पाँच मुक्तक

कविता

प्रकाश घायल

१,

एउटै पात्रले फरकफरक नाटक मञ्चन गरेकै हुन्

नयाँ बोतलमा उहीँ पुरानै रक्सी सञ्चयन गरेकै हुन्

पात्र उहीँ ,रक्सी उहीँ, मात्रै बोतल फेरिएको न हो

बोतल भर्ने सिलसिलामा लप्पन छप्पन गरेकै हुन् ।।

२,

आफन्तको  साथ  भुलेछन् आँखाको बर्सात भुलेछन्

अरू झुक्याउदा आफैं झुक्किएर दिन र रात भुलेछन्

गाँसबास दिनेलाई छोडेर साथ दिनेको विश्वास तोडेर

निजि स्वार्थको लालसामा बरालिदै औकात भुलेछन्।।

३,

हाम्रो संस्कृति चाडपर्व मर्यादित हुनुपर्छ धेरै भद्दा नहोस्

बाँदरको हातमा नरिवल झैं भ्रष्टको हातमा सत्ता नहोस्

बेलैमा सोच्नुपर्छ दरिद्र मानसिकतामा डोजर चलाउनुपर्छ

सीमित स्वार्थको निम्ति राष्ट्रिय अस्मिता सट्टापट्टा नहोस् ।

४,

गुलाफ टिप्न खोज्दा काँडाले घोचेको पल भुल्न सकिन्छ र

कुन्युमा लुकामारी खेल्दै  गरेको छलफल भुल्न सकिन्छ र

एउटै पाइला जोडिएर हिंडेका हार्दिकताले भरिपुर्ण अतितले

समयको वेगसँगै पारेको मानवीय खाडल भुल्न सकिन्छ र?

५,

उत्ताउला विद्यार्थीहरू शिक्षकलाई  नैतिकता पढाउँछन्

लाजलाई  पनि लाज लाग्ने खालको परम्परा बनाउँछन्

लाजको आग्लो खोल्दा सरमको चुकुल बिर्सन हुँदैनथ्यो

बेसरमहरू ! ईमान बिक्री गरेर धाक ठुल्ठुला लगाउँछन्।।

०००

कवि परिचयः काठमाडौंको फुटुङमा जन्मेर जन्मथलोलाई नै कर्मथलो बनाएका कवि प्रकाश घायल विसं २०४४ सालमा मुक्तक प्रकाशनको साथमा साहित्यमा प्रवेश गरेका हुन् । उनको एक मुक्तक सङ्ग्रह “लाजको आग्लो (विसं २०७७) प्रकाशित छ ।

Leave a Reply