छोराको पहिलो जहाज यात्रा

कविता

पातलो अन्तरे

 

हर्ष र डर दुबै मिसिएको अनुहार

केही उत्साह केही नौलोपन

यात्रा शुभ होस् भनेर

जहाजभित्र पस्नुअघि जहाजलाई ढोग्न सिकाएँ

तर मैले क र लगाईँन

मैले मेरो कर्तब्य पुरा गरेँ, धर्म निभाएँ

एउटा बाऊ हुनुको

उसले पनि ठीक त्यसै गर्यो

मैले बुझेको छु कि

नानीहरूलाई यस्तै सानु कुराले प्रभाव पार्छ

संस्कार यसरी नै बिकास हुँदै जान्छ ॥

 

छोरालाई जस्तै मलाई पनि डर थियो

केहि असहज हुन्छ कि उसलाई भनेर

तर

उसको चकचक भने घामजस्तै छर्लङ्गै थियो

डरलाई उत्साहले जित्यो

मैले देखाएजस्तै छोराले पनि

आफ्नो सीटमा बसेर सीटबेल्ट लगायो

झ्यालबाट बाहिर हेर्दै आफ्नो कौतुहलता देखायो

प्रश्नहरूको पहाड खडा गरीदियो मेरा अघि

कति प्रश्नहरू अनुत्तरित थिए

कति गम्भीर र कति हास्यास्पद थिए

यही हो बाल्यकालको मज्जा

मलाई मेरै बाल्यकाल सम्झायो

मोटरसाईकिलको धुवाँ सुँघ्दै हिड्ने म

गाडी चड्न आमा बाबसँग झगडा गर्ने म

हवाईजहाज आकाश माथि उड्दा पनि गदगद हुने म

मैले २६ वर्षमा पहिलो चोटी हवाईजहाज चडेँ

छोराले ३ वर्षमा ।

 

छोरासँग वार्तालाप गर्दागर्दै जहाज बिसायो

अब रहेका वार्तालाप र प्रश्नहरू

अर्को यात्रामा गर्ने बाचा दिएँ छोरालाई

छोराको अनुहारमा मैले मेरो जीवन पढिरहेको जस्तो लाग्यो

मेरो अनुभव साटिरहेको जस्तो लाग्यो

सँगै बुबाआमा पनि हुनुहुन्थ्यो

मेरो खुशीमा वहाँहरू रमाए जस्तै

छोराको खुशीमा म पनि त्यस्तै रमाएँछु

छोराको पहिलो जहाज यात्रा

बुबा आमाको खुशीको यात्रा

मेरो जीवनको यात्रा

अनुभवको यात्रा ।

000

कवि परिचयः कवि पातलो अन्तरे लीलाधर अधिकारीको साहित्यिक नाम हो । दागाना, भुटानमा जन्मेका उनी हाल अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बस्छन् । उनको पहिलो कविता सन् २००५ मा प्रकाशित भएको थियो । उनका “अन्तरे”(सन् २०१३) तथा “अक्षर” (सन्२०१८) दुई गजल सङ्ग्रह, “खैय्यामलाई प्रश्न”(रुवाई सङ्ग्रह तथा “अनुहारभित्रको ऐना”(सन् २०२१) कविता सङ्ग्रह प्रकाशित छन् ।

Leave a Reply