जनकविकेशरी धर्मराज थापा दम्पत्तिको नामका पुरस्कारहरु समर्पण

मुख्य समाचार

१ साउन, २०८०, काठमाडौं

जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले आज काठमाडौंमा जनकविकेशरी धर्मराज थापाको पुण्यस्मृति एवम् जन्म-शताब्दि महोत्सव शुभारम्भ गर्यो । सो अवसरमा धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कार तथा धर्मराज-सावित्री थापा लोकगीत-सङ्गीत पुरस्कार समेत वितरण गरियो ।

यस वर्षको धर्मराज-सावित्री थापा लोकसंस्कृति-साहित्य पुरस्कार इतिहासविद् तेजेश्वर ग्वङ्गलाई समर्पण गरियो । त्यस्तै लोकगीत-सङ्गीत पुरस्कार श्री बमबहादुर कार्की तथा शिवा आले कार्कीलाई संयुक्त रूपमा समर्पण गरियो । जनकविकेशरी धर्मराज थापाका जेष्ठ सुपुत्र  मदनराज थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि इतिहासविद् चित्तरञ्जन नेपालीले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा जनकविकेशरी धर्मराज थापाको व्यक्तित्व तथा कृतिका विविध पाटाका बारेमा बारेमा विद्वान् समालोचक अभि सुवेदी, सूर्यबहादुर सेन ओली , चूडामणि बन्धु तथा जयराज आचार्यले आफ्ना धारणा राखेका थिए । धर्मराज-सावित्री थापा लोकसंस्कृति-साहित्य पुरस्कार प्राप्त प्रतिभा इतिहासविद् तेजेश्वर ग्वङ्ग  बारेमा जितेन्द्र रसिकले प्रकाश पारेका थिए । त्यसैगरी धर्मराज-सावित्री थापा लोक संस्कृति साहित्य पुरस्कारले पुरस्कृत शिवा आले तथा बमवहादुर कार्कीका बारेमा प्रेमराजा महतले बोलेका थिए ।

सोही समारोहमा जनकवि केशरी धर्मराज थापाले आफ्नो जीवनकालमा सम्पादन प्रकाशन शुरु गरेको डाँफेचरी पत्रिकाको ताजा अङ्क प्रमुख अतिथिबाट लोकार्पण भएको थियो ।
(फोटो सौजन्यः सुभाषचन्द्र पौड्याल, काठमाडौं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *