नगिता लेप्चा राई
यो उमेर त मात्र अनुभवको कहानी हो
हरेकको मनको दुःख र आँखाको पानी हो
बालापनको हरेक रङ्ग धेरै खास हुन्छ
बेरङ्ग त जवानी हुन्छ जबकि सबै साथ हुन्छ।।
ढल्दै गरेको रात जस्तै उमेर र
एक्लोपनमा छटपटाइ रहेको म
अझै केही गर्ने आशा धेरै लामो छ
तर समय धेरै थोरै छ ।
भरोसामा चल्दै थियो यो जिन्दगी
मलाई मार्ने तयारी थिँदै थियो
जब म त्यहाँ पुगेँ
मेरो दीर्घायुको आश्वासन उस्तै थियो ।
आफूले जवानीमा छानेको साथीले जब साथ छोडे
त्यही पीड़ामा सम्हालिन खोज्दा खोज्दै ६०+ले छुन्छ
न त मनको पीड़ा पोखाउने नै ठाउँ हुन्छ
परिवारलाई म घरको कुखुरा सागै बराबर हुन्छ ।
मनको बह पोख्ने साधन डायरीलाई बनाउँछु
त्यही डायरीबाट छानी छानी कविता सजाउँछु
सबैले मन्तव्य दिन्छन् कवितामाथि
परिवारलाई पढ़िदेऊ न भन्दा
परिवारहरू टाढ़िन्छन् मेरो कृतिदेखि
पढ़िदिँदैनन् उनीहरू
नपढ़िदिंदा चर्किन्छ मेरो छाती।
उमेरको त के छ र
त्यो त मात्र गनिने सङ्ख्या हो
बाँचुञ्जेल नै केही कृति दिएर जाऊँ है साथी हो ।
कवि परिचयः नगिता लेप्चा राई कविता र हास्यव्यङ्ग्य विधामा कलम चलाउँछिन् । सिलगडी भारतकी उनको काव्यकृति “मेरो बालापन”(२०२३) प्रकाशित छ र एक हास्य ब्यङ्ग्य निबन्ध पुस्तक प्रकाशनको तयारीमा छ ।