नारायण अधिकारी, रिचमण्ड भर्जिनिया, अमेरिका
गार्गी भारतवर्षकी एक विशिष्ट विदुषी थिइन् । उनको जन्म र पितामाताको बारेमा खास तथ्य नभए पनि उनको नाम वाचक्नवी थियो भन्ने पनि मानिएको छ । गार्गीसँग जोडिएको यो दोस्रो नाम वाचक्नवीका बारेमा विरोधाभाष देखिन्छ । उनी वाचनकलामा निपुण भएकीले वाचक्नवी भनिएको हो वा उनका पिताको थर वाचक्नवी भएकोले वाचक्नवी भएको हो ? दुवै भनाइ उत्तिकै प्रसिद्ध छन् । एउटा अपुस्ट तथ्यका अनुसार गार्गी कुनै वचक्नु ऋषिकी पत्नी भएकोले उनको नाम वाचक्नवी रहयो । वचक्नु ऋषिको नाम कुनै शास्त्रमा नभेटिएकोले यो तथ्य अपुस्ट भनिएको हो । उनी गर्ग गोत्रमा जन्मिएकोले उनको नाम गार्गी रहन गएको हो । यी तथ्यहरूलाई जोड्दा के देखिन्छ भने उनी वाचनकलामा निपुण भएकीले ‘वाचक्नवी’ र गर्ग गोत्रमा जन्मिएकीले ‘गार्गी’ भइन् ।
गार्गीले वैदिक युगमा पुरुषहरूमात्र शास्त्रार्थ गर्न सक्ने र ब्रह्मज्ञानी हुन्छन् भन्ने भनाइलाई गलत सावित गरिदिइन् । उनको जन्म र परिवार आदिको यकिन विवरण नपाइएको र महाभारत एवम् उपनिषद्मा सीमित वर्णन भएकोले कसैले नारीहरूले पनि शास्त्रार्थ गर्न र ब्रह्मज्ञान प्राप्त गर्न सक्षम हुन्छन् भनी गार्गीलाई काल्पनिक पात्रको रूपमा उत्पत्ति गरिएको हो कि ! पनि भन्न मिल्छ ।
गार्गीको प्रशंसा उनको शास्त्रसम्बन्धी ज्ञान र ततकालीन समयका प्रख्यात शास्त्रविज्ञ ब्रह्मज्ञानी याज्ञवल्क्यलाई शास्त्रसम्बन्धी प्रश्न गरी आफूलाई अब्बल प्रमाणित गरेकी हुनाले भएको हो । यहाँ जान्नुपर्ने कुरा के छ भने जसरी महाभारतमा श्रीकृष्ण र अर्जुनका बीचको प्रश्नोत्तरले गीताको जन्म भयो, त्यसैगरी याज्ञवल्क्य र गार्गी बीचको प्रश्नोत्तरले बृहदारण्यक उपनिषद्मा ऋचाको निर्माण भयो । उपनिषद् वेदको महत्त्वपूर्ण हिस्सा हो । वैदिक साहित्यमा जसरी सूर्या सावित्रीको प्रमुखता पाइन्छ, ब्राह्मण र उपनिषद साहित्यमा गार्गीको प्रमुख भूमिका पाइन्छ ।
त्रेतायुगको अन्तकालतिर विदुषी गार्गीको समय थियो भन्ने देखिन्छ । जुनबेला वैदिक मन्त्र रचनाको काल सकिएको थियो र ब्रह्मज्ञानमाथि विचार विमर्श हुँदै थियो, त्यस समयमा गार्गी ब्रह्मज्ञानमाथि प्रश्न गर्ने र बहस गर्न सामर्थ्य राख्ने महिलाको रूपमा उदय भइसकेकी थिइन् । वैदिक कालमा पुरुषहरूले मात्र शास्त्रार्थ गर्न सक्छन् भन्ने भनाइ र वैदिक साहित्यमा पुरुषहरूको एकछत्र नेतृत्वलाई गार्गीले चुनौती दिई याज्ञवल्क्य र सम्पूर्ण ब्राह्मण समुदायका अगाडि आफूलाई प्रमाणित गरिन् । त्यसबेला ब्रह्मज्ञान बहसको नेतृत्व त्यही समयका ब्रह्मज्ञानी याज्ञवल्क्यले गरेका थिए । याज्ञवल्क्यको पहिलो ब्रह्मज्ञानसम्बन्धी बहस र गार्गीसँगको प्रश्नोत्तर नेपालको मिथिला राज्य अन्तर्गत राजा महावशी जनकको दरवारमा भएको थियो । कथा यसरी अगाडि बढ्दछ ।
एकपटक मिथिलाका राजा जनकले “बहुदक्षिणा” यज्ञ गराउने निधो गरे । यस यज्ञमा कुरु, पाञ्चाल आदि देशहरुबाट ब्राह्मणहरु आएका थिए । यज्ञमा राजा जनकले ब्राह्मणहरुलाई प्रशस्त दान दिए । यज्ञको अन्तमा राजा जनकले सर्वश्रेष्ठ ब्रह्मबेत्ता को छ ? भनी जान्ने विचार गरी ब्रह्मवेत्ताहरुको भेला गराई ब्रह्मज्ञानसम्बन्धी शास्त्रार्थ कार्यक्रम आयोजना गरे । उनको सभामा एक से एक ब्रह्मज्ञानी, ब्राह्मणहरु शास्त्रार्थका लागि तयार थिए । राजा जनकले शास्त्रार्थमा जसले ब्रह्मज्ञानी ब्रह्मनिष्ठ सावित गर्छ, उसले दुवै सिङमा दश दश वटा सुनका सिक्का जोडिएका एक हजार गाई पाउँछ भनी घोषणा गरे ।
सभामा उपस्थित कसैले पनि ती गाईहरु लैजाने साहस गर्न सकेन । यसपछि महर्षि याज्ञवल्क्यले उठेर आफ्ना भक्त र सेवकलाई आज्ञा दिए, हे प्रियदर्शन, सामस्रवा ! गाई लिएर जाऊ ।
ऋत्विज अश्वलले सोधे, “हे याज्ञवल्क्य ! तिमी नै ब्रह्मनिष्ठ हो ?”
याज्ञवल्क्यले भने, “नमो: वयम् ब्रह्मनिष्ठा, कुर्मो गोकामा यव वयम स्मह । अर्थात् जो ब्रह्मनिष्ठ छ, उसलाई मेरो नमस्कार छ । मलाई त गाईहरु लैजाने लोभ जाग्यो ।”
तब ब्रह्मनिष्ठ अश्वलले अहंकारस्वरूप एकपछि अर्को गर्दै अप्ठ्यारा प्रश्नहरु सोधे । याज्ञवल्क्यले ती सबै प्रश्नहरुको उत्तर दिँदै गए । ऋतभागका छोरा आर्तभाग, लैयपुत्र भुज्यु, चक्रपुत्र उसस्त चक्रायण, कुसितक पुत्र कहोल, कौशिकेय, आरुणि, वाचक्नुकी छोरी गार्गी र अरुणका छोरा उद्दालक आदि थुप्रैले जटिल प्रश्नहरु सोधे । याज्ञवल्क्यले सबै प्रश्नहरुको उत्तर दिए । सबै ब्राह्मणहरुसँग अब सोध्न कुनै प्रश्नहरु बाँकी रहेनन् । ब्राह्मण समाज परास्त भयो ।
यही बेला गार्गी उठिन् र सम्पूर्ण ब्राह्मण समुदायलाई सम्बोधन गर्दै भनिन्, “हे ब्राह्मण समुदाय, मलाई याज्ञवल्क्यसँग प्रश्न सोध्नु छ । मलाई अनुमति दिनुहोस् ।” परास्त ब्राह्मण समाजले गार्गीलाई प्रश्न सोध्ने अनुमति दिए । उता गार्गीले सोधेका प्रश्नहरुबाट याज्ञवल्क्य परास्त हुनुपरेको थियो ।
आधुनिक भाषामा भन्ने हो भने गार्गी पौराणिक समयकी प्रथम पत्रकार थिइन् । अर्को शब्दमा गार्गी महिला द्रष्टा थिइन् । उनलाई उच्च बौध्दिक र आध्यात्मिक ज्ञानका लागि अनुकरणीय मानिन्छ ।
गार्गाीले याज्ञवल्क्यलाई पहिलो चरणमा मूलरूपमा दुईवटा प्रश्न सोधिन् ।
पहिलो प्रश्न थियो– “हे याज्ञवल्क्य ! पानीको बारेमा भनिएको छ, हरेक वस्तु पानीमा घुल्छन् । अब भन्नुहोस्, पानी केमा गएर घुल्छ ?”
याज्ञवल्क्यले सहजै उत्तर दिए, “पानी अन्तमा हावामा गएर घुल्दछ ।”
गार्गी– “हे याज्ञवल्क्य ! त्यसपछि हावा केमा गएर मिल्दछ ?”
याज्ञवल्क्य– “गार्गी, हावा अन्तरिक्षमा गएर मिल्दछ ।”
गार्गीले पुन: प्रश्न गरिन्, “अनि अन्तरिक्ष केमा गएर मिल्दछ ?”
याज्ञवल्क्यले पनि जवाफ दिँदै गए तर याज्ञवल्क्यले दिएको जवाफलाई नै गार्गीले प्रश्नमा रूपान्तरित गरी सोध्न थालिन् । यसरी प्रश्नोत्तर चल्दै जाँदा गन्धर्व लोक, आदित्य लोक, चन्द्रलोक, नक्षत्र लोक, देवलोक, इन्द्रलोक, प्रजापति लोक र अन्तमा ब्रह्मा लोकसम्म प्रश्नोत्तर चलिरहयो ।
यहाँ पनि गार्गीले याज्ञवल्क्यलाई प्रश्न गरिन्, “हे याज्ञवल्क्य, यो ब्रह्मलोक कहाँ गएर मिल्दछ ?”
यसपछि याज्ञवल्क्यको धैर्यता टुट्यो । उनले भने– “गार्गी, यति धेरै प्रश्नहरू नसोध । यस्ता प्रश्नहरूले तिम्रो दिमाग नखलबलियोस् ।“
यसो भन्नुको अर्थ याज्ञवल्क्य गार्गीसँग पराजिए भए ।
यसलाई अर्को अर्थमा पनि बुझ्न सकिन्छ । सुरुमा सबै ब्राह्मणहरुलाई परास्त गरेका याज्ञवल्क्यले गार्गीलाई सुरुमा सही रूपमा चिन्न सकेनन् । उनलाई एक सामान्य नारीको रूपमा लिए । गार्गीले सोधेको प्रश्नको गहिराइलाई हलुका रुपमा लिए । तसर्थ, याज्ञवल्क्यले प्रश्नमाथि प्रश्नको सामना गर्नुपरेको र गार्गीलाई बीचमै रोक्नुपरेको थियो ।
गार्गी एक कुशल प्रश्नकर्ता, ब्रह्मज्ञानी र असल वक्ता थिइन् । याज्ञवल्क्य रिसाएपछि उनी चुप लागिन् । विद्वानहरूले कहाँ बोल्नुपर्छ र कहाँ चुप लाग्नुपर्छ भन्ने कुरा गार्गीलाई राम्रोसँग थाहा थियो । गार्गीको प्रश्नको आशय सृष्टिको रहस्यको बारेमा थियो तर याज्ञवल्क्यले प्रश्नको गम्भीरतालाई नबुझेको हुँदा त्यसका खालको सम्वाद भएको बुझिन्छ । गार्गी तत्क्षण मौन बसिन् ।
बाँकी अरु ब्राह्मणहरुले याज्ञवल्क्यलाई प्रश्न सोधे । याज्ञवल्क्यले सबै प्रश्नको सहज उत्तर दिए ।
केही समयपछि दोस्रो चरणमा गार्गी फेरि याज्ञवल्क्यलाई प्रश्न सोध्न तयार भइन् । उनले अगाडि आएर यो घोषणा गरिन्, “हे ब्राह्मण समुदाय ! म याज्ञवल्क्यलाई पुन: दुई प्रश्नहरु सोध्नेछु । यदि यिनले मेरा प्रश्नहरुको जवाफ दिएमा यिनलाई कसैले हराउन सक्ने छैन । उनी ब्रह्मनिष्ठ ब्रह्मज्ञानी कहलाउनेछन् ।”
उनी याज्ञवल्क्यतिर फर्किन् । याज्ञवल्क्यले पनि गार्गीलाई प्रश्न सोध्ने अनुमति दिए । गार्गीले भूमिका बाँध्दै अगाडि भनिन्, “हे याज्ञवल्क्य ! विदेहका राजपुत्रले आफ्नो धनुमा डोरी चढाई लक्ष्यभेदन गर्न सक्ने दुइटा पखेटा भएका दुई वाँण धनुमा चढाएर ताके जस्तै गरी म तपाईंलाई दुई वटा वाणरुपि प्रश्न सोध्न चाहन्छु ।”
महर्षि याज्ञवल्क्यले भने, “हे गार्गी, निशंकोच प्रश्न सोध ।”
गार्गीले सोधिन, “हे याज्ञवल्क्य, यो ब्रह्माण्डदेखि माथि र तल जे छ, स्वर्ग र पृथ्वीको बीचमा जे छ तथा जो बितेर गइसक्यो, जो अहिले छ र जो अब हुन बाँकी छ अर्थात् जो भूत वर्तमान र भविष्य रुपमा छ, त्यो सूत्रात्मा केमा समाहित छ ?
(स्पस्टीकरण: यो प्रश्नको सामान्य रुप के हो भने शून्य (स्पेस) र समयभन्दा बाहिर पनि केही छ वा छैन ? छ भने त्यो के हो ?)
महर्षि याज्ञवल्क्यले उत्तर दिए, “हे गार्गी ! जो ब्रह्माण्डभन्दा माथि र तल छ, जो स्वर्ग र पृथ्वीको बीचमा छ तथा जो भूत वर्तमान र भविष्यका रुपमा छ, यसबारे शास्त्रवेत्ताहरु भन्दछन्, “त्यो अव्याकृत जगतरुप सूत्र, अन्तर्यामी रुप आकाशमा ओतप्रोत छ ।”
(अव्याकृत भन्नाले प्रचलित व्याकरणका नियमबाट असिद्ध अथवा सिद्ध गर्न नसकिने, अव्युत्पादित वा असाधु । वृहत् नेपाली शब्दकोश, प्रज्ञा एकेडेमी)
गार्गीले पुन प्रश्न राखिन, “हे याज्ञवल्क्य ! तपाईंले मेरो प्रश्नको स्पस्ट उत्तर दिनुभएकोमा हार्दिक धन्यवाद । अब दोस्रो प्रश्न सोध्न चाहन्छु ।” याज्ञवल्क्यले अनुमति दिएपछि गार्गीले सोधिन्, “त्यो अव्याकृत, जगत रुप सूत्रात्मा तीनै कालस्वरुप अन्तर्यामी रुप अकाशमा ओतप्रोत छन् । उसो भए त्यो आकाश केमा समाहित छ, त्यो कसको अधीनमा चल्दछ ?”
महर्षि याज्ञावल्क्यले जवाफ दिए, “एतस्य वा अक्षरस्य प्रशासने, गार्गी ।” अर्थात् कुनै यस्तो अक्षर (क्षय नहुने वा अक्षय) वा अविनाशी तत्त्व छ जसमा सबै ओतप्रोत छन् । यो अन्तर्यामी रुप, अव्याकृतको अधिष्ठान (बस्ने ठाउँ) त्यही अविनाशी अक्षर तत्त्व हो ।”
गार्गीले अगाडि सोधिन्, “हे याज्ञवल्क्य ! यस अविनाशी सूत्रब्रह्म अक्षरका बारे कस्तो वर्णन छ ?”
याज्ञवल्क्य भन्छन्, “यस अविनाशी सूत्रब्रह्म अक्षरको वर्णन ब्रह्मवेत्ता गण यसरी गर्छन्– यो स्थूलभन्दा भिन्न, सूक्ष्मभन्दा भिन्न, ह्रश्वभन्दा भिन्न, दीर्घभन्दा भिन्न, रङभन्दा भिन्न, स्नेहभन्दा भिन्न, प्रकाशभन्दा भिन्न छ । यो अन्धकार, वायु र आकाशभन्दा पनि भिन्न छ । यो अविनाशी अक्षर तत्त्व सँगरहित, रसरहित, गन्धरहित, चच्छुरहित, सूत्ररहित, वस्त्ररहित, वाणीरहित, मनरहित, तेजरहित, प्राणरहित, मुखरहित, परिमाणरहित, छिद्ररहित छ । हे गार्गी ! यसैगरी, यो अविनाशी अक्षर तत्त्व देश, काल र वस्तु आदि परिच्छेदबाट पनि पर छ, सर्वव्यापी र अपरिच्छिन्न छ । यो निराहारी छ । यसले केही खाँदैन, यसलाई कसैले खान सक्दैन । यो सबै प्रकारका विशेषणरहित एक अद्वितीय छ ।”
यस प्रकार सम्पूर्ण विशेषणहरुलाई ब्रह्ममा निषेध गरेर महर्षि यात्रवल्क्यले अगाडि भने, “हे गार्गी ! यस प्रकार यही अक्षर तत्त्वका आज्ञामा रहेर सूर्य र चन्द्रमा नियमित रुपमा चल्दछन् । यस प्रसिद्ध अक्षरको आज्ञाले नै स्वर्ग र पृथ्वी पनि हातमा राखेको ढुंगा जस्तै मर्यादामा रहेका छन् । यस प्रसिद्ध अक्षरको आज्ञामा रहेरै निमेष, मुहूर्त, दिन, रात्री, पक्ष, मास, ऋतु र संवत् आदि समयको गणना गर्न इकाइका रुपमा सेवक जस्तै नियमित रुपमा आउने जाने गर्दछन् ।”
“हे गार्गी, यस प्रसिद्ध अक्षरको शासनमा रहेर नै गंगा आदि नदीहरु श्वेत हिमालबाट निस्केर समुद्रतिर बग्दछन् भने अन्य नदीहरु यसै अक्षरको नियन्त्रणमा आजसम्म आ–आफ्नै दिशामा बगिरहेका छन् । इन्द्रादी देवगण, यजमान, मानिस र पितृगण आदि सबै यसैको अधीनमा छन् ।”
“हे गार्गी, यस अक्षरलाई नचिनी यदि कोही व्यक्ति यस लोकमा सहस्र वर्षसम्म रहेर, स्वर्ग र मोक्षको लक्ष्य राखेर यज्ञ गर्दछन्, व्रतादि वा तप गर्दछन्, ती सबै निष्फल हुन्छन् । तिनीहरुले त्यो परम कल्याणकारी अक्षरलाई प्राप्त गर्दैनन् । जो व्यक्ति यस अक्षरलाई नबुझी भगवत् प्राप्त गर्नुभन्दा पहिले नै यस लोकबाट विदा हुन्छ, तिनले मोक्ष पाउँदैनन् । ती फेरि यस मर्त्यलोकमा जन्म लिन्छन् । तिनीहरु दीनदु:खी हुन्, ती कृपण बन्दछन् । जो यस अक्षरलाई जानेर यस लोकबाट मृत्यु प्राप्त गर्दछ, त्यो ब्रह्मवेत्ता भई मोक्ष प्राप्त गरेर जान्छ ।”
गार्गी, “यस प्रसिद्ध अक्षरलाई कसैले देख्दैनन् तर यसले सबैलाई देख्दछ । यसको आवाज कसैले सुन्दैन, तर यसले सबैलाई सुन्दछ । यो कसैको धारणमा आउँदैन, तर सबै यसको धारणामा आउँछन् । यसलाई कसैले बुद्धिले जान्दैन तर यो सबैको विज्ञाता हो । यसभन्दा भिन्नै दृष्टा छैन र यसभन्दा भिन्नै श्रोता पनि छैन । तसर्थ, यो आकाश यही प्रसिध्द अविनाशी अक्षर अथवा अव्याकृत ब्रह्ममा ओतप्रोत छ ।”
याज्ञवल्क्यको यो विलक्षण जवाफ सुनेर ब्रह्मज्ञानी गार्गी सन्तुष्ट भइन् । उनले मिथिला नरेश महावशी जनकको दरवारमा सम्पूर्ण सभालाई सम्बोधन गर्दै घोषणा गरिन्, “ हे ब्राह्मण समुदाय ! याज्ञवल्क्य परम ब्रह्मनिष्ठ, ब्रह्मवेत्ता हुन् । ब्रह्मसम्बन्धी ज्ञानमा याज्ञवल्क्यलाई कसैले हराउन सक्ने छैन । सबैले याज्ञवल्क्यलाई सम्मान गर्नुहोस् ।”
साँचोमा, याज्ञवल्क्यलाई ब्रह्मवेत्ता ब्रह्मज्ञानी उपाधि दिने व्यक्ति नै गार्गी थिइन् ।
गार्गीले त्यसपछि याज्ञवल्क्यलाई गुरु मानिन् । आफू स्वयम् ब्रह्माज्ञानी भएर पनि याज्ञवल्क्यलाई गुरु मान्नुका पछाडि उनमा रहेको अहंकाररहित गुणको प्रमाण हो । गार्गीको यस कर्मबाट हामीले सिक्नुपर्ने कुरा के हो भने ज्ञानयोग्य मानिसका अगाडि अहम् प्रदर्शन गर्नु गलत कर्म हो । यस्तै कर्मले व्यक्तिको महिमा र गरिमा अभिवृद्धि गर्दछ भन्ने कुरा गार्गीको चरित्रबाट बुझ्न सकिन्छ ।
त्यसपछि ब्रह्मनिष्ठ सभा समाप्त भयो । ब्रह्मनिष्ठ याज्ञवल्क्य आफ्नो बाटो लागे । साथै, गार्गीले आफ्नो बौद्धिक क्षमताले जनक र याज्ञवल्क्यलाई आपसमा अविभाज्य गरिदिइन् ।
याज्ञवल्क्य–गार्गी सम्वादको समय मापन
गार्गी–याज्ञवल्क्यको समयको हिसाब गर्दा महाभारतकालीन युधिष्ठिरको समयदेखिका तथ्यहरूलाई तान्नुपर्ने देखिन्छ । महाभारतको युध्दपश्चात् हस्तिनापुरमा युधिष्ठिरले ३६ वर्ष राज्य गरे । युधिष्ठिरपछि उनका नाती परीक्षित हस्तिनापुरका राजा भए । परीक्षितपछि उनका छोरा जन्मेजयले हस्तिनापुरको राजगद्दी समालेका थिए ।
युधिष्ठिरपछिका राजा परीक्षित महाभारतमा अर्जुनका नाति एवम् अभिमन्युका छोरा थिए । महाभारतको युध्दमा पाँच पाण्डवका द्रौपदीतर्फका पाँच राजकुमारहरु मारिए । यसै युद्धमा अर्जुनका सुभद्रापट्टीका छोरा अभिमन्युको पनि मृत्यु भयो । अभिमन्युको मृत्यु हुँदा उनकी पत्नी उत्तरा गर्भवती थिइन् । उत्तरा विराटनमा मत्स्यनरेशकी छोरी थिइन् । उत्तराले युद्धको अन्तिम समयमा परीक्षितलाई जन्म दिइन् । परीक्षितका छोराको नाम जन्मेजय भएको र परीक्षितपछि उनी राजा भएको कुरा माथि नै आइसकेको छ । गार्गी यिनै जन्मेजयको शासनकालकी एक साहसी महिला विदुषी थिइन् । उनको विद्वताको कदरस्वरूप उनलाई परमहंस पनि भनिन्छ । यो समयलाई आज गणना गर्दा द्वापरयुगको अन्त भई कलियुगको प्रारम्भिक समय सुरु भएको थियो भन्न सकिन्छ ।
अब हस्तिनापुर र मिथिला जनकपुरमा राजाहरुको समयको तुलना गरौं । हस्तिनापुरमा युधिष्ठिर राजा हुँदा जनकपुरमा उनका समकालीन बाहुलाश्व राजा थिए । हस्तिनापुरमा युधिष्ठिरपछि परीक्षित राजा हुँदा मिथिलामा कृती जनक राजा भए । फेरि हस्तिनापुरमा परीक्षितपछि जन्मेजय राजा हुँदा मिथिलामा महावशी जनक राजा भए । हो यिनै महावशी जनकका पालामा मिथिलामा गार्गी र याज्ञवल्क्यले शास्त्रार्थ गरेका थिए । यो समय शायद युधिष्ठिरपछि करीव पचास वर्षपछाडि भएको अनुमान गर्न सकिन्छ ।
त्यसबेला नेपालको मिथिलामा महावशी जनकको दरवारमा भएको शास्त्रार्थ कर्ममा गार्गीले भाग लिएको हुनाले उनी मिथिलावासी नै थिइन् । अर्को मतअनुसार कसैले मिथिलाको नजिक भारतको विहारतिर गार्गीको जन्म भएको थियो पनि भनेका छन् ।
यसरी, गार्गीले आफ्नो विशिष्ट ज्ञान र अदम्य जिज्ञासाका माध्यमले याज्ञवल्क्यसँग बहस गरेर आफ्नो अब्बल सामथ्र्यको नमूना छोडिन् ।
लेखक परिचयः नारायण अधिकारी मूलत कवि हुन् । उनको एक हाइकु सङ्ग्रह “ईन्द्रेनीका रङहरु”(सन् २०१४) प्रकाशित छ । ताप्लेजुङको खेवाङमा जन्मेका उनले मूल थलो बनाएका थिए चन्द्रगढी झापालाई । हाल उनको कर्मभूमि अमेरिकाको भर्जिनिया राज्य रहेको छ । वैदिक विषयमा अध्ययन र लेखनमा रुचि राख्ने उनका लेखहरु विश्वपरिक्रमामा क्रमसः परकाशित हुनेछन् ।