतिमा यदाकदा हलचल आउँछ तर मानवीय भावना, संवेदना र आस्थामा फेरबदल आउँदैन । त्यो स्थायी मार्कर पेनले लेखिएको दस्तावेज हो, जुन डस्टरले मेट्न खोज्दा मेटिँदैन । कृष्णागण्डकी जबसम्म बग्छिन्, तबसम्म मानवीय प्रेमधारा बगिरहन्छ । कृष्णागण्डकीमा जबसम्म शालिग्राम रहिरहन्छ, तबसम्म पश्चिमाञ्चलका जनताबीचको मायाप्रेम अटल रहिरहन्छ । कृष्णागण्डकी जलधाराले जबसम्म तटीय भूमिलाई अभिसिञ्चित गरिरहन्छ, तबसम्म त्यस क्षेत्रका जनताको नसानसामा प्रेमिल रक्तसञ्चार भइरहन्छ ।
पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लालाई समेटेर बनेको यति ठूलो मञ्चले निर्वाध रुपमा १८ वर्ष लामो यात्रा गर्नु भनेको चानचुने कुरा होइन । यसो हुनुको मुख्य कारण मञ्चभित्र राजनीति प्रवेश नहुनु हो । राजनीति यस्तो खतरनाक चीज हो, जसको प्रवेश भएपछि विवाद शुरु भइहाल्छ, वैचारिक कारणले संस्थाका सदस्यहरु कम्तीमा दुई गुटमात्र होइन थुप्रै गुट उपगुटमा विभक्त हुन्छन् । यसै भएर चन्द्रागिरिको टाकुरोमा राजनीतिक छाया परेको थिएन । विभिन्न क्षेत्रका पूर्व वा वर्तमान पदधारी व्यक्तित्वहरुको जमघट भएको थियो । सायद यति गुणस्तरीय उपस्थिति अठारबर्से इतिहासमा भएको थिएन भन्ने मेरो ठम्याइ छ ।
त्यहाँ उद्योगपति एवं मञ्चका अध्यक्ष चन्द्र ढकाल पुगेका थिए, मुक्तिनाथ बाबा पुगेका थिए, प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुगेका थिए, सर्वोच्चका रजिष्टार र न्यायाधीशहरु पुगेका थिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अन्य आयोगका अध्यक्षहरु पुगेका थिए । प्रहरी प्रमुख र सेनाका जर्नेलहरु पुगेका थिए । नेपाल सरकारका वर्तमान सचिव, पूर्व सचिव र प्रमुख सचिवहरु पुगेका थिए । पूर्वराजदूत र प्रोफेसरहरु पुगेका थिए । साहित्यकार र कलाकारहरु पुगेका थिए । प्रतिष्ठित एवं स्वनामधन्य व्यक्तित्वहरुको उपस्थिति भएको थियो । करिब दुई दर्जन विशिष्ट श्रेणीका अधिकृतहरुलाई माला र सम्मानपत्र अर्पण गरिएको थियो । सम्मानित हुनेमा पश्चिमाञ्चलमा जन्मेका प्राय: सबै क्षेत्रमा संलग्न व्यक्तित्व थिए । अँ मैले भन्न छुटाएँ— पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र प्रशासक चूडामणि शर्मा पनि पुगेका थिए । सम्मानित हुनेमा साहित्यकार कलाकार थिएनन्, किनभने उनीहरुको दर्जा थिएन ।
वक्ताहरुले आदिकवि भानुभक्तको नाम लिए, लेखनाथ पौड्यालको नाम लिए, राष्ट्रकवि माधव घिमिरेको नाम लिए, जनकविकेशरी धर्मराज थापाको नाम लिए, लोककवि अलिमियाँको नाम लिए र महापण्डित दधिराम मरासिनीको पनि नाम लिए । नाममात्र लिएनन्, यस्ता दिग्गज साहित्यकारहरु पश्चिमाञ्चलमा जन्मेकोमा गर्वले नाक लामो पनि गराए । मैले मनमनै तर्कना गरिरहेँ— ती साहित्यकारहरु आजसम्म जीवित रहेको भए सम्मान गरिन्थे कि गरिँदैनथे होलान् ! पश्चिमाञ्चल विकास मञ्चको विधानले सम्मान गर्न दिन्थ्यो कि दिँदैनथ्यो होला !
हो, आफ्नो जन्मभूमिका लागि केही गरे पनि नगरे पनि वक्ताहरुले नतमस्तक भएर जन्मभूमिको गुणगान चाहिँ गरे । त्यस्तो पुण्यभूमिमा जन्मन पाएकोमा गर्वको अनुभूति गरे । कल्याण श्रेष्ठको भनाइ पनि त्यही नै थियो— ‘म कृष्णागण्डकीको जलकण सिञ्चित त्यस भूमि (बाग्लुङ)मा जन्मेँ, त्यस भूमिमा जन्मन पाउनु मेरो अहोभाग्य हो । मेरो जीवनको अन्त्य कहाँ होला, थाहा छैन । तर मेरो प्राण त्यसै ठाउँमा जाओस् । मलाई स्वर्गको चाहना छैन, वैकुण्ठको कामना छैन । मेरो पुनर्जन्म भयो भने मलाई ईश्वरले त्यही कृष्णागण्डकी तटमा जन्म दिऊन् ।’
कमलनयनाचार्यले पनि कम प्रशंसा गरेनन्— कालीगण्डकी जलसिञ्चित पश्चिमाञ्चल क्षेत्रको । उनलाई पनि धरतीले जन्माइन् त्यसै भूमिमा । जोगीको रुप धारण गरिसकेपछि पनि उनले आफूलाई ‘मुक्तिनाथ बाबा’ को उपाधिले चिनाए र मुक्तिनाथदेखि त्रिवेणीसम्मको गण्डकी प्रसवरण क्षेत्रमा थरीथरीका यज्ञहरु सम्पन्न गरे । उनले पटकपटक ‘समय भगवान् हो, समयको पूजा गर’ भन्दै हरेक क्षण असल कर्म गर्न निर्देश गरे । उनले बारम्बार घोके कृष्णागण्डकीको नाम र ‘जल हाम्रो सम्पदा, जल हाम्रो संस्कृति र जल हाम्रो जीवन’ भन्दै यसलाई मूलमन्त्र बनाउन आह्वान गरे । अन्त्यमा निमन्त्रणा गरे— इतिहासमा नै पहिलो पटक पञ्चकोट बाग्लुङमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा भाग लिनका लागि ।
हो, धरतीमा जन्मेका सबैले आफ्नो जन्मभूमिको महत्व थाहा पाउँदैनन्, पढेलेखेकाले मात्र जान्ने हो— जन्म, कर्म र धर्मको महत्व । नजान्नु अभिशाप होइन, जानेर नगर्नु अभिशाप हो । जानेर नगर्नुभन्दा नजान्नु राम्रो । हामी बुझेकाले भन्ने यही हो— धरतीमा जन्मेर धरतीप्रति उत्तरदायी नबन्नु महापाप हो । धरतीले प्राणदान गरिन्, टेक्न जमिन दिइन्, फेर्न हावा दिइन्, फैलिन आकाश दिइन्, तिर्खा मेट्न जल दिइन्, जाडोबाट जोगिन ताप दिइन्, बाँच्नका लागि अन्न दिइन् । हामी बाँच्यौँ, हुक्र्यौं, जान्यौँ र विश्व हाँक्ने भयौँ तर जन्मस्थान र जन्मभूमिप्रति उत्तरदायी बनेनौँ । हामीले सोचेनौँ— धरतीबाट हामीले सबैथोक लियौँ, केही पनि दिएनौँ । दिएनौँ मात्र, धरतीको मुहार बदल्नुभन्दा बिगार्यौँ र धरतीलाई कुरुप बनायौँ । हामीले धेरै बुझ्यौँ तर बुझ्नुपर्ने मुख्य कुरा बुझेनौँ । वृक्ष फैलिएझैँ फैलिने प्रयास गर्यौँ, जरा काटिएको थाहा पाएनौँ ।
प्रयास भएको छ, तर गर्न सकिने धेरै कुराहरु गफका बाफ बनेर उडेका छन् । भानुभक्तलाई सम्झियो तर उनको जन्मस्थान विकास गर्ने कुरामा हैंसे पुगेन कि के भयो, योजना अलपत्र परिरह्यो । आफ्नो स्वार्थका लागि भए ठूलै महल तुरुन्त खडा भैसक्थ्यो, भानुभक्त कटेरी डेडी पनि बन्न सकेन । विकास समितिले के के विकास गर्यो, गर्यो, गर्नुपर्ने विकास गरेन ।
मैले धेरै जना कुर्लेको सुनेँ चन्द्रागिरिमा । पूर्वअध्यक्ष बोले, निवर्तमान अध्यक्ष बोले, नवनिर्वाचित अध्यक्ष बोले, पूर्व मुख्यसचिव बोले, न्यायाधीश बोले । राम्रो बोले, सत्य बोले, बोल्नुपर्ने कुरा नै बोले । बरु स्रोताले कति सुने, कति मनन गरे र कति गर्नका लागि सङ्कल्प गरे मलाई थाहा भएन ।
वक्ताले भने पनि नभने पनि हामीले पश्चिमाञ्चलका बारेमा धेरै बुझ्न बाँकी छ । गण्डकी प्रसवरण क्षेत्रका बारेमा कसैले ‘मैले बुझेको छु’ भन्छ भने उसको त्यो अभिमान मात्र हुन्छ । उसले केही बुझेको होला, धेरै बुझ्न बाँकी छ । हो, एक जना विदेशी विद्वानले भने झैँ ‘मैले बुझेको कुरा के हो भने मैले केही बुझेको छैन ।’ यही उक्ति लागू हुन्छ पश्चिमाञ्चल क्षेत्रका बारेमा पनि ।
पश्चिमाञ्चलकी साक्षी कृष्णागण्डकी । पश्चिमाञ्चलका साक्षी शालिग्राम शिलाहरु । कृष्णागण्डकी जस्ती पतितपावनी नदी न विश्वमा कहीँ छिन्, न त शालिग्राम जस्तो पवित्र देवशिला विश्वमा कहीँ छ । दामोदरकुण्डलाई मुहान बनाएर कृष्णागण्डकी नेपालको ५०० कि.मि.भूमि यात्रा गर्दै त्रिवेणी पुग्छिन् र भारत प्रवेश गरेपछि अरु ३०० किलोमिटर यात्रा गरेर गंगासागरमा समाहित हुन्छिन् । तर कृष्णागण्डकीले उत्पादन गर्ने शालिग्राम शिलाहरु मुक्तिनाथदेखि देवघाटसम्म मात्र उपलब्ध हुन्छन् । कृष्णागण्डकी यस्ती नदी हुन्, जुन नदीका तटमा जति धेरै तीर्थस्थल छन्, त्यति तीर्थस्थलहरु नेपालका अन्य नदीमा छैनन् ।
कृष्णागण्डकी शालिग्राम उत्पादन गर्ने नदी त हुँदै हुन्, यसबाहेक धामैधाम र घाटैघाट भएकी नदी पनि हुन् । कृष्णागण्डकी किनारमा जति धामहरुको बाहुल्य र घाटहरुको व्याप्ति छ, त्यति गङ्गा नदीमा बोहक सायदै अन्य नदीमा होला ! दामोदरकुण्ड, मुक्तिक्षेत्र, कागवेणी, सेतीवेणी, गलेश्वर, रुद्रवेणी, रुरुक्षेत्र (रिडी), केलादी, राम्दी, देवघाट र त्रिवेणी— यस नदीकिनारका पवित्र तीर्थस्थलहरु हुन् भने सेनवंशी राजाहरुले यात्रीहरुलाई डुँगाबाट वारपार गर्न तोकेका १०८ घाटमध्ये पूर्तिघाट, सेतीवेणीघाट, रुद्रवेणीघाट, रिडीघाट, रानीघाट, केलादीघाट, राम्दीघाट, देवघाट, नारायणघाट र त्रिवेणीघाट कृष्णागण्डकीका प्रसिद्ध घाटहरु हुन् । जुन घाटहरुमा शवदहन गर्दा दिवङ्गत आत्माले मुक्ति पाउँछन् भन्ने शास्त्रीय प्रमाण भएको कारण टाढाटाढाबाट शवहरु ल्याई दहन गर्ने चलन अद्यापि छँदै छ ।
कृष्णागण्डकीको मात्र कुरा किन गर्ने ? समग्र पश्चिमाञ्चल नै यस्तो क्षेत्र हो, जहाँ नभएको चीज केही पनि छैन । सबैभन्दा बढी तालतलैया भएको क्षेत्र हो पश्चिमाञ्चल । सबैभन्दा बढी हिमनदी भएको क्षेत्र हो पश्चिमाञ्चल । सबैभन्दा बढी धार्मिक केन्द्रहरु भएको क्षेत्र हो पश्चिमाञ्चल । धौलागिरि, अन्नपूर्ण र मनास्लु जस्ता आठ हजार मिटर अग्ला हिमालहरु भएको क्षेत्र हो पश्चिमाञ्चल । दुई दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल भएको क्षेत्र हो पश्चिमाञ्चल । यतिमात्र होइन, नेपाल एकीकरण गर्ने युगनायक जन्मे त्यसै भूमिमा । नेपाली भाषालाई रामायणको माध्यमबाट जनजनका मनमनमा पुर्याउने आदिकवि जन्मे त्यसै भूमिमा । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापा जन्मे त्यसै भूमिमा । जहाँ विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग छ, जहाँ विश्वप्रसिद्ध अन्धगल्छी छ, जहाँ बुध्दधर्मका प्रवर्तक तथा हिन्दूधर्मका नवौँ अवतार गौतमबुद्धको जन्मभूमि छ, जुन भूमिमा देवताहरु पनि विहार गर्न आउँछन्, जुन भूमिमा बसेर बाल्मीकिले रामायण लेखे, जुन भूमिमा बसेर महर्षि वेदव्यासले वेदलाई विभाजन गरे र अठार पुराणको रचना गरे, जुन भूमि ऋषि–महर्षिका लागि पनि प्रिय भूमि भयो, जुन भूमि साहित्य, कला, सङ्गीत र लोकभाकाले अनुगुञ्जित छ । त्यो भूमि हो पश्चिमाञ्चल ।
कल्याण श्रेष्ठले भने झैँ मलाई पनि त्यस्तै लाग्छ । म विश्वकै सुन्दर भूमि नेपालमा जन्मेँ र त्यसैमा पनि कृष्णागण्डकीको किनार रुरु गाउँपालिकामा हुर्कें । मलाई गर्व छ, नेपालमा जन्मन पाएकोमा र पश्चिमाञ्चलको भूमिमा प्रथम पाइला टेक्न पाएकोमा । मेरो चित्त दुखेको छ, त्यो भूमि छोडेर हिँड्न परेकोमा । तर जहाँ पुगे पनि जेसुकै बने पनि मैले पैत्रिक भूमि बिक्री गरेको छैन । मैले औपचारिक बसाइँ सरेको छैन र ‘कहाँ तेरो घर ?’ भनी कसैले प्रश्न गर्दा ‘गुल्मीको दार्सिङबास’ भन्न बिर्सेको छैन । केही गर्न सकेको भए पनि गर्न नसकेको भए पनि मैले मेरो जन्मभूमिलाई त्यागेको छैन । त्यसै भएर त पश्चिमाञ्चल विकास मञ्च मन पर्छ । यस मञ्चले धेरै काम गर्न नसके पनि पश्चिमाञ्चल सम्झाउने काम गर्छ । कर्मभूमिबाट जन्मभूमितर्फ दृष्टि फैलाउने तामझाम गर्छ ।
चन्द्रागिरि डाँडोमा भएको त्यस विशिष्ट कार्यक्रमका सञ्चालक थिए महासचिव यादव भट्टराई । उनलाई भ्याइनभ्याई थियो । पश्चिमाञ्चलका अग्ला अग्ला टाउकाहरुको उपस्थिति छ । सम्मानमा कमी होला, प्रोटोकलमा तलमाथि होला, सम्माननीयलाई माननीय भनिएला, माननीयलाई श्रीमा सीमित गरिएला, गाह्रो छ उद्घोषण गर्न । तर खप्पीस भइसकेका छन् यादव । बीच बीचमा चोटिला मुक्तक भनेर स्रोताको ध्यान खिच्छन् । यादवजस्तो मानिस उत्पादन गर्ने ‘दायित्व’ यस मानेमा धन्य छ भन्ठान्छु म ।
साहित्यकार ठाकुर शर्मा भण्डारी र म साथसाथमा छौँ । यदाकदा जोडिन्छौँ अरुसँग पनि तर अन्तत: समाहित हुन्छौँ एकै साथमा । हामी रमाएका छौँ आफ्नै ढङ्गले । किनकि हामीलाई पदाधिकारी निर्वाचित हुनु छैन, बोल्नु छैन र बोलेर कसैलाई रिझाउनु छैन । सदस्यको हैसियतले हस्ताक्षर गर्नुबाहेक अरु काम छैन । इच्छा लागे चियाकफी हाजिर छ ।
म रमाएको देखेर लालबहादुर भुजेल जिस्क्याउँछन्— ‘एउटा नियात्रा जाला जस्तो छ ।’ तर मलाई कुनै सोच छैन, कुनै कल्पना छैन । चाबहिलबाट विष्णुबहादुर सिंहको गाडी चढेर सरक्क चन्द्रागिरि पुग्दा के संस्मरण सँगालेको छु र नियात्रा लेख्नका लागि ?
हो, वास्तवमा मलाई सोच्दै नसोचेको यति कुरा लेख्न प्रेरणादायी बने— साहित्यकार ई. लालबहादुर भुजेल र मलाई गाडीमा राखेर चन्द्रागिरिको तल्लो भागसम्म पुर्याउने अर्का साहित्यकार ई. विष्णुबहादुर सिंहको साथ नपाएको भए मजस्तो निजी साधनविहीन मानिसले चन्द्रागिरि पुग्ने आँटै गर्ने थिएन र भुजेलले ठट्यौली पारामा लेख्न प्रेरित नगरेको भए यति लेख्ने थिइनँ । तर भुजेलले भनेजस्तो यो नियात्रा त पक्कै भएन, बरु निबन्ध भयो कि ?
लेखक परिचयः रामप्रसाद पन्त बलेटक्सार गुल्मीमा जन्मेका हुन् । २०३९ सालमा “आफ्नो मान्छे” कथा प्रकाशनसँगै साहित्यमा प्रवेश गरेका उनी उपन्यास, काब्य, कथा, नियात्रा, संस्मरण लगायतका विधामा कलम चलाउँछन् । बिरानो बस्तीमा (उपन्यास, २०४४), वेदनाका लहरहरू (खण्डकाव्य, २०४७), तीन आमाको छोरा (उपन्यास, २०५७), जापान भ्रमणका केही सम्झनाहरू (नियात्रासङ्ग्रह, २०५८), रामचन्द्र शर्मा: स्मृतिग्रन्थ (स्मृतिकाव्य, २०५९), यात्रा र अनुभूति (नियात्रासङ्ग्रह, २०६०), रूक्मी दिदी (कथासङ्ग्रह, २०६१), सञ्झ्याल (कथासङ्ग्रह, २०६२), पेट्रोनास टावरको सेरोफेरो (नियात्रासङ्ग्रह, २०६३), तीता- मीठा कुरा (नैतिक दृष्टान्त, सहलेखन, २०६३), बाह्र सूर्य : सोह फन्को (नियात्रा, २०६४), उत्कृष्ट सत्ताइस व्यक्तित्व (संस्मरण, २०६५), पर्यन्त देश (२०६६), सम्झनाका थुंगा (संस्मरणसङ्ग्रह, २०६७), स्मृतिगङ्गाको तीरैतीर (नियात्रासङ्ग्रह, २०६८), पुष्पमञ्जरी (कथासङ्ग्रह, २०६९) लगायतका पुस्तकहरु प्रकाशित छन् । हनी हाल चावहिलमा बसोवास गर्छन् ।