टेक्ससको वालमार्टमा

कविता

-डा. दामोदर पुडासैनी किशोर

 

रातोदिन

कामको बोझले थकित

मेरो छोरासँगै

म पनि वालमार्ट छिरेको छु

 

छोरा वालमार्ट पसेको छ

केही उदास भोकहरूलाई चारा बटुल्न

केही मागका सूचीहरूलाई पन्जिकृत गर्न

समयका प्वाँखहरूमा इन्द्रेनी सँगीत बजाउँन

 

पसिनाका हरेक मूल्यहरूलाई

हँसिलो अनुहारमा स्वागत गरेर

चुम्बकलेझै तानिदिन्छ वालमार्टले

र, तुरून्तै कुदाइदिन्छ

डलरका हरिया खोस्टाहरू बटुल्न

मानौँ भर्खर हातमा आइसक्रिम च्यापेको बालकले

मनपर्ने खेलौना सम्झेर एक्कासी दौडेको छ

 

मुस्कुराउँदै हेरिरहेकाछन्

दूध, कफि ,ख़रबूज़ा, एभोकाडो र किवीहरू

टुलुटुलु हेरिरहेछन्

चिकेन, बिफ, ब्रेड, साग र जाम जेलीहरू

किन जन्मिए तिनीहरू यो सँसारमा

कसकोलागि लुट्यो कसैले उनीहरूको सर्वस्व

को-कसको प्लेटमा बाँडिनुपर्ने हो अझै

सारा अन्यौलहरू

वातानुकुलित यन्त्रका फोहरा बनेर फैलिरहेछन्

 

क्रेडिट कार्डको एक घोटाईमा

सुलुसुलु दाम निल्ने वालमार्टले

कमाउने र गुमाउँने दुबैलाई

लुत्तो कन्याएझैँ दिइरहेछ आनन्दी घाउ

 

शहर सुनसान छ टेक्ससभरि

वालमार्टमै जम्मा भएकाछन् शहरका सबैमान्छे

त्यहीँ थिए होलान् बेन्जामिन फ्र्याँकलिन

त्यहीँ थिए होलान् एलन मस्क

त्यतै थिइन् होलिन् ब्रिटनी स्पेयर्स

त्यतै थिइन् होलिन् सिल्भिया पाथ

त्यतै थिए होलान् मार्क जुकरबर्ग

मैले देखिँन कसैलाई

केबल देखिरहेँ बोल्ने र हिँडने यन्त्रमानवको हाउभाउ

 

मेरो छोराले मलाई सोधिरह्यो मेरो समयको आवश्यकता

सम्झियो आमाको ,पत्नीको , छोराको र छोरीको खुशी

र, थुपारिरह्यो  कार्टमा  खुशीका चाँङहरू

अरूका खुशीहरू बटुल्दा बटुल्दै

फुस्कँदै गएका उस्का खुशीहरू

ग्रोसरीनै बनेर बसे र्याकका चाँङहरूमा

मैले सम्झिएँ

मेरो तरूनो उमेर

र, पाइन ट्रि का हाँगा लछार्दै

दौडिरहेको छोराको बेगवान रहर

र सँझिएँ

उता गाउँमा

विचौलिया , भ्रष्टाचारी र दलालहरूले

डसिरहेका मेरा पूर्खाको विरासत

 

घर आइपुगेपछि

म रेफ़्रीजरेटर रमाएको छु

हप्ताभरी

तन र मन सबै विर्सेर

कामनै कामको लहरमा दौडिरहेका

मान्छे कम रोबोट बढीको उदास अन्तरा सुनिरहेछु

 

बीबीसीको भित्तामा चम्किला चित्रहरू उदाउँछन्

टर्की र सुडानका झुलेका बालाहरूमा

झरिला अन्नदानाको सट्टा

बमका छर्रा र धुवाँका मुस्लोहरू देखिरहेछु

बिस्तारै स्वाद लिँदै पनि छु आइरिस क्रिमको

 

बाली र बजारनै ध्वस्त पारेपछि

कहाँ बिसाउँने भोको थकाई

कहाँ विसाउने सपना र गुनासो

एउटा प्रश्न उभिएको छ

वालमार्टको ढोका अघिल्तिर ।

 

लेखक परिचयः दामोदर पुडासैनी किशोर विविध बिधाका सकृय लेखक हुन् । उनी पछिल्लो समय नियात्रा विधामा बढी केन्द्रित भएका छन् । उनका स्वदेश तथा विदेश भ्रमणका कृतिहरु प्रकाशित छन् । उनको पछिल्लो नियात्ता कृति “डोल्पो ओ डोल्पो” साझा प्रकाशनबाट प्रकाशित छ ।

 

Leave a Reply