डा. दामोदर पुडासैनी किशोर
शान्त आँखाहरू
बिस्कुनमा छन्
म मौन आँखाहरू खोज्न
आकाश यात्रामा हिडेको छु
आवाज़ बर्षाउँदै उचाई लिए पनि
कहिल्यै बिर्सनेछैन
मलाई उभ्याउने हातहरूलाई
सत्ताको मातमा कर्कस आवाज़ निकाल्नेहरू
आवाज़हीन मान्छेहरूको दवाउँदैछन् आवाज़
म मौनता तोडेर
सँगीतमय आवाज र लामो समयपछिको सुस्केरा निकालिरहेछु
संसार भनेकै
आकृति हो
हलचल हो
म मान्छेभित्रका मौन यन्त्रणा बिरूध्द
शान्त जलप्रपात स्थापित गरिरहेछु
आँखाहरूमा सुनसान तलाउ छन्
मुटुहरूमा अटल चित्रहरू छन्
प्रतीक्षामा हिउँझैँ जमेकाछन् पाइला
मृतोन्मुख शरीरमा फिरफिर चलिरहेझैँछ प्राण
तिनीहरू सबैलाई फेरेर
नयाँ परिभाषामा बदल्नखोज्दैछु म संसारलाई
आँखाका झरना
विश्वासका जुलुस
आशा र चट्याँङका पत्रहरू
जीवन तानिरहने सुरूङ
बाडुलीका इन्द्रेनी
निदाउन तम्सिरहेको बस्ती
सबैमा एक्कासी ब्युँझियो जलज्वाला
अग्नीज्वाला भन्दा कडा बिष्फोट छ
जलबिष्फोटका बूँदहरूको
सपनाले कोही ब्युँझदैन
सपना ब्युँझाउन पनि ब्युँझनैपर्छ
म परम्परा बिरूध्दको बेगमा ब्युँझिरहेछु
मलाई
आँखा चाहिएको छ
नयाँ आँखा
म पहाड बनाउन उठिरहेछु
उठिरहेछु स्तम्भ निर्माण गर्न
पहाड र स्तम्भमा
मान्छेको पहिलो स्वर उभ्याउन खोजिरहेछु
लेखक परिचयः दामोदर पुडासैनी किशोर विविध बिधाका सकृय लेखक हुन् । उनी पछिल्लो समय नियात्रा विधामा बढी केन्द्रित भएका छन् । उनका स्वदेश तथा विदेश भ्रमणका कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो नियात्ता कृति “डोल्पो ओ डोल्पो” साझा प्रकाशनबाट प्रकाशित छ ।