परदेशबाट पत्र

कविता

प्रभा भट्टराई आचार्य

 

अघिल्ला सबै पत्र पायौ कि आमा ?

सिरानी भिजाई निदायौ कि आमा !

कि भक्कानियौ सास रोकेर लामो ?

मसी पग्लिँदा बाँध लायौ कि आमा !

 

जहाँ औषधी बन्दथ्यो स्निग्ध हात,

बिसन्चो हुँदा खट्दथ्यौ रात–रात !

म ता काखमा मस्त घुर्थेँ, र तिम्रो

झपक्कै नभै नेत्र हुन्थ्यो प्रभात !

 

तिमी स्वप्नमा मुस्कुराएर आयौ,

लिई काखमा फेरि लोरी सुनायौ !

निकै बर्षमा त्यो मिल्यो काख प्यारो,

म लठ्ठै थिएँ झट्ट आयौ बिलायौ !

 

सधैँ स्वप्नमा त्यै धरामा म हुन्छु,

र ब्युँझेर भक्कानिँदै नित्य रुन्छु !

तिमी छौ बिरामी अरे ! फेरि आमा,

म यस्तै नमीठा खबर् मात्र सुन्छु !

 

 

बिरामी पर्‍यौ ? सोध्छु, सञ्चै छु भन्छ्यौ !

मलाई खुशी पार्न पीडा सहन्छ्यौ !

तिमी जान्दिनौ राम्ररी झूट बोल्न,

लुकाई सबै आँशु हाँस्दै रहन्छ्यौ !

 

तिनै हात डोर्‍याउँथे तातिताती,

म डुल्थेँ बसेरै तिनै काँधमाथि !

तिमी लड्खडायौ अरे ! खै सहारा ?

भनी सोध्दछन् आज साथी–सँगाती !

 

गिजोल्छन् यहाँ संझनाका तरेली,

सधैँ प्रश्न गर्छन् भिजेका परेली,

यसै आत्तिँदै, दौडिएँ वा धपायो,

उसै बाध्यताले धकेली–धकेली ?

 

यहाँ चाड हुन्नन्, कुनै पर्व हुन्नन्,

“गरेँ काम” भन्ने कुनै गर्व हुन्नन् !

बडो शुष्क, रूखो छ पात्रो यहाँको,

जहाँ चाह, उल्लास, उत्सर्ग हुन्नन् ।

 

 

 

 

त्यहाँ झैँ न ता धेर आफन्त हुन्छन्,

मलामी न हुन्छन्, न ता जन्त हुन्छन् !

छ संसार बेग्लै, अनौठो यहाँको,

न ता शब्दका साथमा अर्थ हुन्छन् !

 

 

म फर्कन्छु आमा ! तिमी पर्खिराख,

छ संसारमै उच्च त्यो स्निग्ध काख !

त्यही साग–सिस्नो छ प्यारो मलाई,

म गर्नेछु संघर्ष, बन्दै चलाख !

 

कवि परिचयः कवि प्रभा भट्टराई आचार्य चुँदी रम्घा, तनहुँमा जन्मेकी हुन् । विसं २०३३ सालमा पहिलो रचना  “बालक” पत्रिकामा “नेपाल आमा” कविताको प्रकाशनसँगै उनको लेखन अघि बढेको हो । उनी मूलतः बाल साहित्यमा कलम चलाउँछिन् र डेड दर्जन बढी कृतिहरु प्रकाशित छन् । हाल उनी ताहाचल काठमाडौंमा बसोवास गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *