पोथी बास्नुपर्छ यहाँ…

कविता

नगिता लेप्चा राई

 

सेता परेवाका बथानहरू

शान्तिको पखेटा फिजाउँदै

नीलो आकाशमा रमाएका देख्दा

बाजहरू थुक निल्दै

सेता परेवाहरूलाई नङ्ग्राले लुछ्न खोज्छन्

यो वर्तमान ।

 

फूलहरू पनि कहाँ सुरक्षित छन् र

लुछिन्छन् हरेक साँझ बिहान

रात दिन पसीना खर्चिने

मालीको मानचित्र पनि रक्ताम्यै छ

यो वर्तमाननै बलात्कृत छ ।

 

सुन्दर बगैँचामा ढकमक्क फूलहरूमा

सन्त्रास सल्बलाउँछ

ढकमक्क फुलेका फूलहरूमा

ह्वास्स बारुद गन्हाउँछ

मानिसहरूको आङमा आतङ्क बुई चढ्दैछ

रातको निस्तब्धतामा

बाजहरूको अराजकता चल्छ

यो वर्तमान असहाय़ छ

मौन छ ।

 

पोथा बास्दा संसाँझमा

अशुभ आशङ्का मड़ारिन्छ

घर दलानमा

बारीमा चरिरहेका चल्लाहरू

बाजले टिपेर लाँदा

सुरक्षाले आत्महत्या गर्छ

यो वर्तमानलाई आतङ्क, त्रासले

गिजोलेको छ…

 

यसैले….

परेवाहरू घुर्दैनन् अचेल

मयूरहरू प्वाँख फैलाउँदैनन् हिजोआज

डढ़ेलो सल्किरहेछ बाजहरूका आँखामा

निहत्था परेवाहरू बलजफ्ती लुछिँदैछन्

बर्बरताको छालहरूले स्वतन्त्र लुटिँदैछन्

ब्वाँसाहरूको यौनक्रीड़ाले

वर्तमान यो निरीह छ

वर्तमान यो असहाय़ छ।

 

चखेवा-चखेवीको प्रेमालापमा पैह्रो गएको छ

ढुकुरजोड़ीको उन्मुक्त उड़ान विकलाङ्ग भएको छ

कपट, सन्त्रास विभिषिकाले

यो वर्तमान अललिरहेको छ।

 

अब यो अललिरहेको वर्तमानमा

न्यानो घाम लाग्नुपर्छ

अब आउनुपर्छ

असुरक्षित चेलीबेटीहरूको

इज्जत र आबरु जोगिनुपर्छ

जोगाउने प्रयास गर्नुपर्छ

ब्वाँसा र बाजहरूको

नङ्ग्रा उखेलेर फ्याँक्नुपर्छ

यो वर्तमानमा अब

परेवाहरू निर्धक्क आकाशमा विचरण गर्नुपर्छ

चखेवा चखेवीहरूले स्वतन्त्र प्रेमक्रीड़ा गर्नुपर्छ

ढुकुरजोड़ी नडराई घुर्नुपर्छ।

 

यो वर्तमानमा

अब हरेक साँझ पोथी बास्नुपर्छ

एउटा बलिष्ठ वर्तमान प्रसव हुनुपर्छ

साँझमा बास्ने पोथीहरूको

मुण्टो चुँड़ालेर धुरी कट्टाउनु होइन

यहाँ अब

बलात्कार बास्ने भालेहरूको

मुण्टो चुँड़ालेर घुरेन कट्टाउनुपर्छ…

भोलिको उज्यालोको निम्ति

भोलिको स्वतन्त्रता र सुरक्षाको निम्ति

अब यहाँ…यो वर्तमानमा

यहाँ पोथी बास्नुपर्छ

पोथी बासेर यहाँ

नारी सुरक्षाको शङ्खघोष गर्नुपर्छ।

 

कवि परिचयः नगिता लेप्चा राई कविता र हास्यव्यङ्ग्य विधामा कलम चलाउँछिन् । सिलगडी भारतकी उनको काव्यकृति “मेरो बालापन”(२०२३) प्रकाशित छ र एक हास्य ब्यङ्ग्य निबन्ध पुस्तक प्रकाशनको तयारीमा छ ।

Leave a Reply