नर्थ क्यारोलाइनमा राष्ट्र्रकवि माधब प्रसाद घिमिरे संझनामा भर्चुअल छलफल सम्पन्न

Uncategorized

नम्रता गुरागाईं, नर्थक्यारोलाइना

“गाइलाई आज लग्यो नि कसले बाच्छो छुटाइ कन
पोथी पास परि मरि नी गुडका बच्चा नहुर्किकन
के हेर्र्छौ धरती विजोग यतिको माता तिमी फाट हे
आमा बालखकि नमार भगवान संसार भर्ने भए ।”
राष्ट्र्रकवि स्व. माधवप्रसाद घिमिरेको बहुचर्चित गौरी शोककाव्यको यो सानो उठान गर्दै नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना च्याप्टरको आयोजनामा सेप्टेम्बर १८, २०२१ मा राष्ट्र्रकवि माधब प्रसाद घिमिरे र वहांको साहित्यिक तथा पारिवारिक व्यक्तित्वको बारेमा भर्चुअल अन्तरक्रिया सम्पन्न भयो ।
दुइ चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा डा. अच्युत शर्माले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुको साथै बिरोध तिमल्सिनाले राष्ट्रकविले लेखेको गीत “नेपाली हामी रहौंला कहां नेपालै नरहे” गाउनु भयो । नेपाली साहित्यमा राष्ट्र्रकविको साहित्यिक ब्यक्तित्वको बारेमा प्राध्यापक, साहित्यकार तथा समालोचक डा. लेखप्रसाद निरोलाले प्रकाश पार्नुभयो भने पारिवारिक ब्यक्तित्वको बारेमा वहांका छोरीहरु शान्ति शर्मा र ज्योती पौडेलले रमाइलो ढंगले सबैलाइ बाँडनु भयो ।
समालोचक डा. निरौलाको हेराइमा राष्ट्रकवि –
राष्ट्रकविका लेखाइमा सकारात्मक सोच रहेको पाएं । आशाबादीतामा बिश्वास गर्ने कवि सानो कुरालाइपनि गहिरो तरिकाले सोच्ने मान्छेभित्र पर्नुहुन्थ्यो । खण्डकाब्य, कविता, गीत तथा कथामापनि उत्तिकै कलम चलाउने कवि समाजसेवीपनि भएकाले अरुलाइ अप्रिय लाग्ने कुरा नगर्ने र प्रेरक ब्यक्तित्व हुनुहुन्थ्यो । निरन्तर साधना गरिरहने हुनाले वहांको लेखमा भाब र शील्प दुुबैको समन्वय छ । कविमा धैर्य गर्ने क्षमता रहेको छ । धैर्यताको परिणाममा वहांले लेखेका हरेक पंत्ती पंत्तीमा अनुप्रास मिलेको पाइन्छ । एउटै कृृतिलाइ बार बार सम्पादन गर्ने राष्ट्रकवि आफूूले लेखेको कुरा नै अन्तिम सत्य हो भनेर कहिल्यै भन्नुहुन्नथ्यो । साहित्यको पद्य बिधाका अनुशासनलाई कायम राखेर सरल ढंगले सबैलाई उत्तिकै मन पर्ने साहित्य लेख्नु कम महत्वपूर्ण कुरा होइन, यो गुण राष्ट्र्रकविमा भएको पाइन्छ । भाब र विचारमा देबकोटामा भएका गुण वहांका लेखमा छन भने सौन्दर्य लेखनमा लेखनाथमा भएका गुण वहांमा पाइन्छन त्यसैले अलिकति लेखनाथ र अलिकति देबकोटा मिलेर पूर्ण माधब घिमिरे हुनुभएको हो भन्न अतियुक्ती नहोला ।
संगीत साधनामा लागेकी जेठी छोरी शान्ति शर्माको हेराइमा राष्ट्र्रकवि–
बुवाको काखमा खेल्दै ढिकी र जांतोको सवाइलाई बाल कवितामा सुनेकी मैले कहिलैपनि टुहरी भएको अनुभब गर्न परेन । बुवाले परिवारका सबैलाइ आ-आफनो रुची अनुसारका विधामा आफू लागेर सिकाउनहुन्थ्यो । म संगीतमा लागेकीले मलाइ संगीत सिकाउन संगितमै डुब्नुहुन्थ्यो । म वहांले लेखेका गीतहरुमा संगीत भर्थे ।
साहित्यकार डा.हरिहर भट्टराईको हेराइमा राष्ट्र्रकवि–
सानैदेखि घरपरिवारबाटै कविजी भनेर सुन्दै आएको नाम हो राष्ट्र्रकवि । वहांले लेखेका जे रचनापनि सरल र राष्टप्रेमले ओतप्रोत हुन्थे । जस्तो उमेरको मान्छेसंग पनि उत्तिकै मिल्न सक्ने कविजीले मान्छेहरुको बारेमा थोरै मात्र लेख्नभयो, ति बाहेक हरेक लेखहरु देशकै लागी लेखेका हुन्थे ।
साहित्यकार कान्छी छोरी ज्योती पौडेलको हेराइमा राष्ट्र्रकवि–
सधै बुवा लेख्न बसेको मात्र देख्ने मैले बुवासंगपनि उत्तिकै खेल्न पाएं । आफ घोडाजस्तो भइदिएर हामीलाइ माथि चढाएर घोडसवार जाने खेल खेलाउनु हुन्थ्यो । हामीलाइ सिकाउनका लागि चराचुरुगीका गीतहरु लेखेर हाम्रा अगाडि गाउनुहुन्थ्यो । आफनो पढने रुची के हो थाहा थिएन मलाइ । बुवालाइ अंगे्रजीमा त्यति दखल नभएकोले मेरो एउटा मात्र बच्चाले भएपनि अंग्रेजी साहित्य पढिदिओस भन्ने लागेर मलाइ अंग्रजी साहित्य पढन लगाउनु भयो । आफूले लेखेका कुरालाइ मिलाइरहेन मेरा बुवाले जहिलेपनि परिवारलाई सन्तुलित राख्ने काम गर्नुभयो । सबै छोराछोरी नजिकै भएदिए हुन्थ्यो भन्नु हुन्थ्यो । परिवारभित्रका साना साना कुरामा खुशी हुने, काम गर्ने मान्छेलाइ प्रोत्साहन गर्ने बुवाको रचनाको पहिलो श्रोता नै हाम्री आमा हुनुहुन्थ्यो ।
साहित्यकार इश्वर देबकोटाको हेराइमा राष्ट्र्रकवि–
राष्ट्र्रकविका सबै रचनाहरु राष्ट्रप्रेमले ओतप्रोत छन । राष्ट्रकविको भनाइमा शब्दभित्रै संगीत हुन्छ तर त्यो संगीतलाई सिगार्न चाहिने भाब थाहा पाउन गाह्रो हुन्छ । भाबको गहिराइमा पुगेर लेख्ने वहांका जुन रचना पढेपनि उस्तै राम्रा छन् ।
जुनसकै बिधामा आफनो कलम चलाएपनि अत्यन्त सरल भाषामा सबैलाई छुने किसिमका रचनाहरु सृजना गर्नु चानचुने कुरा होइन । पारिवारिक घटनाका आंधीबेहरीको सामना गर्दै निरन्तर लेखिरहने राष्ट्र्रकविका रचना पढदा यस्तो लाग्छ कि बास्तबमा एउटा सफल लेखकले आफनो दुःखबाट निस्कने बाटो खोज्दा धेरैका दुःखका ढोकाहरु ढक्ढक्याउन पुग्दोरहेछ ।
कार्यक्रमको दोस्रो चरणमा कविता वाचन सम्पन्न भयो । नम्रता गुरागाईंको अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य डा. ऋषि वस्ताकोटीले गर्नुभएको थियो । कविता वाचन गर्ने क्रममा स्थानिय तथा आमन्त्रित कविहरुमा भारती गौतम, डा.शिब गौतम, प्रभा पोख्रेल, डा.प्रेम राज न्यौपाने, उमा शर्मा, कमला न्यौपाने, मुक्ति गौतम, जितमान बस्नेत, शिखर दुलाल र महेन्द्र न्यौपानेले आ-आफनो कविता वाचन गर्नुभयो भने आफना बुवाको गीतमा संगीत भरेर शान्ति शर्माले गाउनुको साथै ज्योती पौडेलले बुवाको अन्तिम अबस्थामा लेखेको कविता वाचन गर्नुभयो ।

1 thought on “नर्थ क्यारोलाइनमा राष्ट्र्रकवि माधब प्रसाद घिमिरे संझनामा भर्चुअल छलफल सम्पन्न

Leave a Reply