१ साउन २०८०, काठमाडौं
साहित्यकार तथा पत्रकार पेशल आचार्यको ब्रेन ट्यूमर तथा क्यान्सरको कारण उपचारको सिलसिलामा मेडिसिटी अस्पतालमा १ साउनका दिन अवसान भएको छ । शुरुमा अन्नपूर्ण न्यूरोमा ४ पल्टसम्म शल्यकृया गरेपछि पनि सुधार नभएपछि २८ असारमा मेडिसिटी अस्पतालमा लगिएको थियो ।
स्व. पेशल आचार्यको जन्म विसं २०२४ साल भदौ २२ गते हरितालिकाका दिन मोरङ जिल्लाको बरगाछीमा भएको थियो ।
उनले कक्षा ८ मै छँदा विसं २०३६ सालमा “गरिब” शिर्षकको कविता रचना गरेका थिए । उनको पहिलो प्रकाशित रचना “दुई मुक्तक” टुटुल्को हास्यब्यङ्ग्य पत्रिकामा विसं २०४२ सालमा प्रकाशित भएको थियो ।
उनका प्रकाशित कृतिहरुमा कमिलाको ताँती(२०६०) वालकविता सङ्ग्रह, बिद्यालय स्तरिय निवन्धहरु(२०६५) , किस्ताको कम्प्यूटर(२०६६) बाल निबन्ध , जून आमा जून(२०६९) वाल कविता, मनको दैलो खोल(२०६९) वाल कविता, साहित्यकार पवन चामलिङसँग १०१ प्रश्न (२०६९) अन्तर्वार्ता, पृथक अभियानमा र साहित्यकार अशोक सुवेदी(२०७२) फूटकर समालोचना, आधारभूत निबन्ध(२०७५) वाल निबन्ध सङ्ग्रह, माध्यमिक निबन्ध(२०७५) किशोर निबन्ध सङ्ग्रह, ब्याक बेञ्चर (२०७५) आत्मपरक निवन्ध सङ्ग्रह, पावर, मनि र सेक्स(२०७७) लेख सङ्ग्रह प्रकाशित रहेका छन् ।
तीन दशकभन्दा बढी पत्रकारितामा संलग्न उनी दर्जनौं मिडियामा संलग्न थिए । उनका केही रचना विद्यालयस्तरका पाठ्यक्रममा समेत रहेका छन् ।
पेशाले उनी शिक्षक थिए ।