विश्वपरिक्रमा डेस्क
२२ सेप्टेम्वर, वाशिंटन डिसी
असोज ५ गते काठमाडौंमा प्रगतिशील लेखक सङ्घ नेपालले एक कार्यक्रमका वीच यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृकापोखरेललाई प्रदान गर्यो । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरेका थिए ।
सोही कार्यक्रममा जीवेन्द्रदेव गिरीद्वारा लिखित ‘झुल्के घाम’ र तिला लेकालीद्वारा लिखित ‘साझा आकाश’ कवितासङ्ग्रह समेत विमोचन गरिएको थियो । त्यसका साथै ‘त्रिआयामका तारा आनन्ददेव भट्ट अभिनन्दन ग्रन्थ’को चर्चा गरिएको थियो ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति रायन, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय र प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेललगायतले प्रलेसमा प्रादेशिक र महिला साहित्यकारका योगदान लेखिने जनाउँदै प्रगतिशील साहित्यको आन्दोलनलाई टुट्नफुट्न दिन नहुनेमा जोड दिए । विसं २००९ मा दिवङ्गत श्यामप्रसादलगायतले प्रलेस स्थापना गरेका हुन् ।
