चार मुक्तक

गीत

ज्ञानुवाकर पौडेल

 

१)

धेरैले चित्त दुखाए’नि चुर चुर छैन है म

दुनियाँले ठाने जस्तो मजबूर छैन  है म

गतिलो क्यै गरी देखाउने आँट मेरो अझै

निरर्थक कुरामा अल्झिरहने झुर छैन है म !

२)

राम्रो गर्न खोज्नेको नहुने यहाँ कैले भलो किन ?

गतिलो क्यै गर्न खोजे अड्काइदिने -हलो किन ?

अतिक्रमित संस्कृतिको दुष्परिणाम नै त होला –

“हिंड जाऔं” नभनेर भन्ने गरेको “चलो” किन ?

३)

सृजनामै व्यस्त रहन्छन् जो सुस्ताउँदैन कहिल्यै

ख्याती उसको जिन्दगीमा अस्ताउँदैन कहिल्यै

आत्म-मुग्ध छन् जो अरूको ईर्ष्या र निन्दामै –

त्यस्तो प्रतिभा त अब हेर फस्टाउँदैन कहिल्यै !

४)

साहित्य जगतमा देखिन अरूभन्दा भिन्न सकेनौ तिमीले

रोजेर आफ्नो  अलग बाटो  खोइ  हिन्न सकेनौ तिमीले

आफ्नो यो सृजनात्मक विफलतामा पछुताएर’नि के फाइदा ?

परिवर्तनशील युगको तीव्र गतिलाई चिन्न सकेनौ तिमीले !

 

कवि परिचयः ज्ञानुवाकर पौडेल नेपाली गजललाई पुनर्जागरण गर्ने गजलकार हुन् । उनको पहिलो प्रकाशित रचना “कैक्टस” विसं २०३५ सालमा स्वतन्त्रता साहित्यिक पत्रिकामा प्रकाशित भएको थियो । उनका २ मुक्तक सङ्ग्रहहरु निर्वासित मन (विसं २०४८) तथा अनुदित मन (विसं २०७६) र दुई गजल सङ्ग्रहहरु खङडहर नयाँनयाँ (विसं २०४९) तथा जिन्दगी छैन अचेल जिन्दगीजस्तो (विसं २०६८) प्रकाशित छन् । उनी हाल ईमाडोल, ललितपुर बस्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *