काठमाडौं ७ असार, २०८०
नेपाल वाङ्मय फाउण्डेसनले विश्वका संयुक्त राष्ट्र संघसँग आवध्द १९५ देशका राष्ट्रिय गानको नेपाली अनुवाद बजारमा ल्याउने भएको छ ।
नेपाली बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा समर्पित हुने उद्देश्यका साथ स्थापित नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा यो पुस्तकको विमोचनसँगै शुरू हुनेछ ।
विश्वका राष्ट्रिय गानका प्रमुख अनुवादक प्रदीप निरौला रहेका छन् भने अन्य अनुवादकहरूमा डा. रामदयाल राकेश, गोविन्द गिरी प्रेरणा, हारूहितो नोजू, भीष्म उप्रेती, छत्रपति फुयाल, प्रमोद सारंग, चुलानन्द समरनायके, महेश्वर पौडेल लगायत रहेका छन् ।
पुस्तकमा राष्ट्रपति रामचन्द्र पौडेल तथा नेपालका लागि संयुक्त राष्ट्र संघीय आवाशीय संयोजक महामहिम हाना सिंगर-हाम्दीका शुभकामना समेत राखिएको छ ।
पुस्तक सिंगै पृथ्वीको एकिकृत हृदयको प्रतीक हुने कुरा नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष तथा पुस्तकका सम्पादक/निर्देशक विप्लव ढकालले विश्वपरिक्रमालाई बताए ।
नेपाली वाङ्मयमै यो वेग्लै, अतुलनीय र असाधारण काम हुने देखिएको छ । पुस्तक छिटै विशेष समारोह वीच नेपाल वाङ्मय फाउण्डेसनको उद्घाटनका अवसरमा विमोचन हुनेछ ।