दीपेन्द्र आचार्य
ड्याम्म हुस्सुले जब ढाक्छ घाम
छात्तिभरी कालो बादल बोकी
अँध्यारो अनुहार लगाइ रुन्छ आकाश
उज्या…लो छरिरहन्छौ आँगनभरी तिमी
आमा जस्तै मेरो बेगोनिया।।
हरियो पहिरनमा हरियै चुरा लगाइ
हत्केलाभरी बुट्टेदार मेहन्दी र
गलामा पोते,सिँउदोमा सिंदुर लगाइ
तीज मनाउन माइत आएकी
छोरी जस्तै मेरो बेगोनिया।।
धारिलो हतियार लुकाएर
घाँटी रेट्न आउँछ हत्यारा बतास
तिम्रो वर्तमान चुड्न आउँछ बतास
जसरी चुडेथ्यो मेरो पुर्खाको वर्तमान
इतिहास जस्तै मेरो बेगोनिया।।
हाँगाभरी जब फुल्छौ तिमी
टाढा टाढाबाट आउँछन् मौरी भमराहरु
सुसेल्छन् तिमीसङ्गै लोक सुसेलीहरु
जसरी सुसेल्छन् बाँसुरी मुर्चुङ्गाहरु
संस्कृति जस्तै मेरो बेगोनिया।।
रङ्ग विरङ्गी फुल्छौ जब तिमी
न्युमोर टापु जति गहिरो लाग्छ तिम्रो जरा
सगरमाथा जति अग्लो लाग्छ तिम्रो फूल
मेची महाकाली जति लामो लाग्छ पात
देश जस्तै मेरो बेगोनिया।।
कवि परिचयः ईलाम सुर्योदय नगरपालिकामा जन्मेर त्यहीं बसोवास गरिरहेका कवि दीपेन्द्र आचार्य कविता, हाइकु, लघुकथा। हास्य व्यङ्ग्य, गीत गजल लगायतका विधामा कलम चलाउँछन् । उनको लेखन-यात्रा भारत सिलगडीबाट प्रकाशित ‘आजभोली’मा ” नयाँ बिहानीको खोजीमा” कथा प्रकाशनसँगै भएको थियो । उनका फुटकर रचना बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।