२४ जुलाई २०२५, गुवाहाटी
कटन विश्वविद्यालयको भाषा, कला र संस्कृति विभाग तथा ‘इन्द्रेनी प्रकाशन, असम’को संयुक्त आयोजनामा २२ र २३ जुलाई २ दिन राष्ट्रिय तहको कविता समारोह तथा सम्पन्न भयो । समारोहमा देशका विभिन्न प्रान्तका प्राय: ८० जना नवीन-प्रवीण कविले कविता वाचन गरेका थिए । ती कवितामाथिन भारतका तिनजना विशिष्ट समालोचकले कविताका तिनवटा भिन्न विषयमा विमर्श राखेका थिए ।
यसै कार्यक्रममा ‘इन्द्रेनी प्रकाशन,असम’ले सम्पन्न गरेको कविता प्रतियोगिताको परिणाम घोषणा भयो जस अनुसार प्रथम पुरस्कार असमका हिरण्य पौडेल, दोस्रो सिक्किमका एन.बी. घिमिरे र तेस्रो असमकै नारायण शर्मा अधिकारीले प्राप्त गरे। पुरस्कृत कविहरु प्रथमलाई १० हजार, दोश्रालाई ८ हजार तथा तेश्रालाई ६ हजार रकमको पुरस्कार रहेको थियो ।
सो अवसरमा असमेली नेपाली समालोचना, खण्ड २, सम्पादक : रुद्र बराल र कृष्णनील कार्की, इन्द्रेनीका रङ ( सामुहिक कविता सँगालो, सम्पादकत्रय : अर्जुन निरौला, नैना अधिकारी र ज्योति होमागाईं), अमूर्त कारागार ( कविता सङ्ग्रह) नैना अधिकारी, अग्नि ( कविता सङ्ग्रह) तीर्थराज फएँल, विज्ञापन ( कथा सङ्ग्रह) खड्गबहादुर कौशिक, पृथिवीका सुस्केरा ( कथा सङ्ग्रह) डा. देवेन सापकोटा तथा वास्तुहारा ( लीलबहादुर क्षत्रीको बसाइँको बाङ्ला अनुवाद, बिलोक शर्मा) सात पुस्तक एकसाथ विमोचन भएका थिए ।
सो दुइदिने कार्यक्रममा हालै असमबाट साहित्य अकादमी युवा पुरस्कार जस्तो गरिमामय पुरस्कारले सम्मानित असमकी सशक्त कवि नैना अधिकारीलाई सम्मानित गरिएको थियो ।
सो कार्यक्रममा कटन कलेजका सह कुलपति, पद्मश्री सम्मान प्रापक वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्री, नव सापकोटा, दिल्लीराम खनाल, इन्दुप्रभा देवी, डा. खगेन शर्मा, ड० देवेन सापकोटा, सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिङ, साहित्यकार जय क्याक्टस, विलोक शर्मा, देविका मङ्ग्रान्ती, सङ्गम सुधा, साहित्यकार मोहन सुवेदी, वरिष्ठ साहित्यकार प्रवीण राई जुमेली, दीपक सुवेदी, रण काफ्ले, नेपाल पोएट आइडलकी बिजयी नीलम गुरुङ तथा भारतभरिका विभिन्न भेकका साहित्यकारको उपस्थिति रहेको थियो ।