स्वदेशको सम्झना

कविता

हरि पौडेल, नेदरल्याण्ड

 

त्यो कलैया नगर नजिकैको बैरिया मेरो गाउँ

सडकका अगल र बगलमा सिस्नोको झाडी

खाल्डा र खुल्डी धुलो अनि हुरी

बिहानीपख सैरमा हिडेको त्यो क्षण

फर्कंदा मुखमा नीमको दतिवन

अनि त्यो चोकको चिया

राष्ट्रिय अन्तराष्ट्रिय गफमा मस्त

मुकुन्द काका र श्रीराम दाइ

प्रयाग चाचा र जोगिन्दर भाइ

अब विदेशमा किन मेरो आँखा

यसरी आँसु बर्षाइ रहेछ

आज किन-किन मलाई मेरो देश मेरो गाउँ

याद आइरहेछ !

 

आँगनमा ईनार अनि मन्दिर तथा तुलसीका ती बोटहरु

राम राम र कृष्ण कृष्ण लेखिएका ती भित्ताहरु

त्रिपुण्ड लगाई ध्यानमग्न मेरी बुढी हजुरामा

छोरो कहिले फर्कला भनी

सडकतर्फ हेरिरहेकी मेरी आमा

बरन्डामा सोचमा डुबिरहेका मेरा बुढाबाबु

ढोकामा दूधको बाल्टिन लिई उभिरहेको

त्यो दरबारी राउत

अनि छिमेकी भाउजूको ठूलो हाँसोको स्वर

आदिआदिको सम्झनाले

निकै सताइरहेको छ

आज किन-किन मलाई मेरो देश मेरो गाउँ

याद आइरहेको छ !

 

घरि नरहरी कहाँ

घरि मणिराज कहाँ

घरि विवेकनान्दजी कहाँ

भने घरि विशाल कहाँ

न कुनै ‘एग्रिमेन्ट’

न कुनै ‘अप्वैन्मेंट’

न कुनै ‘हेल्लो’ र ‘थैंक यू’ को औपचारिकता नै

सबै एकजुट भई भैंसीमा चडी

सर्हैया पोखरीमा डुबुल्की लगाउँथ्यौ

चकचन्नामा चोरेको त्यो काँक्रो र भोगटेहरु

कतै खलिहानमा लुकेर खान्थ्यौं

अब सबै सपना भई यहाँ

मन बिचलित गराइरहेको छ

आज किन-किन मलाई मेरो देश मेरो गाउँ

याद आइरहेको छ !

 

टुलीपै टुलीपले भरिएको देश

छैन लालीगुराँस यहाँ

सुन्न पाईन्छ र भोजपुरी गीत नै कहाँ

गयो दशैँ, आयो तिहार

न पकवान पाएँ मैले

न कुनै फलहार

न आँगन छ न दैलो

न देउँसी न भैलो

के छ त यहाँ ?

हातमा हेनेकन बियर

आँखामा टियर

ओ माईडियर, हियर ?

नोबडी केयर

जीन्दगी मशिन जस्तै भयो !

 

सँधै हतार-हतारमा

झिम्मिक्क रात बित्छ

उही झिल्के बारमा

चौरासी ब्यन्जन्ले भरिएको

डाइनिङ टेबुल भए पनि अगाडि

उही तामा र गुन्द्रुकको स्वादले

लोभ्याइरहेको छ

आज किन-किन मलाई मेरो देश मेरो गाउँ

याद आइरहेको छ

आज किन-किन मलाई मेरो देश मेरो गाउँ

याद आइरहेको छ

000

कवि परिचयः कलैया वारामा जन्मेका कवि हरि पौडेल लामो समयदेखि नेदरल्याण्डमा बसोवास गर्छन् । झण्डै ५० बर्षअघिदेखि नै कविता लेख्न शुरु गरे पनि उनको पहिलो कृति “मेरो साहित्यिक यात्रा श्रीजना भाग १”( पसन् २०१४) प्रकाशित छ । उनी गजल पनि लेखछन् र उनका उनका गजल संगीतबध्द भएर गाईएका पनि छन् ।

Leave a Reply