मधुपर्क सम्मानको घोषणा

मुख्य समाचार समाचार

जेठ २१, काठमाडौं।

गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनी विगत २२ वर्षदेखि गर्दै आएको मधुपर्क सम्मानको यस वर्षकोको घोषणा गरेको छ । वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले सो निर्णय गरेको हो।

मधुपर्कले जनाए अनुसार विसं २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार पुष्कर लोहनीलाई चयन गरेको छ । यस्तै,‘मधुपर्क प्रतिभा सम्मान’ साहित्यकार प्रभा भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

विसं २०१३ मा पहिलो कविता प्रकाशित भएपछि निरन्तर कविता विधामा सक्रिय ८५ वर्षीय श्रेष्ठका ‘कृष्णभक्त श्रेष्ठका कविता’, ‘मान्छेको कथा’, ‘रातको दस बजे’ ‘ठुलोमान्छे’ जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । नेपाली आधुनिक कविता विधामा विशेष योगदान दिनुहुने कृष्णभक्त श्रेष्ठ ‘रोदी’ साहित्य समूहमा पनि हुनुहुन्थ्यो । उहाँ लामो समय पत्रकारिता क्षेत्रमा पनि संलग्न हुनुहुन्थ्यो। उहाँले मधुपर्कको समेत सम्पादन गर्नु भएको थियो ।

त्यस्तै विसं २०१६ मा पहिलो कथा प्रकाशित गरेर साहित्यमा देखा पर्नुभएका ८५ वर्षीय पुष्कर लोहनीका कौडी (कविता सङ्ग्रह), चहकदार मइन्टोल र पिलपिले लालटिन (समालोचना), धरहराको टुप्पो (कथासङ्ग्रह), अदृश्य मान्छे (उपन्यास) लगायत हाइकु, ताङ्कासङ्ग्रह गरी करिब एक दर्जन कृति प्रकाशित छन्। नेपाली साहित्यमा यौन साहित्य लेख्ने उनी एक स्तम्भ ब्यक्तित्व मानिनुहुन्छ ।

विशेष छन्द कविता र बालसाहित्यमा केन्द्रित प्रभा भट्टराईका पोषिला कविता, मेरो सानो भाइ (बालकवितासङ्ग्रह), सन्तु र सुधा (बालकथासङ्ग्रह), गीतापापा, सुनकेशरी मैया (बालकाव्यहरू), बालचित्र कथा सङ्ग्रहहरू, शारदा अधिकारी (जीवनी), सरित् सङ्गम (कवितासङ्ग्रह) लगायत करिब डेढ दर्जन कृति प्रकाशित छन्।

स्मरणीय छ, मधुपर्क सम्मान पहिलोपल्ट विसं २०५९ मा पद्य तर्फ कवि मोहन कोइराला र गद्यतर्फ लेखक तथा अन्वेषक कमल दीक्षितलाई प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *