कोलोराडोमा साहित्य महोत्सव सम्पन्न

मुख्य समाचार

२ जुलाई २०२३,डेन्भर, कोलोराडो

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको संयोजनमा ए.एन.ए. डेन्भर सम्मेलन २०२३ को अवसरमा नेपाली साहित्य महोत्सव, खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको शुरुवात स्थानीय बालबालिकाहरु प्रियंका श्रेष्ठ, आँचल सापकोटा, एरिका अधिकारी, तेजस चौलागाईं र श्रुयोग बिडारीको नेपाली राष्ट्रगान र स्वागत गीतको गायनबाट गरिएको थियो । साथै आदिकविको तस्वीमारमा फूलमाला अर्पण गरिएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा एरिका अधिकारीले रामायणको श्लोक सुनाएकी थिइन् ।
खुल्ला कविता प्रतियोगिताका उत्कृष्ट पाँचमा परेका प्रतियोगीहरूले आफ्नो कविता वाचन गरेर सुनाएका थिए । सो प्रतियोगितामा डा. खगेन्द्रप्रसाद दाहालको ‘जिन्दगी प्रयोगशाला’ प्रथम, रोहित रानाको ‘खुशीको स्वतन्त्रता’ द्वितीय, डा. खगेन्द्र दाहालको ‘मुटुको समुद्र’ तृतीय र श्रीराम लुइटेलको ‘खाऊ नेता हो खाऊ’ तथा शर्मिला शर्माको ‘अर्धाङ्गिनी’ सान्त्वना पुरस्कारका लागि छनौट भएका थिए ।
कविता प्रतियोगिताको निर्णयकहरूमा गोवर्द्धन पूजा, नीलम कार्की निहारिका, लालगोपाल सुवेदी, मोहन सिटौला, आचार्य प्रभा, डा. विजयराज शर्मा र सुशील ताम्राकार रहेका थिए । अनेसासका पूर्व केन्द्रीय अध्यक्ष मोहन सिटौलाले कविताको मूल्यांकन प्रकृयाको बारेमा जानकारी गराएका थिए । अनेसास कोलोराडो शाखाका सल्लाहकार रमेश गुरुङले विजयी प्रतियोगीहरुलाई पुरस्कार राशी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
सोही कार्यक्रममा आचार्य प्रभाको विधुर पुरुष, र पूर्व राजदूत राजेश्वर आचार्यको कूटनीतिक डायरी पुस्तकहरु समेत विमोचन गरियो ।
यसै गरी कार्यक्रमको अर्को चरणमा सुप्रसिद्ध साहित्यकार नीलम कार्की निहारिकालाई नेपाली साहित्यमा उहाँले पुर्‍याउनुभएको योगदानको निमित्त तथा अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मालाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थागत विकासमा दिनुभएको योगदानको निमित्त सम्मान गरिएको थियो ।
अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले सम्मानित हुने व्यक्तित्वहरुको बारेमा चर्चा गर्दै अनेसास कोलोराडो शाखाले यो सम्मानको कार्यक्रम गरेर राम्रो काम गरेको बताए ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको  संचालन अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले गरेका थिए ।

Leave a Reply