जगमान गुरुङ, गीता केशरी तथा मदनदास श्रेष्ठ अभिनन्दित हुँदै

समाचार

२ साउन, २०८०, काठमाडौं ।

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने निर्णय भएको छ ।

नेपाली संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान दिनु भएबापत वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, नेपाली साहित्यमा विशिष्ट योगदान गर्नु भएबापत वरिष्ठ आख्यानकार गीता केशरी र रेडियो नाटक तथा नेपाली कलाक्षेत्रमा योगदान गर्नु भएबापत वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरिन लागिएको हो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । अभिनन्दनका लागि श्रीओम श्रेष्ठ “रोदन” संयोजक तथा नरेन्द्रबहादुर श्रेष्ठ र नीता श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय सिफारिस समितिले ती नाम प्रस्ताव गरेको हो ।

वि. सं. २०२९ मा भानु पत्रिकाका सम्पादक भवानी घिमिरेको पहलमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतका प्रतिभाहरुको विभिन्न समयमा अभिनन्दन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *