कुन समुद्रले छुनसक्छ सगरमाथालाई ?

नियात्रा

कृष्ण प्रसाई

 

जीवनलाई निफनिरेछु नाङ्लामा

भुसहरू छन्, उडाउनु छ

फब्लेटा र बियाँहरूछन्, टिप्नु छ

मसिना कनिकाहरू पनि छन्, चालेर किनारालाउनु छ ।

स–साना ढुङ्गाहरू छन्,फ्याल्नु छ ।

कहींकतै फोहोर–मैला भए तह लगाउनु छ ।

कतै घुनहरू बचेभने पकाउनुको अर्थ नै रहन्न भान्साको ।

छान्दा–छान्दै र सोझ्याउँदा सोझ्याउँदै धेरैपटक पसाङ्गिएको छ जीवन ।

सोझ्याउनु पनि छ  जीवनलाई ।

 

000

 

२००९ नोभेम्बर ७ को बिहान मलाई ब्युँझाउन मेरो सूर्य दक्षिण कोरियाको बुसान शहरमा उदायो । यस्ता धेरै सूर्यको उदाइबाट म ब्युँझिएको छु विदेशमा । सहस्र सूर्यको अस्ताइबाट थकित भएर निदाएको छु विदेशमा । धेरै औंसी, पूर्णिमा, एकादशी, सङ्क्रान्ति र मसान्तीहरू आएर गएका छन्–विदेशमा । त्यो ब्युँझाउने बिहानलाई सलाम गर्दै अघिल्लो साँझको उर्दीलाई समेत पालना गरेर आठबजे होटलकै लबिमा निस्कनु पर्नेछ मैले । मसँगै निस्कनेमा चीन र जापानका लेखकहरू पनि छन् । उनीहरू दुवै कोरियाली मूलका हुन् । म मात्रै काग्ताली पारेर पुगेको छु बुसान । कोरियाली भाषामा पूर्ण दखल नभएको म जस्तो अपूर्ण मान्छेले कोरियाली भाषामा हुने सभा–सम्मेलनमा भाग लिनुले कुनै तुक राख्दैन, तर पनि अगाडि नै श्रीमती रानको निम्तोलाई मैले सहर्ष स्वीकार गरिसकेको छु । अरुको भाषणमा ताली लगाउने र अरू हाँस्दा हाँस्नु बाहेक मसँग अर्को उपाय छैन सम्मेलनमा । चीनियाँ र कोरियाली लेखकहरूको कार्यपत्र प्रस्तुत गर्ने समय २ बजे पछि मात्र छ । २ बजे अघिसम्मको समय हामी कोरिया मारिटाइम युनिभर्सिटी अफ बुसानका .अन्तर्राष्ट्रिय अध्यायन विभागका प्रोफेसर गु मो-र्योङसँग बिताउँदैछौं । प्रोफेसर गु कोरियाकै प्रसिध्द समालोचक हुन् भन्ने कुरा मैले अघिल्लो दिनै सुनिसकेको थिएँ । मझौला कदका, खाइलाग्दा र गोरा वर्णका प्रो. गु गम्भीर मिजासका छन् । आवश्यकताभन्दा बढी बोल्दैनन् र बोलिहाले भने काण्डपुर्‍याएर बोल्छन् । परिवर्तनका हिमायती प्रो. गुले नेपालको १२ वर्षे आन्दोलनका बारेमा सुनेका रहेछन् र आन्दोलनका पक्षधर पनि रहेछन् । आफू परिवर्तनको पक्षमा रहने प्रगतिशील मान्छे रहेको कुरा उनले मसँगको पहिलो भेटमै भनेका हुन् । उनीसँगको मेरो पहिलो भेट २००९, नोभेम्बर ६ मा बुसान शहरको प्रशान्त महासागरीय तटमा अवस्थित सामुद्रिक खाना पाइने एउटा रेस्टुरेण्टमा भएको हो । उनीसँगै सामुद्रिक परिकारहरू खानुहुने कोरियाली मूलका जापानी पाहुना कवि किम ई पार्क र कोरियाली मूलकै चिनकी प्रोफेसर मिस सियोन र अन्य चारजना  बुसानका कविहरू पनि थिए । श्रीमती रान भने हामी खाँदै गर्दा आएकी थिइन् र ढिलो भएकोमा माफी पनि मागेकी थिइन् ।

श्रीमती रानले आफ्नो कुरा राखिन् – “बुसान सामुद्रिक शहर हो । समुद्रसँग जोडिएको यसको नाताले नै हामी कोरियाको ठूलो औद्योगिक नगरका नागरिक हुन पाएका छौँ । यो शहर सामुद्रिक बन्दरगाह र निकासी–पैठारीका लागि प्रसिद्ध छ । त्यस्तै सामुद्रिक खानाका लागि पनि । त्यसैले हाम्रा पाहुनाहरूलाई आज हामी समुद्रकै खानाले स्वागतगर्न चाहेका छौँ ।”

सामुद्रिक खानाखाने बानी त्यति नभए पनि बारम्बार समुद्रसँग नाता जोडिएका देशहरूको भ्रमणले मेरा लागि नौला थिएनन् । पहिलोपटक यस्ता खानामा सहभागी हुँदा  हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकका मान्छेका लागि अलि असजिलो र अनौठो नै हुन्छ । जुन अनुभव मैले अगाडिनै भोगिसकेको छु । भोग्दै गएपछि केही असजिलो भए पनि कहिलेकाहीँ मेरो भूपरिवेष्ठित मनले आफ्नो माटाको जात जनाइहाल्छ र कताकता दिग्मिग् लाग्न थाल्छ । विशेष गरेर समुद्रको गन्ध ह्वास्स नाकमा पसेपछि काण्ड पुगिहाल्छ मलाई । यो पालीको सामुद्रिक खानाको विशेषता त झन् विचित्रको थियो ।

सामुद्रिक खानाका यति धेरै परिकारहरू पनि हुँदारहेछन् भनेर पहिलोपल्ट अनुभव गरिरहेको थिएँ बुसानमा । झिँगे माछा र अरू साधारण माछामाथि मात्र मैले  काँटा चलाएको देखेर अरू साथीहरू अनौठो मानिरहेका थिए । मौका छोपेर बुसानकै अर्का समालोचकल मिस्टर पार्कले मलाई सोधिहालेः

“खानेकुरा खान किन कन्जुस्याईँ गर्नुभएको ? खाना मीठो लागेन कि क्या हो ? तपाईंको देशमा यस्ता परिकारहरू हुँदैनन् कि कसो ?”

मैले भनें – “माछाका परिकारबाहेक अन्य परिकारहरूसँग म खासै परिचित छैन । हामी सामुद्रिक खानाका विरोधी होइनौँ । तर हाम्रो देशमा समुद्र नभएकाले यसमा अभ्यस्त छैनौं । जहाँसम्म मेरो प्रश्न छ, मलाई कोरियन खानामा सामुद्रिक लेउ (कोरियाली भाषामा किम) असाध्यै मन पर्छ । बानी नभएकाले बाँकी परिकारहरू ठिकै लाग्छन् ।”

इमान्दार भएँ म । मीठो मानेर सब चाट्चुट् पारेर खानै मुस्किल । तर उनीहरू सफाचट् पारेर खाएको मन पराउँछन् । बिदेशी पाहुनाहरूले  सिनित्तै पारेर खायो भने थप्नुपर्ने खानाको पैसामा पनि भरसक छुट दिन्छन् । मीठोमानेर खानु र सिनित्तै सक्नु रेस्टुरेण्टलाई गरिने सम्मान मानिन्छ कोरियामा । मीठोमानेर खानु परिकार बनाउने मान्छेको इज्जत गरेको ठानिन्छ कोरियामा । त्यसो त कोरियनहरू खानाका अत्यन्तै सौखिन हुन्छन् । भेटघाट हुँदा नेपालमा आरामै छ भनेर सोधिने गरिन्छ  तर कोरियामा “खाना खाइस्” ? भनेर भलाकुसारीको पहिलो शुरुवात् हुन्छ । कोरियाली खानेकुरामा जरा,बुटा, पात–पतिङ्गरदेखि गिठ्ठा भ्याकुरसम्म छोडिएका हुँदैनन् । सन् चालिस र पचासको दशकमा कोरियाली प्रायद्वीपमा चरम खाद्य सङ्कट परेको थियो रे । भयानक युद्ध र अनिकालमा होमिएका कोरियनले खान लायक भेटेसम्मका जे पनि खाए  रे ।

जापान कोरियाली युध्दकालमा भोकमरी धान्न नसकेर अमेरिकी सैनिकले खाएर  फालेका खानेकुरा पखालेर खाने कोरियनहरू अहिले पनि कोरियामा छन् । कहिल्यै चुइगम् नदेखेका ग्रामिण कोरियालीहरूले अमेरिकी गोराले खाएरफालेको चुइगम टिपेर खानकोलागि कोशौँ पछ्याएर  हिंड्दाको सत्यकथालाई अहिलेको पुस्ताले कसरी विश्वास नगर्ला र ! जापानीहंरुले कोरियामा आफ्नो अधिपत्य जमाएर आफ्नो भाषा लदाउन जापान लगेका कोरियनहरूको कमी पनि कहाँ छ र कोरियामा ।  सन् ७०–८० को दशकमा गरिबीकै कारण साउदी अरेबियामा ड्राइभरी र अन्य मजदुरी गर्नजाने कोरियनलाई तपार्इं के भन्नु हुन्छ ? जसको संख्या अहिले पनि कोरियामा जीवित नै छ । त्यो भन्दा पनि नेपालमा समेत नभएको अचम्म र उदेकलाग्दो कुरा बोका, राँगा र बहरलाई  नेपालका ग्रामिण क्षेत्रमा पुरानो शैलीबाट गरिने  परिवार नियोजन स्थानीय ठेट भाषामा (खसी पारिने) चलन त्यहाँका राजाहरूले राम्रा स्त्रीहरूका विवाहित लोग्ने मान्छेलाई गर्ने गरेको पुरानो इतिहासको दृश्य कोरियाली टेलिसिरियलहरूमा अहिले पनि देख्न पाइन्छ ।

सन् ६० को दशकमा नेपालले समेत धर्मढिकुटीबाट जम्मा गरेर एकहजार क्वीन्टल गहुँ  सहयोग स्वरुप दिएको थियो कोरियालाई । अहिले यस्तो कुरा भन्नसमेत लाज लाग्छ उनीहरूसामु । विश्वासै गर्न गाह्रो छ त्यतिबेलाको यथार्थ र अहिलेको वास्तविकता । हामीले गहुँ दिएर सहयोग गरेको मुलुकमा रोजगारी गरेर गौरवान्वित हुनुपर्ने समय आयो अहिले । जति धेरैको सङ्ख्यामा रोजगारी प्राप्त हुन्छ, त्यति नै मात्रामा खुसी हुने नेता, महानेताहरू आए अहिले । सामानको निकासी–पैठारी गर्नुपर्नेमा श्रमका लागि मानिस निकासी गर्ने नीतिनियम फस्टायो नेपालमा । मान्छेको पैठारीका लागि विश्वमै चिनियो नेपाल । नेपालका धेरै मान्छेलाई रोजगारी दिएबापत सर्वोत्कृष्ट मानपदवी र तक्मा थापे विदेशी राष्ट्रप्रमुखले । सुन्दै कस्तो लाजमर्दो कुरा !

सामुद्रिक खाना खाइसकेर झण्डै ३० मिनेटको यात्रापछि हामी प्रशान्त महासागरीय किनारको बासबस्ने होटलमा आइपुगेका थियौँ । बाटामा हामी समुद्रमाथि बनाइएको पुलमा समेत यात्रारत भयौँ । एक शहरबाट अर्को शहरमा जान समुद्रमाथि लामो र आकर्षक पुल पनि उभ्याइएको रहेछ बुसानमा । रातीको मनमोहक दृश्यमा अन्मिएको बिजुलीले सारा बुसानलाई बेहुली घरझैँ सिँगारेको थियो । लहर मिलेर उभिएका बिजुलीका गुलुपमाथि आँखा फ्याँक्दै श्रीमती रानले भनिन् –

“तिमीले समुद्रको किनार मनपराउँछौ भनेर नै हामीले समुद्रकिनारकै चौध तले क्यासल विच  होटललाई रोजेका छौँ । राती तिम्रो कोठाबाट अघाउञ्जेल प्रशान्त महासागरलाई हेरेर उसँग कुरा पनि गर्नसक्छौ ।”

गाडी चलाइरहेकी रानको सदासयतालाई केही नबोलिकनै मैले मन–मनै स्वागत र अभिवादन गरेँ । सोचे, शिष्टाचारमा कोरियनहरू कतै चुक्दैनन् ।

“होटलको कोठामा गएर आराम गर्छौ कि मसँग बाहिरघुम्न जान्छौ ?”

गाडीको पाउदान थिचिरहेकी रानले फेरि अर्को प्रश्न तेर्स्याइन् । मौकामा चौका हान्न उचित ठानेँ मैले । फेरि यस्ता मौका म जस्तो उमेर ढल्कँदै गरेका मान्छेको जीवनमा आउलान्–नआउलान् । मैले उत्तर दिएँ– “तिमी फुर्सदमा छ्यौ र थाकेकी छैनौ भने ठीक छ । म त सँधै तयार नै छु ।”

“कस्तो अभिब्यँजना मिसिएको ध्वनि बोल्छौ तिमी ! तिम्रा बोलाइले धेरै अर्थहरू लगाउँछन् । हेर्दा सोझाजस्ता देखिए पनि मापाका छौ तिमी । तर तिम्रा कुरा गराइ किनकिन मलाई असाध्यै मन पर्छ । ”

कुरा हुँदैगर्दा अर्को गाडी हाकिरहेका बुसानकै आफ्नो कवि साथीलाई अरू विदेशी साथीहरूलाई होटल छाडिदिएर घरजान मोबाइल फोनबाटै अनुरोध गरिन् रानले । त्यसपछि भने उनले मलाई एउटा प्रशान्तीय क्षेत्रको पाँचतारे होटल छेउको सामुद्रिक किनारमा लिएर गइन् र भनिन्–

“बुझ्यौ,यो वेस्टिन चोसुन होटेल हो । यहाँको हाउण्दाई वीच संसारमै प्रसिद्ध छ । अमेरिकी राष्ट्रपति जर्ज बुस पनि उनको अन्तिम कार्यकालताका कोरिया आउँदा यसै होटलमा बसेका थिए । यहाँबाट देखिने सामुद्रिक अनुहारको विशेषता नै बेग्लै छ ।”

समुद्रको छेउमै रहेको होटलबाट समुद्री किनारातिर झर्दै रानले गर्वबोध गरिन् । विकासले भनेसम्म फड्को मारिसकेको कोरियामा गर्व गर्न लायक विकासका धेरै संरचनाहरू छरिएर रहेका छन् । त्यसमा कोरियनहरू प्रशंसा गर्न कहिल्यै चुक्दैनन् । हामीले उनीहरूलाई चुकाउने अस्त्र भनेकै हाम्रो हजारौँवर्षदेखि हिमालय संस्कृतिमा उन्नत ठानिएको हाम्रो पूर्वीय वैदिक दर्शन र अध्यात्मिक अमरत्व प्राप्तिको आत्मज्ञान नै हो । जसलाई मैले नेपाली हुनुको अर्थमा सँधै गर्व गरें । जस्तै मै हुँ भन्नेलाई आफ्नो तर्कसामु नतमस्तक बनाएँ । ममा रहेको गर्वबोध नै मेरा पुर्खाले सिकाएको पूर्वीय चिन्तन हो, जुन कुराको प्रभाव मैले प्रत्येक भ्रमणमा उनीहरूसामु पोखेर नेपाली हुनुको मेरो अस्तित्व बचाएको छु ।

सत्य यही हो कि मेरा हिमालयका घाँटीमा पाइने प्रत्येक ढुङ्गामा शिवत्व छ । म तिनीहरूलाई टेकेर सत्य कुराको आत्महत्या गर्न चाहन्नँ र चाहन्छु सर्पझैं खुट्टा नभएको मान्छे बनेर दक्षप्रजापतिका भोलेज्वाइँको गलाकोमाला बन्न । मलाई तिनै शिवत्वसँग गर्व छ, जसको कर्मभूमि नेपाल हो । जसको उँचाई नेपाल हो र जहाँको चिन्तन र संस्कृतिले संसारका कुनै पनि चिन्तन र संस्कृतिको उँचाईलाई पौंठेजोरी खेल्दा सहजै हराउँछ । मलाई थाहा छ, विकास कसरी मित्थ्या हुन्छ । निर्माण कसरी आततायी बन्छ र प्रविधिले कसरी मान्छेको मनोदशालाई खग्रास बनाउँछ । मलाई यो पनि थाहा छ, मेरो देशको दर्शनसामु कोरिया कुन कुरामा कल्पिन्छ । जापान कसरी जिब्रो निकालेर जिज्ञासु हुन्छ, हंङ्कङ कसरी हतासिएर हच्किन्छ र  चिन कसरी चकमन्न चुपचाप सुनिरहन्छ । मलेसिया मोहित हुने, नर्वे नतमस्तक भएर निहुरिने अनि अफ्रिका, अस्ट्रेलिया र अमेरिका आच्छुआच्छु भएर अन्योन्यास्रित हुने दर्शन मेरै देशमा छ ।

“किन समुद्रलाई हेरेर मौन बसेका ? यहाँको समुद्रले मन नजित्ने मान्छे नै हुँदैनन् ।”

उनको शरीरबाट छुटेको फ्रान्सेली अत्तरको बास्नासँगै बोलिन् रान् ।

समुद्रछेउको भुभागैभरि लहरमिलाएर सयौंको संख्यामा मानिसहरू नाचगान र खानेपिउनेमा मस्तथिए । समुद्रमाथिबाट कुदेको आकाशेपुल हेर्दै हामीले समेत रमाइलो मनायौँ । मान्छेको मेला उदेकै लाग्दोगरी ओइरिएको थियो शहरसँगै जोडिएको त्यो समुद्री किनारमा । जाडोले छोडिसकेपछिको  हल्का चिसो थियो मौसम । संगीतको धुनसँगै कोरियन रक्सी सोजुका बोतलहरूमा रमाउन निमग्न थियो सहर । सायद समुद्र पनि रमाएर यसैको गन्धमा आनन्द उठाइरहेको थियो । केही माथि समुद्रसँगै जोडिएका पहाडमा गाडीहरू लस्करै कुदिरहेका थिए । लहर मिलाएर घुइँकिने गाडीहरूलाई जुन हतारो थियो त्यस्तो हतार थिएन प्रशान्त महासागरलाई । ऊ शान्त थियो, निदाएको थियो र लमतन्न सुतेको थियो । नाङ्गै, उदाङ्गै र निर्वस्त्र ।

०००

आफू बसेकै होटलको लबीमा विहान ८ बजे भेट्ने उर्दी अघिल्लै दिनको थियो । जापानी कवि, चिनकी प्रोफेसर र म एउटै होटलका पाहुना भएर बसे पनि उनीहरू कसैको पनि कोठा नं. मलाई थाहा थिएन । थाहा भए पनि हामीहरूले एक आपसमा भेट्नु झण्डै संवादविहीन क्षण हुनसक्थ्यो । चिनीया प्रोफेसरलाई म कोरियाली भाषामा नमस्कार अभिवादन मात्र गर्न सक्थें भने जापानी कविसँग दुईचार कुराको आदानप्रदान पछि मौन रहनुभन्दा अरू उपाय हुन्थेन । कुनैपनि भाषाको चुरो नबुझिकन गफिन मजा पनि  आउँदैन । फेरि साहित्यको त कुरानै फरक छ । भाषामा राम्रो दखल नभै लन्ठसन्ठ कुरामा फस्नु पनि सुहाउने कुरा भएन ।

समय र ठाउँको पक्काभैसकेकाले ७ नोभेम्बर २००९ को  बिहान आठैबजे म होटलको लवीमा पुगे । लबी सुनसान र चकमन्न थियो । क्यास्टेल वीच होटलको लवीमा म मात्र लिङ्ठिङ्ग उभिएको थिए । नाकैअघाडि समुद्र सुतिरहेको थियो । मानौ उसलाई बिहानको सूर्योदयसँग कुनै पर्वाह छैन । लवीमा कोही नदेखिएकाले म निस्कन चाहें लवी बाहिर । तर फेरि सोचें निस्कनु सायद ठिक नहोला । त्यसैले एक्लै बसें सोफामै, बुसानको बिहानी समुद्रलाई हेरेर ।

मात्रै पाँच मिनटको अन्तरालमा सवै भटाभट् लबीमा देखापरे । म पहिल्यै लबीमा आइसेकको देखेर सबैले आ–आफ्नो घडी पो हेर्नथाले । मानौ मैले समयमा उनीहरूलाई उछिने र प्रायस्चित को भागिदार बनाएँ । तर कुरा त्यसो थिएन । मेरो लागि त्यो मात्र एउटा संयोग थियो ।

समुद्रबाट छुट्टिएर लगातार एकघण्टासम्म विभिन्न बाटा र रोमान्चकस्थलहरू पार गरिसकेपछि हामी सबैले एउटा ग्रामिण परिवेश बोकेको होटलमा ब्रेकफाष्ट खायौँ । सही समय थिएन यो ब्रेकफास्टका लागि । किनभने सात–साढेसातको हाराहारीमा कोरियालीहरूले ब्रेकफाष्ट निखारिसकेका हुन्छन् । हाम्रो ब्रेकफाष्ट भने कोरियन नभएर पाश्चात्य समयको थियो सायद । तर खानाका शैलीभने कोरियन परम्पराकै थिए । कोरियामा पाहुनाहरूलाई गर्ने सम्मानमा खाना र दृश्यावलोकन प्रमुख मानिन्छ । खाना पनि भरसक साविक शहर वा ठाउँबाट जति टाढा लगेर खुवाइन्छ त्यति नै धेरै मानमनितो गरेको ठानिन्छ । यस्ता धेरै मानमनितोबाट म आफू धेरै पटक लाभान्वित भएको छु । पहिलापहिला त अचम्मै लाग्थ्यो । आफू बसेकै सहरमा पाइने खानाको परिकारकालागि यति लामो यात्रा किन तय गर्नु परेकोहोला भनेर । बिस्तारै म पनि यात्राको लतमा  अरू विदेशीझैं थेत्तरो हुँदै गएपछि  सामान्यझै लाग्न थालेको थियो मलाई । एक ठाउँको होइन सबैठाउँका पाहुनालाई गरिने सत्कार उस्तै छ कोरियामा । मुख्य सहरभन्दा आसपासका साना सहरमा हुने जमघटमा अझ गाढा प्रेम झल्किन्छ आतिथ्यमा । कहिलेकाहीँ काठमाडौँले बाहिरकालाई खासै वास्ता नगरेझैँ सिओलले पनि बाहिरकालाई हत्तपत्त नगन्ने चलन कोरियामा पनि छ । त्यसो त साहित्यिक लविङ्, ग्रुपिजम् र खिसिट्युरीमा काठमाडौँ जस्तै छ कोरिया । दशौँपटकभन्दा बढी कोरियाली कविगोष्ठीमा भाग लिइसकेको भुक्तभोगीले यस्तो गुप्तकुरा किन लुकाउनु र ?

होटलभित्र भूँइमा बसेर परम्परागत कोरियान खाना खाइसकेपछि हामीले फेरि बाटो ततायौं । कोरियाली प्रोफेसर समालोचक गु, चिनीया प्रोफेसर शान, जापानी कवि किम ई पार्क र म सहितको समूहलाई हाँकेकी थिइन् कवयित्री रानले । उनको गाडी कुन गन्तव्यका लागि कुन दिशातिर बढिरहेको छ म पूर्णतया अनभिज्ञ थिए । बस् , मैले मात्र यदाकदा रानसँग साहित्य सम्बन्धी आफ्नै सम्वादहरू बोलेको थिएँ यात्रामा । तर ठाउँ वा गन्तव्यका लागि कुनै प्रश्नहरू सोधेको थिईंन मैले  । अरू सबैसँग भने मौनयात्रा जस्तैथियो यो । असहज भएकैले मैले कठिन मान्दै सोधें रानलाई –

“हैन तिम्रा खुट्टाले पाउदान थिचेकाथिच्दै छन् र चक्काहरूलाई गुडाएका गुडाएकै छन् । पुग्न चैं हामी कहाँ पुग्दैछौँ । कतै साहित्यिक अपहरण त होइन  नि यो ? ”

शब्दले नै सेकें मैले ।

मेरा भनाइलाई उनले जस्ताकोजस्तै अरु सबै साथीहरूलाई कोरियन भाषामा भनिन् । सबै एकैसाथ मज्जाले हासेँ । अनिमात्र प्रोफेसर गु खुले –

“हामी जुनबाटो आएका थियौँ त्यो बाटो नफर्केर धुमाउरो र गोलाकार बनाउदै पुरानै ठाउँतिर फर्किदैछौ  । फरक कतिभने पुरानै होटलमा चैं होइन, त्यसैको नजिक रहेको बुसान साँस्कृतिक हल हाम्रो लक्ष हो ।”

अनि मैले बुझिहालें कुरो । बिहानको यात्रा खानेकुरा सहितको गोलचक्कर यात्रा रहेछ । यद्यपि दृश्यावलोकन सहितको यात्रा समय कटाउनी मात्र थिएन । विकाश मनग्गे पसिसकेको देहातलाई पाहुनासामु पस्किनु पनि थियो । पस्किनसम्म पस्के उनीहरूले । देहात सुध्रिनु पर्यो भन्ने कस्तो अपत्यारिलो पाराले सुध्रिएर फुल्छ यात्राका साक्षी सबै संरचनाहरूले भनिरहेका थिए । यस्तो यात्राको पहिलोपटकको यात्रु म हुन्थें भने फूलबुट्टा भरेर भन्नसम्म भन्थें होला । तर जापान, कोरिया, मलेसिया, चिन र हङ्कङ्का दर्जनौ यात्राबाट गुज्रिसकेको थिएँ म । यस्ता सबै देखेर, भोगेर र महसुस गरेर म केवल कल्पिन्छु  मात्र । बाहिरी विकास को भारी बोकेर मेरो ब्रम्ह बोदो भैसकेको छ । म मात्र चाहान्छु , त्यो सब मेरोदेशमा कहिले पुराहोला । कहिले म समुन्नत र सुखी मुलुकको नागरिक भएर भीसाको सुन्य प्रतिशत झण्झट बेहोरेर संसार घुमौंला । कहिले मेरा देशका असंख्य नागरिकले गरिबीको छाप बोकेको र हेपिएको राहदानीको कोटीबाट पार पाउलान् ! के हाम्रो पुस्ताले मैले सोचेजस्तो दिन देख्न पाउलान् त ? “ मनमनै भाउन्न भएर आफ्नै देशतिरको सम्झनामा फर्किन चाहें । मनको लड्डु घिउसँग खाँदै के के पो सोच्न थालेछु म त ।

“हैन तिमी कताडुल्दै हो ? यत्रो बिशाल समुद्र तिम्रै आँखाअघाडि छचल्किरहँदा समेत अत्तोपत्तो नभएर कहाँ हराएका ? के तिमीलाई यो समुद्र मनपरेन ?”

हत्तेरिका ! म झसङ्ङ भएँ । सपना जस्तैगरी हराएछु  आफैंभित्र । आफ्नो देशभित्र ।

रानले फेरि थपिन –

“यो समुद्र हिजोकै समुद्रको पूर्वी भङ्गालो हो । हिजो राती हामी मूख्य सहरमा थियौँ । आजको यो भाग बुसानको देहातीभाग हो तर समुद्र हेर्न हिजोकोभन्दा धेरै मान्छेहरू यहा आउँछन् । यहाँको सामुद्रिक झाँकी र पानीको पहाडसँग ठोक्किने काईदा नै विचित्रको छ ।”

नभन्दै मैले निलाकार प्रसान्तमहासागरको मुहार हेरें । साँच्चै नै हिजोकोभन्दा फरकमुद्रामा महासागर मुस्कुराउँदै पहाडसँग जिस्किरहेको थियो ।

लन्चप्याक् कतिखेर हाम्रो गाडीमा पसेको थियो त्यसको सुईंकोसम्म मैले पाएको रहेनछु । गाडी रोकिने बित्तिकै रानले सबैलाई रेडिमेड एक–एक थान पोको हातहातमा पस्किएपछि पो म झस्कें थाहै नदिइ सुटुक्क निस्किएको पावरफूल पोकाको करामतसँग । अनि रानको व्यवस्थापकीय कलासँग । हाम्रो गाडीलाई छेउकै पार्किङ्गस्थलमा रोकेर समुद्रहेर्दै हामीसबैले उभिएरै  लन्च खायौँ र कार्यक्रम २ बजेबाट शूरु हुने भएकाले हामी पुन: हतारिदै लक्ष्यतिर गुडिहाल्यौँ ।      प्रोफेसर गु ले भने –

“कार्यक्रम सकिएपछि हामी फेरि सोझै यतैतिर आउनेछौँ र रातिको खाना पनि मित्रताको नाममा समुद्रलाई साक्षीराखेर खानेछौँ ।”

धितमरुन्जेल समुद्र हेर्न नपाइकन फर्किने भइयो भन्ने चिन्तालाई सञ्जिवनीको काम गर्‍यो प्रोफेसर गु को बोलीले । पुन: समुद्र फर्किने कुराले एकपटक मन गद्गद् भयो ।

संस्कृति भवनभित्र पसेपछि १ मिनटपनि ढिलो नगरी कार्यक्रम सुरुभयो ।

जापानी शासकहरूबाट सन् १९४२ मा जापानको जेलमा हत्या गरिएका कोरियाका प्रखर राष्ट्रवादीकवि योङ थोङ आउको सम्झनामा आयोजितकार्यक्रममा  जापानी र चिनीया पाहुनाहरूले २५/२५ मिटेट आफ्ना भनाइहरू राखे । आफ्ना भाषणमा उनीहरूले जापानी ज्यादतिको कडाशब्दमा भत्सर्ना गर्दै पुरानो इतिहासको पुनर्ताजगी सम्झना गरेका होलान् । दुवैजनाले योङ थोङ आउको मार्ग अनुसरण गर्ने प्रतिवद्धता जनाएका हुँदा हुन् । दुवैले बोलिसकेपछि छुटेका तालीको गड्गडाहटले मैले त्यही बुझें । जसमा रानले ताली बजाएको देखेर  मैले पनि ठोकेको थिएँ । पाहुनाको कार्यपत्रपछि प्रोफेसर गु ले सामान्य टिप्पणी गरेर सभा सकिएको थियो । दिवङ्गत् कवि आउका तस्वीरहरू बुसान सांस्कृतिक केन्द्रका हल वरिपरि टाँसिएका थिए ।

भोगवादी  शैली र प्रविधिको जापानी मूल्यलाई नयाँपुस्ताले केही हदसम्म मन पराए पनि पुरानोपुस्ताले अझैसम्म पनि जापानीहरूलाई पूर्णरुपमा स्वीकारी सकेको अवस्था छैन कोरियामा । पुरानो निरङ्कुसताको रिसराग अझै छ कोरियनहरूमा । हुनपनि त्यतिवेला जापानीहरूको  ज्यादतीको सिमा नै थिएन । चिन र कोरियालाई त गर्नसम्म गर्यो जापानले । मलाया, बर्मा र सिँगापुरसम्मलाई छोडेन जापानले । सन् १९४७ मा हिरोसिमा र नागासाकीलाई लिटल ब्वाइले खरानी नबनाएको हुन्थ्योभने एसियामा जापानको दादागिरी र रजाई पछिसम्म चल्ने निश्चित थियो । हिरोसिमा र नागासाकीको सङ्घारपछि मात्र जापानीहरूले मानवतालाई महत्व दिए । त्यसैले भनिन्छ हिरोसिमा र नागासाकीको संघारपछि शिष्टता सिक्यो जापानले । संवेदना  र मानवीय मूल्यमा संसारलाई पछार्यो  जापानले । नत्र कोरियामाथि आततायी कोर्रा लाउने जापान ,चिनका चेलीहरूलाई यौनदासी बनाउने जापान र बर्मामाथि बर्बरता बर्साउने जापानका करतुतहरू एसियाभरि कम खेदका विषय थिएनन् ।

अहिलेपनि कोरियाको सोउल संग्रहालयमा जापानी सैनिकहरूले कोरियाली नागरिकलाई दिएका चरम यातनाका झाँकी सचित्ररुपमा देख्नसकिन्छ । हेर्दै आङै् सिरिङ्ग हुने निकृष्ट यातनाका ती दृश्यहरूले मानवअधिकारको वकालत गर्ने जोसुकैलाई एकपटक सोच्न बाध्य पार्छ ।

बुसान सास्कृतिक  केन्द्रमा भएको स्मृतिसभा सकेर हामी साविककै समूह समुद्रको सफरमा सहीसलामत सरर्र सुल्किसकेका थियौँ । बिहानका जस्ता धेरै भङ्गालाहरू रहेछन् बुसानमा । कोरियामा  उधोग र बन्दरगाह पालेर तेसै बसेको होइनरहेछ बुसान सहर । पहाड पनि कति चिटिक्कका । मिलाएरै बनाए जस्ता । कोपेर ,खनेर र तासेर विकास फलाउन सजिला ।

भनिन्छ प्रसान्त महासागर संसारकै गहिरो  सागर हो । कति पानी होला यस सागरमा ? कसरी नुनिलो भएको होला पानी ? सागरमा नुन कताबाट आएको  होला ? बलशाली रावणका तीनवटा महत्वकांक्षी इच्छा मध्ये एउटा योजना यो पनि थियो रे । संसारभरिको सागरको नुनिलो पानीलाई गुलियो पानीमा बदल्ने । तर रामबाट हठात् मारिए पछि त्यो पुरा हुन पाएन । सायद रावण मारिनु पनि यस पृथ्वीकालागि एक अर्थमा नोक्सान सावित थियो । सागरको पानी यदि गुलियो भएको हुन्थ्यो भने उखुखेती गरिरहनु पर्ने आवश्यकता थिएन । चिनीको आकासिंदो मूल्य नुनको  भाउमा झर्ने थियो । यसो भएको  भए गुलिया मिठाइहरू सस्तिने थिए । तर होइन , मेरो मनले फेरि अर्कोतर्क उब्जायो । चिनी नभए पनि फरक पर्दैन तर नुन नभै हुँदैहुँदैन । समुद्रको पानी गुलियो भएको भए नुनको भाउ चिनीको भन्दा पनि महंगो हुनेथियो । किनभने चिनी बनाउन उखुकोखेती गर्न सकिन्थ्यो तर नुनकोखे  ती कसरी गर्ने ?  नुनको कच्चापदार्थ कुनै बोटविरुवामा हुनेकुरा कल्पना बाहिरको थियो । पहाडमा कहिँकतै भेटिने बिरेनुन र सिधेनुनले सारासंसार कसरी धान्ने ?

यस अर्थमा मैले आफ्नै पहाडसँग चित्त बुझाएँ । कमसेकम मेरो देशमा समुद्र नभए पनि जरुवा पानी  छ । बिरेनुन र सिधेनुनको खानी छ । किन चाहियो समुद्र मलाई  ? मेरो पहाडमा बग्ने कलकल खोला र झरनाको मुहानले कमसेकम म तिर्खा मेट्नसक्छु । जुन साागरबाट सम्भव हुँदैन ।

मेरो  पहाडको चौतारोमा उभिएको ढाकरलाई तोक्माको टेको लगाएर एक बान्की भारी बिसाउँदै म खुइय गर्न सक्छु जुन सागरमा असम्भव छ । मेरो हिमालयको बाटो भएर बहने अनन्त आयु बोकेको अर्ग्यानिक हावाको झोंकालाई कुन समुद्रले चुनौति दिनसक्छ ? के यार्सागुम्बा जस्तो औषधि सागरसँग छ ? मेरा यस्ता हजारौँ प्रश्नहरू छन् समुद्रलाई । जसको उत्तर न समुद्रसँग छ न त मेरा सहयात्रीहरूसँग नै ।

समुद्री तटबाट मैले अघाउन्जेलसम्म महासागरमा उर्लिरहेका असङ्ख्य प्रसान्ति छालहरू हेरँ, जसले वरपरको पहाडका फेदीलाई हिर्काईरहेका थिए । मानौं उनीहरूमा पनि पहाड हुने रहर छ । पहाड हुने इच्छा कसलाई हुँदैन । झन् सगरमाथा हुने चाहना कसलाई हुँदैन र ? तर को हुनसक्छ सगरमाथा ? कुन समुद्रले छुनसक्छ सगरमाथालाई ? कुन सागरले भेट्टाउन सक्छ सगरमाथालाई ?? कुन महासागरले चुम्नसक्छ सगरमाथालाई  ???

जतिसुकै आयतनमा अटाए पनि, जस्तोसुकै आकारमा उछल्किए पनि र जुनसुकै शक्तिशाली समायोजनमा समेटिए पनि सागरले सगरमाथालाई कहिल्यै भेट्न सक्दैन र सक्नेछैन । जति गम्किए पनि, जसरी लम्किए पनि र जति तन्किए पनि,समुद्रले सगरमाथालाई कहिल्यै  छुन सक्दैन र सक्ने छैन । यही सास्वत सत्य नै मेरो महान देशको सनातन, शालिन र सर्वमान्य सार हो ।

०००

लेखक परिचयः कवि तथा लेखक कृष्ण प्रसाईं भारतको मणिपुरमा जन्मेका हुन् । विसं २०३३ सालमा “बालकः शिर्षकको कविता भद्रपुर झापाको सूर्योदय साप्ताहिकमा प्रकाशित भएको थियो । यो नै उनको पहिलो प्रकाशित रचना थियो । उनका घाम नभएको वेला(विसं २०४८) कविता सङ्ग्रह तथा  घामको वर्षा (विसं २०६२), घामको विरासत (विसं २०७४), घामको आयु (विसं २०७९) जेन कविता सङ्ग्रहहरु प्रकाशित छन् । उनको प्रक्षेपण(विसं २०४८) कथा सङ्ग्रह तथा अनुभूतिका छालहरु (विसं २०६०) नियात्रा संङ्ग्रह प्रकाशित छन् । उनको घामको बर्षा पुस्तक २४ भाषामा अनुवाद भएको छ । हाल उनी अनामनगर काठमाडौंमा बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *