१९ जून २०२३, सिलगढी
भारतीय नेपाली जगतका सशक्त सर्जक, गीतकार, कवि, कथाकार, नाटककार, निर्देशक, कलाकार, अभिनेता बहुआयामिक व्यक्तित्वका धनी ध्रुव लोहागणको हृदयाघातका कारण १९ जून २०२३ का दिन सिलगढीको एक नर्सिङ होममा देहान्त भएको छ ।
१० जून १९५७ मा जन्मेका उनले ४ अप्रेल १९६६ मा “साहेव अनि बेरा” मा अभिनय गरेर आफ्नो अभिनय यात्राको थालनी भएको थियो बाल्याबस्थामै । त्यसपछि उनले गौतम बुध्द, चित्रकार, आमा, प्रायश्चित, हिरण्कशिपु, धने मुखिया लगायतका नाटकमा अभिनय गरे ।
उनले नाटकमा अभिनय गर्न भारतका जोरथाङ, नयाँ बजार, गान्तोक, राभाङ्ला, पाक्योङ, तादोङ, दार्जीलिङ तथा नेपालको पशुपतिनगर र ईलाम समेत पुगेका थिए ।
उनका प्रकाशित नाटकहरु आँधी आएपछि, कटुसत्य, मृगतृष्णा, त्यो पारि गाउँमा, र मन रहेका छन् ।
उनको रजनीगन्धा कथा सङ्ग्रह समेत प्रकाशित छ ।
उनले झ्याल्टुङ, झिल्के, भानु स्मारिका, गोरेटो र विसौनी जस्ता पत्रिका र स्मारिका सम्पादन समेत गरेका थिए ।
उनले डा. अम्बेडकर फेलोसिप अवार्ड, डा.अम्वेडकर विशिष्ट सेवा पुरस्कार, शोभाकान्ति थेगिम पुरस्कार, शिवकुमार राई स्मृति पुरस्कार, लालमान सञ्चरानी स्मृति पुरस्कार लगायतका पुरस्कार र सम्मान, अभिनन्दनहरु समेत प्राप्त गरेका थिए ।
उनले टेलिफिल्म, फिचर फिल्महरुमा पनि कथा लेखन, पटकथा लेखन गरेका थिए जसमा “रानी खोला” कथानक चलचित्रको कथा सम्बाद लेखन महत्वपूर्ण रहेको छ ।
(फोटो सौजन्यः कालुसिंह रनपहेंलीको फेसबुक)