कृति समीक्षाः अविरल यात्रा अध्ययन गर्दा

पुस्तक समीक्षा

अरुणबहादुर खत्री “नदी”, काठमाडौं

यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । “अविरल यात्रा” कथाकार एवं नियात्राकार रामप्रसाद पन्तको २०७२ वैशाखमा एक्काइसौ कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कृति विरानो वस्तीमा नामक उपन्यास २०४४ सालमा निस्केको थियो । यस सङ्ग्रहभित्र सम्भाव्य दुर्घटनाको त्रासदी, पाँच बजे त पुगियो तर बिहानको, बल्थलीको थुममा तीन घण्टा, राम–राजाराम ! छन् कि छैनन् भगवान् ? निहुँ अन्तरक्रियाको : भ्रमण चितवनको लगायत विभिन्न शीर्षकका १७ वटा नियात्राहरु समेटिएका छन् ।
यस सङ्ग्रहभित्रको सम्भाव्य दुर्घटनाको त्रासदी शीर्षकको पहिलो नियात्रामा प्रकृतिको पुजारी मलाई त्यहाँको हरियाली, वृक्ष वनस्पति, शीतल हावा र धरान बजारको सुन्दर दृष्यले झन् बढी आकर्षित गर्‍यो । प्राकृत सरस्वती कुण्ड, खण्डस्थित ऐतिहासिक विजयपुर दरबार क्षेत्रलाई परिक्रमा गर्दै नियात्राकारहरु ओर्लेका थिए र मोटर चढेर अलिकति पर पिण्डेश्वरतिर लागेका रहेछन् । पाँच बजे त पुगियो तर बिहानको शीर्षकभित्र यात्रुहरुले जतिसुकै दिग्दारी महसुस गरे पनि समस्या समाधानको विकल्प थिएन । हामी फिल्मीलोकमा हुने गरेजस्तो बस उडाएर लैजान सक्दैनथ्यौ । फर्केर घर आउन पनि सक्दैनथ्यौ । लाइनमा लाग्नुको विकल्प अर्को थिएन भनिएको छ । बल्थलीको थुममा तीन घण्टा शीर्षकभित्र पुस २४ को जाडोमा घमाइलो चौरमा बसेर मनचाहे खान पाउनु क्या मज्जा पिठ फर्काएर सुत्न झनै मज्जा । तर दुई घण्टा लगाएर ४० किलोमिटर मोटरसाइकलमा यात्रा गरी काठमाडौं पुग्दा जाडोले हाम्रो ज्यान कस्तो होला नियात्राकारले भनेका छन् ।
नियात्राकार रामप्रसादले यात्राका क्रममा देखेका, भोगेका, सुनेका र भेटिएका नियात्राहरु यसभित्र रहेका छन् । संक्षेपमा भन्नुपर्दा सोझा, सरस, सहज र सरल भाषामा लेखिएका नियात्राहरु यस सङ्ग्रहभित्र पढ्न पाइन्छ । यी यात्रा निबन्धमा भेटिने अनुभूतिको रमरम र स्थान, समय, परिवेशमाथिको आलोचनात्मक दृष्टि यात्रा संस्मरणका प्रमुख पक्ष हुन् । उनले लेखेका प्राय: सबै नियात्राहरु छोटा, छरिता र मीठा छन् । नेपाली साहित्यमा नियात्रा र संस्मरण सबै खाले लेखक र पाठकले लेख्ने र पढ्ने बिधाका रुपमा दरिंदै आएका बिधा हुन् । विषयवस्तुका विविधता, सरल भाषाशैली र शीर्षक सार्थक रहेकाले रामप्रसादका यी नियात्राहरु पढेर नसकुन्जेल कौतूहलले चिमोटिरहने र पाठकलाई आफू पनि लेखकसँगै यात्रा गरिरहेको अनुभूति गराउने खालका छन् । चौताराको चौतारीमा शीर्षकभित्र कुरैकुरामा चर्चा भयो भारतको पनि । भारत पनि सहयोग त गर्छ तर सहयोगका नाममा व्यापार बढी गर्छ । कताकताबाट नाम आयो महात्मा गान्धीको । कसैले भने गान्धीलाई नत्थुराम गोड्सेले गोली ठोकेर राम्रो गरे भारतका लागि, नत्र पाकिस्तान मात्र नभएर धेरै टुक्रा हुन्थ्यो भारत ।
प्रकृति नियात्राकार रामप्रसादलाई अत्यन्त प्यारो लाग्छ । वन–जङ्गल, हरियाली–सिमसार, डाँडा–पाखा, नदीनाला, ताल–झरना, हिमाल–पहाड, दुत–मधेश, जीवजन्तु, चराचुरुङ्गी सबै मन पर्छ । विदेश घुम्ने इच्छा अब मलाई छैन । अब त मलाई मानव सभ्यताको मुहान, धरतीको स्वर्ग, हिमवतखण्डको पावन भूमि आफ्नै मातृभूमिको काखमा लुटपुटिने मन छ नियात्राकारलाई । निहुँ अन्तरक्रियाको : भ्रमण चितवनको शीर्षकभित्र गुरुङ बहिनीले चिया खुवाइन् हामीलाई । चितवनका साहित्यकारहरुलाई समेटेर निकालिएको कालिका स्रष्टा दर्पण र क्यालेण्डर उपहार दिइन् हामीलाई । सेन दाइ अन्तर्वार्ता दिन स्टुडियो भित्र पस्नुभएपछि उनी र म बीच अविच्छिन्न रुपमा कुराकानी चल्यो । घिमिरे भाइ हाम्रा कुरा सुनेर बसिरहे भनिएको छ । झरीमय साहित्यमा सामेल हुँदा शीर्षकभित्र गुम्बा आगमनका कुनै सङ्केताङ्क नदेखेपछि शङ्का लागेर नियात्राकारले सोधेका थिए सहयात्रीलाई र जवाफ पाएका थिए गुम्बा जाँदा हामीले धेरै समय गुमाउनुपर्ने भयो र अनायासै पाइला अगाडि बढे भद्रकालीतिर भनिएको छ ।
आधुनिक साहित्यमा गद्य विधा अन्तर्गत निबन्धको एउटा सशक्त उपविधाका रुपमा विकसित हुँदै आएको छ यात्रासाहित्य । यात्रासाहित्य वा नियात्रा यात्रा र संमरणको निबन्धात्मक समन्वित संरचना हो । यात्राका मोड, घुम्ती अनि गोरेटोमा भेटिएका अनुहारहरुलाई नाटकका पात्र जस्तै एउटा कथाभरि सँगसँगै रहेर छोडिएपछि अर्को कथामा आफूसहितको कुनै दृष्यको प्रतीक्षा उनले गरिरहेझैँ लाग्छ । यात्रा र स्थान परिवर्तनले मनभित्र नयाँ शक्ति प्रदान गर्दछ । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा रामप्रसादले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ । नालाको काँक्रा र मासुभात शीर्षकको नियात्रामा दसैँले राजधानीका सडकहरु सुनसान त बनायो तर एउटा फाइदा के भयो भने धुवाँ धुलोबाट एक हप्ता भएपनि राहत पायो काठमाडौंले । सधैँजसो साहित्यिक कार्यक्रम र काम भनी दौडिरहने मजस्तालाई एकान्तमा बस्ने मौका मिल्यो र केही लेख्ने अवसर जुट्यो भनिएको छ ।
कोट नभएको रानीकोट शीर्षकभित्र केही समय अघिमात्र समुद्घाटन भएको पाइलटबाबा आश्रम (सोमनाथ मन्दिर) ले पनि तानेछ अलिकति । यस सङ्ग्रहभित्रको अन्तिम तामाघाटदेखि तामाघाटसम्म शीर्षकको नियात्राभित्र हामी घुम्तीमा घुम्दै मोडमा मोडिदै माथि माथि उक्लिदै थियौ । त्यो फाँट त्यो सालघारी र त्यो गाउँवस्ती तलतल देखिदै थियो । हामी कार्यक्रमस्थलमा पुग्न आतुर थियौ । त्यस्तो अप्ठ्यारो र कच्ची बाटोमा पनि चालकले आफ्नो कुशलता देखाइरहेका थिए नियात्राकार रामप्रसादले लेखेका छन् । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा लेखकको आफ्नै अनुभूति छ, स्वाद छ । उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस कृतिलाई नेपाली साहित्यप्रेमी पाठकहरुको मनले रुचाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *