संगीत तथा नाट्य राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ शान्तिराम राईलाई

मुख्य समाचार

२० असार २०८०, काठमाडौं,

नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार संगीतकार तथा गायक शान्तिराम राईलाई विसं २०७९ को संगीत तथा नाट्य तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ ।

विसं २०२७ भदौ २३ गते दिक्तेल-७, सोल्मा, खोटाङमा जन्मेका शान्तिराम राईको पहिलो गायन थियो “कसम नखाउ टाढा हुने..” बोलको गीत जुन उनले विसं २०४७ सालमा रेडियो नेपालमा गाएका थिए ।

उनका माई फफ्टिन ऐयर (म्युजिकल बायोग्राफी २०६१), संगीत वाद्यवादन(२०६२), मेरो सङ्गीत कृतिहरु छन् र पाठ्यक्रममा समेत छन् । उनका आयाम, मायाजाल, परदेशी, मिनी वसैमा, सोमबारे हाटैमा, मान्छेका गीतहरु लगायत दर्जनौं लोक गायन, आधुनिक सङ्गीत, पप एल्बमहरु समेत प्रकाशित छन् ।

त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कार- २०७९, संस्कृति तर्फबाट कोशी प्रदेश भोजपुरका शेखर चापागाईं, मधेश प्रदेश धनुषाकाका सुनिल मल्लिक, वागमति प्रदेश काठमाडौंका भुवनदास श्रेष्ठ, गण्डकी प्रदेश बाग्लुङका खीमबहादुर गौतम(आशिष अविरल), लुम्विनी प्रदेश प्यूठानका जोगेन्द्र केसी, कर्णाली प्रदेश कालिकोटका फूलमाया दर्जी(प्रगति हिङमाङ) तथा सुदूर पश्चिम प्रदेश अछामका डम्बरबहादुर रोकायालाई पुरस्कृत गरिने भएको छ ।

उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply