अलौकिक चिन्तक अक्षरका पुजारी मदनमणि दीक्षित

मेरो कविताः मेरो रोजाइ लघुकथा

लक्ष्मी उप्रेती, काठमाडौं

बि. सं. २०५२ सालमा पाख्रीबासको कृषि केन्द्र साहित्यिक समाजले एउटा ऐतिहासिक साहित्यिक भेलाको आयोजना गर्‍यो । सो भेलामा विराटनगरबाट म पनि सहभागिता हुने अवसर जुर्‍यो । कार्यक्रमका लागि समयमा विराटनगरबाट हामी पाख्रीबासको कृषि केन्द्र पुग्यौं। त्यहाँ पुग्दा प्रमुख अतिथिको भूमिकामा काठमाडौं देखि तात्कालिक शाही नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति र उहाँसँग उहाँकी श्रीमती लगायतका अन्य थुप्रै पाहुनाहरू आई सक्नु भएको रहेछ ।
बि. सं. २०४२, ४३ साल तिर नै महेन्द्र मोरङ क्याम्पसको पुस्तकालयबाट माधवी उपन्यास ल्याएर मैले पढेकी थिएँ। पढने उति आदत नहुँदा पनि त्यो उपन्यासले मलाई अक्षरको दुनियाँमा रमाउन सगाएको थियो । त्यसैबेला देखि माधवीका लेखकलाई भेट्ने धोको थियो। त्यो धोको पनि त्यही भेलाले पुरा गरि दियो। उति कुरा गर्ने वातावरण नभएनि उहाँसँगको भेट र थोरै भएपनि कुरा गर्न पाउदा म गदगद भएँ।
समय न हो फेरि देवकुमारी दिदीका कारणले बि सं २०५७ सालमा काठमाडौँ उहाँको घरमा भेट भयो। मैले उहाँलाई भेट्ने अनुरोध गरें । एउटै अनुरोधमा भेट्न घरमा बोलाउने अक्षरका तपस्वीलाई यसबेला म सम्झिरहेछु।
लक्ष्मणमणि र विष्णुकुमारीदेवीका जेठा छोराका रूपमा १९७९ साल फागुन ६ गते काठमाडौँको गैह्रीधारामा जन्मनु भएका मदनमणि दीक्षितले राणा शासनको कहालि लाग्दो समयमा प्राथमिक शिक्षा हासिल गर्नुभयो। अनि उहाँले बढो कठिनाइका साथ शिक्षालाई अगाडि बढाउने क्रममा काठमाडौं दरबार स्कूलमा र घरमा नै पढनपाठनको वातावरण बन्यो । अनि उच्च शिक्षा बनारसमा गएर सम्पन्न गर्नु भयो । राणाकालिन युगको कठिन परिस्थितिमा पनि काशी हिन्दू विश्वविद्यालयबाट एमए उत्तीर्ण भएपछि साहित्य, संस्कृति र पत्रकारिताका प्रकाण्ड विद्वान् शिक्षासेवी दीक्षितले २००४ सालदेखि २००६ सालसम्म त्रिजुद्ध हाईस्कुल वीरगन्जमा प्रधानाध्यापक हुनुभयो। त्यसैको आधारले माड्साबको नाउँले समेत चिनिँने उहाँ २००८ सालदेखि साहित्यिक लेखन र अनुवाद साहित्यमा समर्पित हुनु भयो। २०१४ सालदेखि २०१६ सालसम्म दैनिक ‘हालखबर’ को प्रधान सम्पादक र २०१७ साल वैशाखदेखि २०४९ सालसम्म साप्ताहिक ‘समीक्षा’ को सम्पादक र प्रकाशक भएर प्रसिद्धिको शिखरमा पुगि आफ्नो पहिचान बनाउनु भयो ।
वीरगंजको स्कुलमा प्रधानाध्यापकका रूपमा काम सुरू गरेपछि कम्युनिष्ट राजनीतिमा, पत्रकारिता र साहित्य साधनामा लाग्नु भयो । पुस्तक पढने, फोटोग्राफी र सौन्दर्यलेखन मन पराउने उहाँले केही वर्ष फोटोग्राफीको पेसा पनि गर्नुभयो । राजनीतिलाई आत्मसात गरे पनि समयको गतिसँगै उति प्रभाव जमेन जसरी साहित्य र पत्रकारिता क्षेत्र झाँगियो । फलतः उहाँका वौद्धिक चिन्तनद्वारा साहित्यमा शक्ति भरेर पाठकहरूलाई आकर्षित गर्यो कि।
सत्र वर्षको उमेरमा कलैया निवासी बुबा योगेन्द्रराज गौतम र आमा खोमकुमारीकी छोरी रीता गौतमसँग दाम्पत्य जीवन सुरु गर्ने दीक्षित दम्पतीका चार छोरा एक छोरी छन्। उनका छोराहरूमा विनोदले साहित्य र पत्रकार, प्रमोद इन्जिनियर, अमोदमणि भूकम्पविद् र कान्छो कामोद इन्जिनियर अनि छोरी इल्या भट्टराई मेरी मित्र विविध विधाका साहित्य सिर्जनामा नथाक्ने सर्जक बने।
समयका अनगिन्ती मीठा धुन तरङ्गित हुन्छन् मदनमणि दीक्षितलाई भेट्दाका। उहाँलाई भेटन प्रायः इल्यासँग जान्थे म । इल्यासँग गएपछि जुनसुकै समय र परिस्थितिमा भेटघाट हुने भएकाले म ढुक्क हुन्थें । यसैले उहाँलाई भेटेर ज्ञानका केही कुरा समेट्ने मैका पाउँथें। इल्यासँग जाँदा उहाँसँगै आमा पनि खुसी हुनुहुन्थ्यो। प्रायः जसो घर गएको बेला इल्याको सहयोगमा आमाले पकाएको चिया खाएका ती समयका सम्झनाहरू अझै मनको तरेलीमा ताजै बनिरहेछ।
बिस्तारै बोल्ने अलि श्रवण शक्ति कम भए पनि उहाँको स्मरणशक्ति र चेतनाको स्तर अलौकिक थियो। जुन हामी आँकलन नै गर्न सक्दैनौं । उहाँ कहिले कहीँ लेखनको सन्दर्भमा भन्नु हुन्थ्यो २००७ सालमा हस्तलिखित पत्रिकामा आफ्नो रचना पहिलोपल्ट देखेर म खुसि भएको थिएँ अनि फेरि छापामा पहिलो सानो लेख ‘सम्पादकलाई पत्र’ २०१४ सालमा प्रकाशित भयो । अलिक कम खुसी अनुभव भयो र हालखबर दैनिकको सम्पादकीय ‘सुठोको समस्या’ शीर्षकमा २०१५ सालमा त्यसपछि “आखिरी मुस्कान” शीर्षकको कथा २०१७ सालमा समीक्षा पत्रिकामा प्रकाशित भएपछि लेखनमा खुब रत्तिएँ भनेर बढो उत्साहित हुँदै प्रशन्नताका साथ सुनाउनु भएको सम्झन्छु । त्यसपछि अक्षरका सहयात्री भएर जीवनभर वौद्धिक खुराक दिइरहनु भयो र नेपाली साहित्यको विकासमा नौलो आयममा नथाकी बग्ने अविरल मानस हुनु भयो। लेखेर नै जीवन आलोकित बनाउने एक असाधरण चिन्तक नेपाली साहित्यमा उत्सर्गमा पुग्ने तपस्वी हुनु भयो । अब त यस्ता कुरा सोचेर उहाँलाई सम्झने सम्झना मात्र भए।
अक्षरका महारथी एक अद्वितिय प्रतिभा शान्त कोठामा भुइको आसनमा पलेटि कसेर बस्ने र अगाडि होचो टेवलमा लेख, पढ गर्ने मदनमणिको स्वभाव गम्भीर थियो । अक्षर शिरोमणिका पर्याय यस जगतमा उहाँको नाम बिर्सनु भनेको नेपाली पत्रकारिता र नेपाली साहित्यको इतिहास नै धरापमा पर्छ।
नयाँ नयाँ आयमका सिजनाहरू नेपाली साहित्यलाई दिदा दिदै कति अधुरा नै भए हुन् त्यसको लेखा जोखा समयले गर्छ की गर्दैन समयलाई नै छाड्नु बाहेक हामीसँग अरू कुनै विकल्प पनि छैन्। आफ्नो लेखन कर्मबाट पटक पटक निर्दलीय पञ्चायती शासन कालमा दुर्व्यवहार भएर दुख पाउदाको गुनासो कहिले कहीँ सुनाउने पनि गर्नु हुन्थ्यो। जीवन बचाँइको सुत्रलाई जीवन रहिन्जेल ज्यूँदो राख्नु पर्छ भन्दै आर्थिक उपार्जन भन्दा पनि म स्वान्तसुखायको लागि केही न केही लेखिरहन्छु भन्नु हुन्थ्यो। कथा, नाटक, उपन्यास साहित्यमा सशक्त कलम चलाउने उहाँले विविध विषयका वौद्धिककालदेखि आज सम्मका समसामयिक विषयलाई उच्चस्तरका कालजयी सिर्जना गर्नु भयो। देश तथा विदेशमा छरिएर रहेका नेपाली साहित्यका विध्यार्थीका लागि पनि आफ्नो लेखनको प्रभावबाट उच्च स्थान बनाउन सफल हुनु भई नेपाली भाषाका गौरव बन्नु भयो । जुन सुकै तहका लागि लेखिएका उहाँका कृतिहरू कति अप्रकाशित र अधुरा छन् भने प्रकाशित कृतिहरू यसप्रकार छन्।
१. कस्ले जित्यो, कस्ले हार्यो (कथासङ्ग्रह : २०२१),
२. हाम्रा ती दिन (बाल्यकालको यात्रा संस्मरण : २०२७),
३. मेरी आमाको प्रश्नलाई जबाफ चाहिएको छ (स्वकीय निबन्धसङ्ग्रह : २०२९), ४. लाखौँ शिशु लिफ्ट मागिरहेका छन् (स्वकीय निबन्धसङ्ग्रह : २०३१), ५. माधवी (वैदिककालीन उपन्यास : २०३९), ६. दस लाख हिरोसिमातिर (Towards Mega Hiroshima को नेपाली अनुवाद : २०४०), ७.Towards Mega-Hiroshima (नाभिकीय शस्त्रास्त्रविरुद्ध : २०४०), , ८. वर्लिन डायरीका पाना (पूर्वीया वर्लिनको संस्मरण : २०४१), ९. ग्याँस च्याम्बरको मृत्यु (कथासङ्ग्रह : २०४२), १०. चरैवेति (निबन्धसङ्ग्रह : २०४४), ११.स्वर्ण विहारको मन्दिर (जापानी उपन्यासको नेपालीमा अनुवाद : २०४५), १२. त्यो युग (वैदिक समाजबारे लेखसङ्ग्रह : २०४७), १३. द्रौपदी र सीता (ती दुई नारीको तुलनात्मक अध्ययन र विवेचना : २०४९), १४. विदुषी गार्गी (ती नारीको परिचय : २०४९), १५. जेन्डा (कथासङ्ग्रह : २०५१), १६. त्रिदेवी (आधुनिक उपन्यास : २०५१), १७. मेरी नीलिमा (उपन्यास : २०५२), १८. अमृतत्त्व र कारुणिकता (दार्शनिक चिन्तन : २०५३),१९. आनन्दमय आकाश (बाल्यकालीन जीवनी : २०५३), २०. नेपालको सांस्कृतिक परिचय (२०५३), २१. विश्वका प्रथम वैज्ञानिक उद्दालक आरुणी (औपनिषदिक चिन्तक : २०५३), २२. भूमिसूक्त (उपन्यास : २०५५), २३. हाम्रा प्राचीन नारी (वैदिक र पौराणिक कालका नारी परिचय : २०५७), २४. हिन्दू संस्कृतिको परिशीलन (२०५९), २५. श्वेतकाली (कथासङ्ग्रह : २०५९), २६. सयौँ हिरोसिमातिर (२०६३), २७. ऋग्वेदका केही प्रमुख सूक्त (२०६५), २८. जीवन : महाभियान ( जीवनी : २०६६), २९. श्री : शाश्वत नारी (२०६६), ३०. महर्षि याज्ञवल्क्य (यजुर्वेदका प्रणेता मिथिलाका वैज्ञानिक दार्शनिक : २०६८), ३१. ऋग्वैदिक नारीचरित्र (२०६९), ३२. आनन्दमय जीवन (२०६९), ३३. ऋग्वेदमा समावेद पर्यावरण (२०७०), ३४. जीवन दर्शन (२०७१),३५. अनन्त चैतन्य (२०७१), ३६. जय पराजय (२०७२), ३७. देशभक्त महापुरूष (२०७४), ३८. मेरी माता (२०७४), ३९. देशभक्त राष्ट्रपिता श्री ५ महेन्द्र (२०७५) आदीआदी ।
उहाँ २०५१ सालदेखि २०५५ सालसम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति हुनु भयो। दर्शनशास्त्रका विद्यार्थी वैदिक चिन्तक महर्षि मदनमणिले पत्रकारिता क्षेत्रमा गर्नु भएको महत्त्वपूर्ण योगदान र साहित्यमा ल्याएको नविनतम सोचलाई पछिल्लो पिडीले पनि सम्झिरहने छन् । सामाजिक यथार्थको धरातलमा उभिएर अक्षरको खेती गर्न सिद्धहस्त दार्शनिक, बौद्धिक र ऐतिहासिक कलेवरले सौन्दर्यको लेपनमा आख्यान सिर्जना गर्ने पूर्वीय दर्शनका विद्वान्, वैदिक चिन्तक र चेतनाका पर्याय मदनमणि दीक्षितले लेखन शक्ति साहित्यमा भरेर ऋगवैदिक नारी चरित्र चित्रण, युग चेतनाको चिन्तन, मानवतावादी प्रवृत्तिको मनोविश्लेषण भएका उहाँद्वारा सिर्जित आख्यानहरु नेपाली साहित्य जगतका निधि बनेका छन् । लेखन, चिन्तन र अध्ययनमा नै जीवन बिताउने अलौकिक चिन्तक अक्षरशिरोमणि दीक्षितले लेख्नुभएको प्रशिद्ध उपन्यास ‘मालती’ ले वि.सं. २०३९ सालमा मदन पुरस्कार प्राप्त गर्‍यो । विभिन्न विधाका साढे तीन दर्जनजति कृतिका कृतिकार विद्वान मदनमणिले थुप्रै ग्रन्थहरुको सम्पादन पनि गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संस्थाहरुबाट मानसम्मान र पुरस्कार प्राप्त गर्नुहुने उहाँ लेखन कर्ममा जीवनको अन्तिम क्षणसम्म सकृय हुनु भयो । प्रतिभावानको सम्मान गर्ने दीक्षितको स्वास्थ्य प्रतिकूल भएका बेला पनि अन्तिम समयसम्म आफ्ना वाणी खन्याएर अरूकै साहाराले भएपनि अक्षरहरूमा रमाइरहनु भएको इतिहासलाई बिर्सनु हुदैन। साहित्यका अमर पुजारी लेखन कर्ममा जुट्दा जुट्दै ९८ वर्षसम्मको उमेरमा २०७६ साल साउन ३० जनै पूर्णिमाको दिनमा स्वर्गीय हुनु भयो। पूर्वीय दर्शनका विद्वान् अक्षरशिरोमणि मदनमणि दीक्षित भौतिक रूपमा हुनुहुन्न तर उहाँका अनगिन्ती कालजयी कर्मले उहाँलाई सदा अमर बनाईरहने छ । उहाँलाई यीनै शब्दद्वारा लहरीद्वारा श्रद्धाभावले म श्रद्धाञ्जली अर्पण गर्दछु।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *