स्वदेश यात्रा एक चिन्तन

गद्य विविध मेरो कविताः मेरो रोजाइ

रन्जुश्री पराजुली, अमेरिका

नेपाल सुन्दर शान्त, विशाल भनेर निबन्धकार देवकोटाले त्यसै भनेका होइनन् । नेपाल देश वास्तविक रुपमा नै यस्तै छ । प्राकृतिक सम्पदाहरुले भरिभराउ भएको यो देश भावात्मक रुपमा शान्त र विशाल पनि त्यत्तिकै छ । हिन्दीको एउटा उखान “उपरवाल देता है तो छप्पर फाडके देता हे’’ भनेझैं प्रकृति आमाले यो देशलाई अतुलनीय सुन्दरताले सजाएर विश्वमानै सुन्दर बनाएकी छिन् । विश्वका अग्ला हिमसृंखलाहरुले यो देशलाई अंगालोमा कसेर राखेका छन् । उच्च टाकुरादेखि समतल भूमि अनि कठ्याङ्र्गृने जाडो देखि पसिना बग्ने विविध मौसमले यो राष्ट्रलाई चर्चित बनाएको छ । चार वर्ण छत्तीस जातका बासिन्दा एक अर्कासँग हातेमालो गरेर मिलीजुली बसेका छन् । यो भूमिमा हातबाट उछीट्टीएर गुडेर बेपत्ता भएको अन्नको दाना केही समय पछि फसल सहित देखा पर्छ ।
यो राष्ट्रमा लवाई खवाई रहनसहन चाडपर्व आदिमा विविधता भएतापनि एक वर्गले अर्को वर्गलाई मान सम्मान गर्दै भाइचाराको नाता पूरा गरेर तेरो मेरो स्वार्थी भावनालाई परित्यक्त गरि मिलेर बसेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबै प्रदे्शहरुले आआफ्नो परिचय बोकेका छन् । प्रत्येक ठाउँको आफ्नै मौलिकता रहेको छ जसले पर्यटकहरुलाई आर्कषित बनाएको छ ।
नेपालको प्राचीन इतिहासलाई यहाँका मठमन्दिर दरबार पाटी पौवा धारा हिटीहरुले आजसम्म जीवन्त बजनाएर राखेका छन् । भक्तपुर ,पाटन,कान्तिपुरका मल्लकालीन र त्यो भन्दा पनि अगााडिका सम्पदाहरु यथावत रहेका छन् ।
संरक्षण र हेरचाहको अभाव र आधुनिकताको नाममा केही सुन्दरता र मैलिकताहरु विस्थापित हुँदै गएता पनि समयमा नै त्यसको संरक्षणको कार्यमा ध्यान दिए त्यसमा समाधान हुने देखिन्छ । भक्तपुर दरबार स्क्वायर भित्रका ऐतिहासिक संरचना जस्तै पचपन्न झ्याले दरबार ,सूर्यविनायक मन्दिरका प्रचीन खुड्किलाहरु,हालै चर्चामा आएको डोलेश्वर महादेवको पवित्र स्थल ,दत्रातयको प्राचीन कलाकौसलयुक्त सुन्दर मन्दिर पुग्दा पवित्र आस्थाले हिन्दुधर्मालम्वीहरुको मन आनन्द हुन्छ भने गैर धर्मावलम्वीहरुलाई यसको कलाकौशलको सुन्दर नमूनाले मन्त्रमुग्ध बनाउँछ । यस्तै चाँगुनारायणको मन्दिरले राजा मानदेवको पालाको कलाकौशललाई विश्व सामु उजागार गराएर नेपाली कलाकौशलको उत्कृष्ट नमूना प्रर्दशन गर्दछ । यस्ता सम्मदाहरु हाम्रो देशमा देख्न पाउँदा गर्वले छाती फुल्दछ भने अर्कोतर्फ म आफू दश वर्षको बीचमा चार पटक चाँगुनारायण पुग्दा प्रत्येक पटक त्यहाँका सम्पदाहरु टुटे फुटेका ,मासिएका र विलिन भएका देख्दा पीडा पनि हुन्छ । त्यसमाथि पनि २०७२ साल वैशाख १२ गतेको भुकम्मले क्षत विक्षत भएका त्यहाँका सम्पदाहरु संरक्षणको पर्खाइमा रहेको तर तिनको मर्मत र संरक्षणको लागि विभिन्न मातहतबाट प्राप्त भएका पुर्ननिर्माणका थैलाहरु कता विलिन भए होलान् भनेर आश्चार्य लाग्छ ।
पर्यटक नेपाल भ्रमण सफल पार्न अपनाउन पर्ने कार्यहरु खोज्दै जांदा सानादेखि ठूलासम्म देखापर्दछन् । म आफू पुगेका युरोप अमेरिका गाँउ वस्तीहरु पनि सरसफाइले चट्ट देखिन्छन् । देशका ठुला तहका हुन् या साना तहका जो सुकै पनि आफ्नो घरआँगन सरसफाइमा दत्तचित्त देखिन्छन । उनीहरु आफ्नो अनुकूलको समय मिलाएर स्वयम् सेवकको रुपमा सडक ,पेटी ,पार्क,आदि सफा गरेर फोहरमैलालाई तोकिएको ठाँउमा फ्याँक्छन् । बाटोघाटोमा सार्वजनिक सौचालय छ ,बस्नको लागि बेन्चहरु राखिएका छन् । कुकुर बिरालोले कतै दिशा गर्यो भने त्यसलाई टिपेर तोकिएको ठाउँमा फ्याँक्दछन् । तर हामी कहाँ ती सुविधाहरु कतै केही छैनन् । जनताको लागि पद ओगटेर बसेका ठूला हैसियतका महानुभावहरुलाई पानी परेको बेला छाता अरुले ओडाइ दिनुपर्छ । खहरे तर्न पर्यो भने अर्काको बुइ चड्नु पर्छ । अनि मोजा जुत्ता अरुले लगाई दिनुपर्छ । हामी सर्वसाधरण पनि कम छैनौं –प्याकेटका चमेनाहरु ,सुर्ती ,खैनी ,रिचार्ज गरिसकेको मोबाइलका कार्ड,पानी खाइसकेको वोटल र टिन आदि काम सकिएपछि सडकतिर हुत्याइदिन्छौं । एकपटक हामी चारजनाको समूह काभ्रेको नभोबुद्ध ट्रेकिङ्गमा गएका थियौं । बाटोमा त्यस्तै एक समूह अमेरिकन ट्रेकरहरु भेटिए । हामी गफ गर्डै हिड्यौं । उनीहरुले नेपालको प्राकृतिक सुन्दरता, नेपाली जनताको मिलनसारताको तारिफ गर्दै अगाडि बढ्दै थिए । त्यसै बीच हामी मध्य एउटाले पानी खाइसकेको बोतल डाँडा तल हुत्यायो । उनीहरुले केही प्रतिकृया जनाएनन् । तर हामीले देख्ने गरी खाली सिसी ढाडमा बोकेको व्यागमा छिराएर हामीसँग होटेल पुगे पछि यसलाई ट्रयास बीनमा फल्नु पर्छ भने । यो भनाई मेरो लागि बुझ्नेलाई श्रीखण्ड नबुझनेलाई खूर्पाको बींड जस्तो भयो ।
म एक दिन सुन्धारा बसबिसौनी तिर पुगेको बेला त्यहाँ सरसफाइको कार्य चलेको रहेछ । बस प्रतिक्षा गर्दा बस्ने बेञ्च ,भित्ता लठ्ठा आदिमा नीलो रङ्ग लगाएर राम्रो बनाएको रहेछ । त्यो दृष्य मेरो लागि विदेशको कुनै ठाउँ जस्तै लाग्यो । अनि मैले “हाम्रो देश पनि विकसित देश भन्दा कुनै कमि छैन । हेर यहाँको बस प्रतिक्षालय कति सफा र सुन्दर छन्’’ भनेर तस्वीर खिचेर अमेरिका पठाए ।
त्यसको एक हप्ता पछि म फेरी काम परेर त्यहाँ पुगे । रङ्ग लगाएको बस विसौनीका लट्ठा ,खम्बा ,भित्ता । सिट आदिमा अनेक थरी विज्ञापनका पर्चाहरु टाँसिएका थिए । जसमा टेलिफोन नम्बर पनि लेखिएको थियो । अनि सोलर प्यानल सबै धुलो जमेर कालो कपडाले ढाके जस्तो देखिएका थिए । काठमाडौं राजधानी भएकोले जनसंख्याको अत्याधिक चाप भएर यस्तो हुन सक्छ । तर पनि पर्यटकहरुलाई आर्कषित गर्न साना साना कुराहरुमा पनि ध्यान दिनु आवश्यक पर्छ होला जस्तो मलाई लाग्छ । काठमाडौं बाहिर ,पोखरा ,पाल्पा इलाम ,मुक्तिनाथ ,स्वर्गद्वारी ,मनकामना ,चन्दागिरी ,रारा ,जोमसोम आदि आदि अनगिन्ती सुन्दरताले परिपूर्ण ठाउँहरु यहाँ धेरै छन् । त्यस्तै चितौन सौराह ,बर्दिया ,चिसापानी पुल ,कर्णालीको डलफीन अवलोकन ,खैरापुरमा संरक्षण गरिएका कृष्णसार आदि क्षेत्रलाई पर्यटकीय गनतव्यको रुपमा प्रयोग गरेमा लाखौलाख पर्यटक भित्र्याउँन सक्दछौ । विदेशको विकास देख्दा अनि आफ्नो देशको ह्रास देख्दा मन अति दु:खी हुन्छ । प्राकृतिको संरक्षण संवर्धन,हरियोबन नेपालकोधन उखान व्यवहारिक, सरसफाईको तीव्र चेतना,शीक्षामा विकास आदिआदिभएमा हाम्रो देशको पनि मुहार फेरिन्थ्यो कि ???

Leave a Reply