बन्धक

कविता

डा.रेखा यादव “निर्झर”

 

कहिले सारीमा अल्झिएँ

कहिले चुराको छनछनमा हराएँ

सिंदूरको नाममा आफैलाई बिर्सिएँ।

कहिले माइती त कहिले ससुराली

कुन घर हो मेरो  ?

सुन्दरताको बर्णनले मलाई

कुरूप बनायो ।

हुँ म को ?

मेरो पहिचान के ?

जन्म घर माइती बने

कर्म घर ससुराली ।

जन्मदै पराइ सम्पत्ति भएँ

को हुँ म ? के हो पहिचान मेरो ?

भन्छन् सबै  घुम्टो नहटाउ

परिवारको नाक काटिनेछ

नम्र वोल सुस्तरी बोल

नत्र लाजहीन कहलाइन्छ ।

न त आकाश मेरो

न त पृथ्वी

तर चन्द्रमा भनिन्छ ।

न त अधिकार छ सूर्यको किरणमा

न त शीतलतामा

चम्किलो कपड़ा र  गहनामा

नबोल्ने  मुर्ति बनाइयो

सन्तान उत्पादन गर्ने मेसिन बनाइयो

आमाको नाम दिलाइयो

वंशलाई निरन्तरता दिनु मेरो कर्तव्य हो रे

हो

आँसुमा पनि मेरो अधिकार छैन

जस्तो कि म मानव होइन केवल एक वस्तु ।

किन मलाई बन्धक बनाइयो

कहिले सारीमा अल्झिएँ

कहिले चुराको छनछनमा हराएँ

सिंदूरको नाममा आफैलाई बिर्सिएर

आफैलाई बन्धक बनाइयो ।

 

कवि परिचयः डा. रेखा यादव ‘निर्झर’ विराटनगरमा जन्मिएकी हुन् । उनको कलम गजल, मुक्तक, कविता, लघु उपन्यासमा चलेको छ । उनी नेपाली, हिन्दी, मैथिली, अङ्ग्रेजीमा लेख्छिन् । उनका नेपाली भाषामा आत्मजा उपन्यास, हिन्दीमा तुम विन, धीरे से प्रकाशित छ ।’ सुस्तरी’ उनको नेपाली कविता सङ्ग्रह हो । हाल उनी  ललीतपुर बस्छिन् र प्रतिनिधी सभाको सदस्य छिन् ।

Leave a Reply