डा ऋषि बस्ताकोटी
यातना शिविरमा
प्रतिकार गर्दागर्दै
थाकेर थुचुक्क बस्नुअघिको
आस्थाको वन्दीलाई जस्तै
मलाई अझै प्रहारहरू स्वीकार छन् ,
अन्तिम जित भेट्नुअघिसम्मका
एक एक हारहरू स्वीकार छन् ।
जिन्दगीमा
प्रहार आउँछन्
र त तिनले सतीसाल झैँ उभिन सिकाउँछन्,
हारहरूले हान्छन्
र त तिनले जिन्दगीमा जित्न सिकाउँछन्,
एकपछि अर्को जंघार आउँछन्
र त जुक्तिले ती जंघार तर्न सिकाउँछन् ।
बाधाहरूले घरीघरी
आधा-आधा त पार्छन् नै यो मनलाई
तर पनि तिनले
आखिर केही न केही त गर्न सिकाउँछन् ।
कवि परिचयः गोरखाको आँपपिपलमा जन्मेका ऋषि बस्ताकोटी हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना स्थित केरी सहरमा बस्छन् । पचासको दशकदेखि नेपाली साहित्य लेखनमा सक्रिय बस्ताकोटी मूलतः कविता, गजल, मुक्तक, गीत र निबन्ध लेख्न रुचि राख्छन् । उनका ज्वालाका रापहरू ( गजल सङ्ग्रह-२०५४) र विसंगत बस्ती (मुक्तक सङ्ग्रह -२०७९) प्रकाशित छन्।