खेम रिजाल, सिन्सिन्याटी ओहायो
उदाङ्गो भई आफैंमा एउटा युग फुलाई दियौ
उभिएर प्रगति पथमा समयले गति लियौ
स्नेह र ममता बोकी ल्यायौ गर्यौ ठुलो पुण्य
फलाई दियौ बृक्षहरु रोपेर हरियाली धन्य ।
मुस्कुराउँछ प्रभात उचाली उच्च हिमाली शिर
गाउँछे कोइली विरहका भाका हटाउँदै पिर
छर्दै उज्यालो उमङ्गको बग्दछन् नदिका रेखी
हर्षित हुन्छ मन, स्वाधीनता नेपाली माटो देखी ।
पसिना फल्ने उर्वर भूमि छ शान्त,सुरम्य फाँट
मुछिएको छ गोर्खाली रगत, पुर्खाले दिएको आँट
चन्द्र र सूर्य फरफराउँछन् बोकेर विश्व मानचित्र
स्वर्गद्वारी नै लाग्छ घुमेर हेर, के छैन र भित्र ।
आमाले दिएकी छन् अन्न पानी पेट भर्ने गाँस
बाबाले दिएका छन् औजार अगाडि बढ्ने सास
उत्सव लाग्छ प्रिय जीवन यी दुवै पुरुष नारी
भाग्यमानी भई जो जन्मिन्छ प्रत्यक्ष स्वर्ग पारी ।
कवि परिचयः कवि खेम रिजाल ताँसिदिन दागापेला भुटानमा जन्मेका हुन् र हाल सिन्सिनाटी ओहायो अमेरिकामा वसोवास गर्छन् । उनी विशेषत गीत र कविता विधामा सकृय छन् । उनका किनारको छाल(२०७०) गजल सङ्ग्रह, दूमिल जुन(२०७४) कविता सङ्ग्रह, विचारहरुको बिस्कुन(२०७६) मुक्तक सङ्ग्रह, उर्जा(२०७९) गीति सङ्ग्रह प्रकाशित छन् । उनका गीति एल्बमहरु पनि प्रकाशित छन् ।