सुनिल पुरी
साँझपख
पहाडको आकर्षण
पहाडकै फेदीमा
सूर्यका बैजनी रङ्गका छिर्काहरु छरिन्छन्
भनौं-फुल्छन् पखेराका गुँराश जस्तै ।
उता आकाशमा
वादलका टुक्राहरु
कपासका थुप्रा बनेर थुप्रिन्छन्
शायद मेरा लागि हुन् यी सबै
ठान्दा हुन्
म यात्री हुँ
म बाटो भुलेको छु
यही मौकामा उनीहरु मजा पनि मान्दा हुन्
त्यसैले त
बादलहरु मेरा यात्रामा सहयात्रेी पनि मान्दा हुन्
त्यसैले त
बादलहरु मेरा यात्रामा सहयात्री बन्छन्
घामहरु त्यसै गर्छन्
के थाहा ? श्रीमतीलाई
मेरो यात्रा कोसँग भैरहेछ ?
यात्राको समय
घडीले बताएन क्यारे
र त म घर पुग्दा
श्रीमती
छोराछोरी र छिमेकी सबै
झस्किन्छन् अर्थात् छक्क पर्छन्
हुन त म स्वागतयोग्य कहाँ नै हुँ र ?
तैपनि यिनीहरुलाई योग्य नै लाग्दो हो
र त स्वागतका क्रममा आँसु बगाउँछन्
मेरा लागि
मेरा बेलुकीका लागि (?)
घाम डुब्छ
बादल हराउँछ
म जूनको प्रकाशमा
आफ्ना यात्राका कथा सुनाउन थाल्छु
अर्थात् म मेरो संस्मरण सुनाउन थाल्छु
सुन्नेलाई सुनको माला भन्थे-
यतिखेर यो माला
मेरो श्रीमतीलाई ….!
०००
कवि परिचयः कवि सुनिल पुरी धनौजी धनुषा, जनकपुरधाममा जन्मेका हुन् र हाल जावलाखेलमा बसोवास गर्छन् । विसं २०४१ सालमा नयाँ सन्देश साप्ताहिकमा मुक्तक प्रकाशन गरेर साहित्यमा उदाएका सुनिलका “आज तिम्रो सम्झनामा”(विसं २०५७) गीत सङ्ग्रह,” गाभा”(विसं २०७२) हाइकु सङ्ग्रह, “शहरको समाचार (विसं २०७३) कविता सङ्ग्रह प्रकाशित छन् ।